Comments Add Comment

नबिल बैंक : परम्परागत होइन, अब नयाँ रणनीति

गत आर्थिक वर्षको अन्त्य नजिकिंदै गर्दा बैंकिङ क्षेत्रमा नबिल बैंक कमजोर देखिन थालेको चर्चा चल्यो । नेपालको पहिलो संयुक्त (पब्लिक–प्राइभेट) लगानीको बैंक नबिलले ३६ वर्ष पार गरेको छ ।

नेपाली बैंकिङ इण्डष्ट्रीमा छुट्टै इतिहास बोकेको नबिल मुनाफामा लामो समय नम्बर वान हुँदै आएको बैंक हो ।

गत वर्ष केही सूचकहरूमा अन्य बैंकले उछिनेपछि नबिल कमजोर बन्दै गएको आकलन गरियो । आजभन्दा ९ महिना अघि र आजको वित्तीय अवस्था तुलना गर्दा भने बैंक पुनः बलियो देखिएको छ । पछिल्लो त्रैमासको तथ्यांक  अनुसार मुनाफाका आधारमा नबिल पुनः पहिलो नम्बरमै देखिएको छ । अन्य सूचकहरूमा पनि नबिल अगाडि छ ।

नबिलको अर्को कमजोरी भनेको साना ग्राहकको पहुँच यो बैंकमा नहुनु हो । ठूला उद्योगी व्यवसायीहरूलाई ठूलो परिमाणमा लगानी गर्दै आएको नबिलले शाखामार्फत व्यवसाय गर्दैन भन्ने सोच बजारमा थियो । तर पछिल्लो ९ महिनामा बैंकले यो सोच हटाउन सक्ने गरी काम गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बताउँछन् ।

डिग्रीको सर्टिफिकेट भए पनि सीप नहुँदा रोजगारीको समस्या बढी देखिएको छ । अब सीप र तालिमका लागि उद्यमशील समाज बन्ने गरी नबिलले काम गर्छ ।

 

अन्य बैंकहरूले व्यवसाय निकै आक्रामक रूपमा विस्तार गर्दा नबिलको भने शाखा संख्या कम थियो । ‘हामीसँग ५९ वटा मात्रै शाखा थिए, हामीले शाखा थप्नै पर्ने भयो’ उनी भन्छन्, ‘बैंक नपुगेका स्थानीय तहमा १२ वटा र थप ४० वटा हामीले शाखा विस्तार गर्‍यौं ।’

धेरै शाखा खोल्दा खर्च पनि बढ्छ । बैंकले गत वर्ष शाखा विस्तार गरे ११९ वटा पु¥यायो । ठूला उद्योग व्यवसायहरू मात्रै होइन साना तथा मझौला उद्यम व्यवसायमा पनि पुग्ने रणनीति बनायो ।

‘हामीले स्टाफहरूलाई प्रशिक्षण दियौं, हाम्रो ब्राण्ड बलियो छ, हामी तलसम्म पुगौं भन्ने भयो’ शाक्य भन्छन्, ‘अनि हामीले ग्राहक संख्या बढाउने रणनीति बनायौं ।’

३६ वर्ष पुरानो बैंक भएर पनि नबिलसँग १० लाख पनि ग्राहक थिएनन् । बैंकले खाता संख्या बढाउन विभिन्न स्किम ल्यायो । दशैं–तिहारमा बैंकले आकर्षक भिडियो बनाएर प्रचार गर्‍यो ।

‘हामी प्रोडक्ट र सर्भिसको मात्रै प्रचार गर्दैनौं, अप्ठेरो परिस्थितिमा नबिलले आफ्ना ग्राहक तथा सर्वसाधारणलाई इमोशनल कनेक्शन लिएर अघि बढ्न खोजेको छ, एक परिवारको सदस्य जस्तै’, शाक्य भन्छन् ।

शाखामार्फत पनि पछिल्लो समय निकै राम्रो व्यवसाय भइरहेको उनले बताए । उनका अनुसार यसपालि ७५ प्रतिशत व्यवसाय शाखाहरूबाट ‘एसएमई/रिटेल’ मा बढेको छ । कर्पोरेट र पूर्वाधार कर्जाहरू हटाउँदा पनि नबिलको ९ महिनामा  शाखाहरूको ग्रोथ अन्य ठूला प्रतिस्पर्धी बैंकहरूभन्दा धेरै रहेको उनले बताए । कर्पोरेट बैंकिङ र ठूला पूर्वाधार क्षेत्रमा लगानी पनि गरिरहने उनले बताए ।

‘आँट्यो भने हुने रहेछ भन्ने देखिएको छ, हामीले न्यू जेनेरेशनलाई प्राथमिकतामा राखेका छौं, जसले निकै राम्रो नतिजा आएको छ’, उनले भने । डिजिटल कारोबारलाई पनि विशेष प्राथमिकताका साथ बैंकले अघि बढाउने योजना बनाएको उनले सुनाए ।

बैंकको नेतृत्व

नबिलमा अहिले सञ्चालक समितिमा होस् या म्यानेजमेन्टमा, बैंकिङ क्षेत्रका पुराना अनुभवी नेतृत्व छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्षद्वय उपेन्द्र पौड्याल बैंकको अध्यक्ष र अनिलकेशरी शाह सीईओ छन् ।

बैंकको अध्यक्ष मात्रै होइन बैंकका अन्य सञ्चालकहरू आशा राणा अधिकारी र उदयकृष्ण उपाध्याय पनि पूर्व बैंकर हुन् । बैंकको म्यानेजमेन्ट टिममा पनि अनुभवी व्यक्तिहरू छन् । बैंकको डेपुटी सीईओमा शाक्य र विनयकुमार रेग्मी पनि बैंकिङ क्षेत्रका हस्ती हुन् ।

शाक्य स्टार्टेजी र व्यवसायमा अब्बल मानिन्छन् । डेपुटी सीईओ शाक्य दुई ठूला मर्जरहरू (बैंक अफ एशिया र एनआईसी साथै ग्लोबल आईएमई र जनता बैंक) को अनुभव समेत भएका व्यक्ति हुन् । यसले पनि नबिल मर्जर तथा एक्विजिशनमा सकारात्मक भएको छ ।

डेपुटी सीईओ सुजितकुमार शाक्य भन्छन्– हामी प्रोडक्ट र सर्भिसको मात्रै प्रचार गर्दैनौं । अहिलेको अप्ठेरो परिस्थितिमा नबिलले आफ्ना ग्राहक तथा सर्वसाधारणसँग इमोशनल कनेक्शन लिएर अघि बढ्न खोजेको छ, एक परिवारको सदस्य जस्तै !

 

हिमालयन बैंक, लक्ष्मी बैंक, तत्कालीन बैंक अफ एशिया, एनआईसीए, सिभिल, जनता बैंक, ग्लोबल आईएमई बैंक हुँदै नबिल आइपुगेका शाक्यसँग बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव छ ।

‘बैंकले ट्यालेन्ट हण्ट गरेर नयाँ मान्छेहरू ल्यायो, नयाँ आउनेमा म पनि पर्छु’  शाक्य भन्छन्, ‘तर नयाँ मान्छे आएर मात्रै हुने होइन, पुराना मान्छेहरूको भूमिका झनै महत्वपूर्ण छ, नयाँ र पुरानाको राम्रो टिम बन्यो, तब काम गर्न सहज भयो ।’

शाक्य आएपछि  पुरानो ढर्रालाई त्यागेर नयाँ रणनीतिका साथ काम गर्न भिजन नबिल–२५ को योजना बनाएको उनले बताए । उनका अनुसार यो वर्ष बनाएको भिजनले पहिलो वर्षमा राम्रै लक्ष्य भेट्टाएको छ ।

मर्जर रणनीति

बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । शुक्रबार मात्रै नबिल र युनाइटेडबीच प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो ।

प्राप्ति पश्चात नबिल बैंकको शाखा सञ्जाल १४७ पुग्नेछ भने काठमाडौं उपत्यकाभित्र मात्रै शाखा संख्या ३७ हुनेछ । एटीएम संख्या भने १९० हुनेछ । यसैगरी चैत मसान्तको वित्तीय विवरण अनुसार निक्षेप २१६ अर्ब हुनेछ भने कर्जाको आकार २ खर्ब १ अर्ब हुनेछ।

नबिल बैंकले मर्जर तथा प्राप्ति प्रक्रियामा जाने विषय पहिलोपटक यस वर्षको साधारण सभाबाट पारित गरेको थियो । डेपुटी सीईओ शाक्य बैंक अर्गानिक ग्रोथको पक्षमा रहेको सुनाउँछन् ।

अर्गानिकसँगै अब इनअर्गानिक ग्रोथ अर्थात मर्जर तथा एक्विजिशनलाई समेत नबिलले सँगै लैजाने उनले बताए । तर मर्जर हुँदा सिनर्जी आउने मर्जर नबिले रोज्ने उनको भनाई छ ।

प्राथमिकताको क्षेत्र

नबिल बैंकलाई पुरानो ढर्राबाट चल्ने आरोप मात्रै होइन ठूला कर्पोरेट हाउसहरूलाई मात्रै ऋण दिन्छ भन्ने चर्चा पनि छ । तर अब भने बैंकको प्राथमिकतामा साना तथा मझौला उद्योग व्यवसाय पनि पर्ने डेपुटी सीईओ शाक्य बताउँछन् ।

‘म २०१५ मा ट्रेनिङको लागि जापान गएको थिएँ, त्यहाँ एउटा कार्यक्रममा सहभागी भएपछि थाहा पाएँ ‘एसएमईको महत्व’ उनी भन्छन्, ‘जति नै ठूला जापानिज मल्टिनेशनल कम्पनीहरू भए पनि त्यहाँको इकोनमीलाई ड्राइभ गर्ने त ७० प्रतिशत त्यहाँका एसएमई नै रहेछन् ।’

नेपालमा पनि साना तथा मझौला उद्यम (एसएमई) लाई प्राथमिकता दिनुपर्ने उनले बताए । रोजगारीको समस्या पनि यसले समाधान गर्न सक्ने उनी बताउँछन् । यसका लागि अब बैंकको रणनीति परिवर्तन भएको शाक्यको भनाइ छ ।

नबिलले डिजी बैंकलाई पनि अघि बढाइरहेको छ । यसमा डिजिटल वर्कप्लेस–कर्मचारीलाई र डिजिटल बैंकिङ– ग्राहकलाई हुने गरी नबिलले काम गरिरहेको छ । ‘गिभिङ व्याक टू सोसाइटी’ थिमको नयाँ सोच अनुसार काम गरिरहेको बताउँदै शाक्यले नयाँ योजनाहरू चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।

‘नाफा कमाउने संस्था भए पनि हामी महिला उद्यमशीलता, वैदेशिक रोजगारीबाट फर्किएका तथा अन्यको क्षमता अभिवृद्धि, साना तथा मझौला उद्यम व्यवसाय साथै कृषिका लागि पनि विशेष केही ल्याउँदैछौं’, उनले भने । अहिले पनि शिक्षित युवा समेत बेरोजगार बस्नुपर्ने बाध्यता देशमा छ ।

डिग्रीको सर्टिफिकेट भए पनि सीप नहुँदा रोजगारीको समस्या बढी देखिएको छ । ‘अब सीप र तालिमका लागि उद्यमशील समाज बन्ने गरी नबिलले काम गर्छ, नबिल भ्यालु सिस्टममा छ’, शाक्यले भने । अहिलेको नयाँ परिवेशमा नबिल ‘ठूलो माछा’ होइन ‘छिटो माछा’ हुने गरी आफूलाई रूपान्तरण गर्न खोजिरहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment