Comments Add Comment
सुदूरपश्चिमका अस्पतालमा अक्सिजन अभाव :

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको चौधरीले बताए ।

कैलालीको गोदावरी नगरपालिका–१ की ४३ वर्षीया महिलालाई पाँच दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएकी उनले शुरुको एकदिन बिना अक्सिजन बिताइन् । भोलिपल्ट अक्सिजन सिलिन्डर पाएपनि आधा मात्र थियो । त्यो करिब ४ घण्टामै सकिएपछि अर्को सिलिन्डरको जोहो गर्नमै एक दिन बित्यो । फेरि पनि आधै सिलिन्डर अक्सिजन पाइन् ।

‘आमालाई गाह्रो भएपछि अस्पताल ल्याएको थिएँ,’ कोभिड अस्पतालमै कुरुवा बसेका उनका छोराले पीडा सुनाउँदै भने, ‘यहाँ अस्पतालमा अक्सिजन नै पाउन मुस्किल भइरहेको छ । आधा सिलिन्डर मात्र आउँछ । त्यो पनि खोसाखोस हुन्छ ।’

गम्भीर लक्षणका कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएका बेला अक्सिजनको माग बढेपनि त्यो अनुसारको उत्पादन नहुँदा सेती प्रादेशिक अस्पताललाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । ‘कोरोना अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई नै दैनिक अक्सिजन दिनुपरिरहेको अवस्था छ । हामीसँग ७५ सिलिण्डर उत्पादन क्षमता भएपनि अहिले अक्सिजन प्लान्ट २४ घण्टा चलाएर पनि बढीमा ६० सिलिण्डर मात्र उत्पादन भइरहेको छ,’ अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘हाम्रो आवश्यकता १४० सिलिन्डर भएकाले बाँकी धनगढीको मालिका ग्यास कम्पनीबाट खरिद गरेर व्यवस्थापन गरिरहेका छौं । तर पनि पर्याप्त हुन सकेको अवस्था छैन ।’

सिलिन्डरको पनि अभाव, थप पाउनै मुस्किल

अक्सिजन मात्र नभएर प्लान्टबाट भरेर बिरामीको बेडसम्म पुर्‍याउन आवश्यक पर्ने सिलिन्डरको समेत अभाव हुन थालेको छ । हाल ७५ सिलिन्डरले अक्सिजनको व्यवस्थापन गर्दै आएको सेती प्रादेशिक अस्पतालले थप ५० वटा खरिद गर्न एक कम्पनीसँग सम्झौता गरेको थियो । तर सिलिन्डर अभावको कारण देखाउँदै उक्त कम्पनीले ३० वटा मात्र आपूर्ति गरेपछि अस्पतालसँग जम्मा ११० सिलिण्डर भएका छन् । तीमध्ये ५५ देखि ६० सिलिन्डरमार्फत कोभिड अस्पतालका संक्रमितलाई अक्सिजन दिइरहेपनि इमर्जेन्सी वार्डमा भर्ना हुने अधिकांश बिरामीलाई पनि अक्सिजन दिन थालिएको छ ।

‘अहिले उपलब्ध सिलिन्डरले धान्दैन,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘थप खरिद गर्न पनि आपूर्तिकर्ताले अभावका कारण समस्या भयो भन्छ । हामीले जोसुकैसँग पनि सिलिन्डर छ भने बुझाउन खुल्ला आह्वान गरेका छौं ।’

अक्सिजन प्लान्ट र सिलिन्डर खरिद गर्न प्रदेश सरकारले दिएको निर्देशन अलपत्र

अक्सिजनको अभाव र संक्रमणदरलाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले सम्बन्धित अस्पताललाई व्यवस्थापनमा जुट्न परिपत्र गर्दै बजेट बेहोर्ने प्रतिबद्धता जनाइसकेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक हप्ता पहिले नै सबै अस्पताललाई द्रुत मार्गबाट अक्सिजन प्लान्ट खरिद गर्न बजेटको सुनिश्चितता पठाइसकेको बताए ।

‘हामीले महाकाली अस्पताल र ६ वटा जिल्ला अस्पतालहरुलाई ८०/८० लाख बजेटको सुनिश्चितता दिएका छौं,’ मन्त्री सुवेदीले अनलाइनखबरसँग भने, ‘द्रुत मार्गबाट छिटोछरितो खरिद गरेर अक्सिजन प्लान्ट र सिलिन्डरको व्यवस्थापन गर्न भनेका छौं । केहीले प्रक्रिया थालिसकेको पाइएको छ । चाँडै व्यवस्थापन हुन्छ ।’

मन्त्रालयले सिलिन्डर खरिदका लागि मात्र सेती प्रादेशिक अस्पताललाई ४० लाख रुपैयाँ, महाकाली र टीकापुर अस्पताललाई ३०/३० लाख र अन्य ६ वटा जिल्ला अस्पताललाई २०/२० लाख रुपैयाँ बजेट पठाइसकेको जनाएको छ । तर सामाजिक विकासमन्त्री सुवेदीले भने जस्तै अस्पतालहरुले अक्सिजनको व्यवस्थापनका लागि प्रक्रिया थालिनसकेको पाइएको छ ।

जिल्ला अस्पताल दार्चुलाले मन्त्रालयबाट बजेटको सुनिश्चितता आएपनि खरिद प्रक्रिया नथालिएको जनाएको छ । अस्पतालका सूचना अधिकारी डम्बर भट्टले अब चाँडै अक्सिजन प्लान्ट र सिलिन्डर खरिदको प्रक्रिया थालिने जानकारी दिए । ‘प्रदेश सरकारबाट अक्सिजनको व्यवस्थापन गर्ने भनेर परिपत्र आएको छ,’ भट्टले भने, ‘अहिलेसम्म खरिद प्रक्रिया शुरु भएको छैन । अब छिट्टै अगाडि बढाउँछौं ।’ दार्चुलामा जस्तै अन्य जिल्ला अस्पतालले समेत खरिद प्रक्रिया शुरु गरेका छैनन् ।

स्वास्थ्य निर्देशनालयसँग तथ्यांक नै छैन

सुदूरपश्चिममा कोरोना संक्रमण र मृत्युदर वृद्धि हुँदै गएका बेला अस्पतालमा अक्सिजन नपाएर बिरामीले अकालमै ज्यान गुमाउन थालेका छन् । यस्तो परस्थितिमा तत्काल अक्सिजनको उचित व्यवस्थापन गरेर मानिसको ज्यान जोगाउन ध्यान दिनुपर्ने बेला प्रदेशको स्वास्थ्य निर्देशनालयले भने अक्सिजन आपूर्तिका लागि आवश्यक पर्ने सिलिन्डरकै तथ्यांक संकलन गर्न सकेको छैन । प्रदेशमा के कति सिलिन्डर उपलब्ध छन् ? र थप आवश्यक कति पर्छन् ? भनेर योजना बनाउने बखत तथ्यांकविहीन बनेको निर्देशनालयले अहिले संकलनको काम थालिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम जोशीले अक्सिजन उत्पादन क्षमता र सिलिन्डरको यकिन तथ्यांक नभएको बताए । उनले अहिले तथ्यांक संकलन गर्ने काम भइरहेकाले एक÷दुई दिनभित्र उपलब्ध गराउन सकिने जनाए ।

आपूर्ति केन्द्रले दुई सय सिलिन्डर खरिद गर्न प्रक्रिया थाल्यो

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भने थप दुई सय सिलिन्डर अक्सिजन खरिद गर्न प्रक्रिया थालिएको जनाएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख पदम विष्टले प्रदेशमा सिर्जित अभावलाई ध्यानमा राखेर सिलिन्डर खरिदको प्रक्रिया थालिएको जानकारी दिए ।

यसअघि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० वटा सिलिन्डर खरिद गरेर प्रदेशका अस्पताललाई वितरण गरेको थियो । विष्टकाअनुसार डडेल्धुरा अस्पताललाई १० वटा, जिल्ला अस्पताल दार्चुलालाई पाँच र जिल्ला अस्पताल डोटीलाई ७ सिलिन्डर वितरण गरिएको थियो । आपूर्ति केन्द्रसँग अहिले आठ वटा सिलिन्डर मौज्दात छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment