Comments Add Comment

क्रिकेट र भलिबल रोकिए, फुटबल भने जारी

१९ वैशाख, काठमाडौं । राजधानी काठमाडौंलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अतिप्रभावित केही जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि यसको असर देखिन थालेको छ ।

निषेधाज्ञा लागू भएपछि नेपाल क्रिकेट संघ (क्यान) र नेपाल भलिबल संघ (एनभीए)ले सूचना जारी गर्दै तत्कालका लागि सबैखाले गतिविधि स्थगित भएको जनाएको छ ।

यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले पनि अहिले कुनै कार्यक्रम गरेको छैन । तर एन्फाकै प्राविधिक सहयोगमा अहिले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भने चलिरहेको छ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईए)को आयोजनामा यही वैशाख ११ गतेदेखि दशरथ रंगशालमा शुरु भएको पहिलो संस्करणको एनएसएल भने निर्वाध रुपमा चलिरहेको छ । आयोजकले रंगशालामा खेलाडीहरुको तापक्रम नाप्ने, ड्रेसिङ रुम र प्लेयर बक्स सेनिटाइज गर्नेदेखि सबैखाले स्वास्थ्य प्रोटोकलको पालना गर्दै खेल गरेको जनाएको छ ।

वैशाख १६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा लागू भइसकेको छ । निषेधाज्ञामा रंगशालामा खेलकुद गतिविधि सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । तर पनि एनएसएलको खेल भने निरन्तर भइरहेको छ ।

सरकारले वैशाख ६ गते रंगशालामा हुने खेलकुद गतिविधि दर्शकबिना सञ्चालन गर्ने निर्णय गर्दा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो ।

बढ्दो कोरोना संक्रमणका कारण उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्दै रंगशालामा खेलकुद गतिविधि गर्न नपाउने निर्णय गरेका हुन् ।

विस्तारै कोरोनाको असर कम देखिंदै गएको बेला खेलकुद क्षेत्र पनि चलायमान हुन थालेको थियो । त्यसबीचमा त्रिदेशीय फुटबलदेखि राष्ट्रिय महिला लिग फुटबललगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भए । २०७७ सालको चैत खेलकुदमय नै बनेको थियो ।

निषेधाज्ञा लागू भएको भोलिपल्ट क्यानले राष्ट्रिय प्रतियोगिता, अन्तर्राण्ष्ट्रिय सिरिज, जिल्ला छनोटलगायत सम्पूर्ण क्रिकेट गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

यस्तै शनिबार एनभीएले पनि भलिबल गतिविधि तत्कालका लागि स्थगित भएको जनायो ।

२०७६ चैत ११ गतेदेखि लकडाउन हुँदा धेरै खेलकुद गतिविधि प्रभावित भएका थिए । जसको असर करिब ८ महिना कुनै पनि खेलकुद गतिविधि आयोजना हुन सकेन ।

विस्तारै कोरोनाको असर कम देखिंदै गएको बेला खेलकुद क्षेत्र पनि चलायमान हुन थालेको थियो । त्यसबीचमा त्रिदेशीय फुटबलदेखि राष्ट्रिय महिला लिग फुटबललगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भए । २०७७ सालको चैत खेलकुदमय नै बनेको थियो । त्रिदेशीय फुटबल, ललितपुर वुमन्स क्रिकेट च्याम्पियनसिप, एनभीए राष्ट्रिय क्लब लिग भलिबल, आहा–रारा गोल्डकप फुटबललगायत खेलकुद गतिविधि भए ।

चैतमै तय भएको एनबीए राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप वैशाखका लागि सर्‍यो र पछि नेपाल ब्याडमिन्टन संघले अनिश्चितकालका लागि प्रतियोगिता स्थगित भएको सूचना जारी गर्‍यो ।

वैशाखको शुरुमै नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता आयोजना भयो । डबल राउण्ड रोविन लिगपछि फाइनलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपालले ११ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि जित्यो । यस्तै सिन्धुपाल्चोकमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना भयो, जसको उपाधि एपीएफले जित्यो ।

वैशाख ११ गते त्रिकोणात्मक क्रिकेटको फाइनल भएकै दिन एनएसएल दशरथ रंगशालामा शुरु भयो । सात फ्रेन्चाइज टिम सहभागी रहेको एनएसएलको पहिलो खेल उपत्यका डर्बीको रुपमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच भएको थियो । जहाँ काठमाडौं १–० ले विजयी भयो ।

लगातार एनएसएलका खेलहरु भइरहेका छन् । आठौं दिनको खेल समाप्त भइसकेको छ । जेठ १ गतेसम्म हुने एनएसएल क्लोज डोर अर्थात् दर्शकविना नै चलिरहेको छ । शुरुवाती दिनमा टिम मालिक र भोलिन्टियरहरुको संख्या धेरै भएपनि अहिले सीमित व्यक्ति र केही सञ्चारकर्मीको मात्र उपस्थितिमा एनएसएल सञ्चालन भइरहेको छ ।

निषेधाज्ञामा रंगशालामा खेलकुद गतिविधि गर्न नपाउने निर्णय भएपनि एनएसएल भने किन चलिरहेको छ त ?

आयोजक एनएसईएमका सीईओ सुदीप शर्माले विभिन्न चुनौतीका बाबजुद पनि स्वास्थ्य प्रोटोकल पालना गरेर खेल गरिरहेको बताए । ‘खेलाडी, रेफ्री र व्यवस्थापनका सीमित व्यक्ति मात्र उपस्थित हुन्छौं । हरेक म्याच अघि ड्रेसिङ रुम लगायत स्थानमा सेनिटाइज गर्छौं,’ शर्माले भने, ‘सबैले मास्क अनिवार्य लगाउँछौं । हामी पनि दूरी कायम राखेर बस्छौं । दुई म्याच हुँदा दुईतिरको रुम प्रयोग गर्छौं ।’

उनले टिमका खेलाडीदेखि आयोजक सबैले नियमित पीसीआर परीक्षण गर्ने गरेको बताए । शर्माले खेलका लागि आवश्यक व्यक्तिहरुको पास बनेको बताए । ‘आवश्यक व्यक्तिहरुको युवा तथा खेलकुद मन्त्रालयले पास बनाइदिएको छ,’ उनले भने ।

एनएसएल खेल्ने टिम अहिले राजधानीको सोल्टी होटल, रोएल सिंगी, सांग्रिला र वल्र्ड ट्रेड सेन्टरमा बसिरहेका छन् । निषेधाज्ञाले गर्दा कोही बाहिर निस्कन पाउँदैनन् । आफ्नो खेल भएका दिन मात्र उनीहरु रंगशाला जान्छन् ।

एनएसएल क्लोज डोरमा भएपनि यसका खेलहरु एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको छ । जसले गर्दा रंगशाला जान नपाएपनि दर्शकहरुले टीभीमा खेल हेरेर मज्जा लिइरहेका छन् । यो एउटा सकारात्मक पाटो रहेको शर्माले बताए ।

आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकको तयारी पनि निषेधाज्ञामा नरोकिने भएको छ । तर खेलाडीको प्रशिक्षणका लागि एक ठाउँबाट अर्को ठाउँमा जान भने पास बनाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सरकारी स्तरमा पहल गरिरहेको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिक तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी जहाँ छन्, अहिले त्यहींबाट तयारी गरिरहेको र पासका लागि पहल गरिरहेको बताए ।

‘अहिले जहाँ मिल्छ जसरी मिल्छ खेलाडीले तयारी गरिरहेका छन् । उनीहरु जहाँ छन् त्यहीं बसेर तयारी गरिरहेका छन्,’ उनले भने,  ‘हामीले सिडिओ कार्यालय र मन्त्रालयसँग समन्वय गरेर कहाँ कसरी गर्ने भनेर अनुमतिका लागि त्यो विषयमा प्रक्रिया अगाडि बढाएका छौं । सरकारले हामीलाई पास बनाइसकेको छैन । हामीले त्यसको लागि अप्लाई गरेर प्रोसेसमा लागेका छौं ।’

जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने टोकियो ओलम्पिक खेल्ने पक्का भएका पौडीका दुई खेलाडी गौरिका सिंह र एलेक्स शाह अहिले विदेशमा छन् । यस्तै एथ्लेटिक्सका म्याराथन धावक गोपीचन्द्र पार्की भने काठमाडौंमै प्रशिक्षण गरिरहेका छन् । यसबाहेक ओलम्पिक छनोट खेल्ने र वाइल्ड कार्डका लागि नाम प्रस्ताव गरिएका विभिन्न खेलका खेलाडीहरु पनि प्रशिक्षणरत छन् ।

उनीहरुले यसअघि काठमाडौं र पोखरामा प्रशिक्षण गरिरहेका थिए । भारोत्तोलन र आर्चरीका खेलाडीहरु पोखरामा प्रशिक्षण गरिरहेका छन् भने बाँकी काठमाडौंमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment