Comments Add Comment

गण्डकी प्रदेशसभा सञ्चालनका विषयमा सहमति जुटेन

अब शीर्ष नेताबीच छलफल हुने

२० वैशाख, पोखरा । गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका विषयमा सभामुख र शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

सोमबार बसेको कार्र्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो ।

गत वैशाख १५ गते मुख्यमन्त्र पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि प्रदेशसभा स्थगित गरेपछि सदन सञ्चालनका विषयमा सरकार र संसदबीच द्वन्द्व बढेको छ ।

मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव छलफलमा गइसकेपछि सभामुखले पद्येशसभा स्थगित गर्न नमिल्ने भन्दै त्यसको कानुनी आधार पुष्टि नगरेसम्म संसद चल्न नसक्ने बताए ।

सभामुख नेत्रनाथ अधिकारीले भने राष्ट्रिय जनमोर्चाले आफ्नो सांसद खोजीका लागि निवेदन दिएकाले संसद स्थगित गर्नैपर्ने अवस्था रहेको बताएका थिए ।

बैठकमा विपक्षी दलहरु नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका रामजी बराल र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले संसद सञ्चालनको बाटो खोज्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा सहमति जुट्न नसकेपछि प्रदेशसभामा सहभागी सबै दलका शीर्ष नेता, मुख्यमन्त्री र सभामुखसहितको बैठक बस्ने एक सांसदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment