Comments Add Comment

कोरोनाका गम्भीर बिरामीका लागि हेलिकोप्टरको माग बढ्यो

२१ वैशाख, काठमाडौं । देशभर कोरोना भाइरसको बढ्दो संक्रमणसँगै गम्भीर बिरामीका लागि हेलिकोप्टरको माग बढेको छ । तर, अस्पतालहरुमा बेड नहुँदा माग अनुसार उडान समेत गर्न नसकिएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

मनाङ एयरका प्रवन्धक तथा वायुसेवा संचालक संघका सचिव राजु न्यौपानेका अनुसार तराईमा ठूला अस्पताल भएका शहरबाट बढी हेलिकोप्टर उद्दारको माग आइरहेको छ ।

तर, काठमाडौंमा आवश्यकता अनुसार बेड नहुँदा माग अनुसार उडान भने हुन नसकेको उनी बताउँछन् । ‘पछिल्लो दुई सातायता आकस्मिक उद्दारमा हेलिकोप्टरको माग बढेको छ,’ उनले भने, ‘तर, काठमाडौंका अस्पतालमा बेडको अभावले माग अनुसार उडान हुन सकेको छैन ।’ दाङ, नेपालगन्ज, वीरगन्ज, भैरहवा, धनगढीलगायत क्षेत्रबाट उद्दार उडानको माग बढी आएको छ ।

बिरामीका लागि अस्पतालमा बेड सुनिश्चित भएपछिमात्र काठमाडौंबाट हेलिकोप्टर जाने गर्छ । मनाङले अघिल्लो साता मात्र ८–१० उद्दार उडान बेडको अभावमा रद्द गर्नु परेको उनले जानकारी दिए ।

‘नेपालगन्जले रिफर गर्छ, हामीलाई उद्धार गर्न माग हुन्छ, तर, काठमाडौंका अस्पतालमा बेड नै नभएपछि त्यो दिन उडान रद्द हुन्छ, यस्तो घटना दोहोरिन थालेको छ,’ उनले भने ।

अहिले मनाङ, सिम्रिक, अल्टिच्यूड, कैलास र श्री एयरलाइन्सले कोरोना बिरामी बोक्न अनुमति पाएका छन् । कोरोनाका बिरामी बोक्ने हेलिकोप्टरमा प्यासेन्जर आइसोलेसन चेम्बर अनिवार्य राख्नु पर्छ ।

हरेक उडानमा दुई जना पारामेडिक्स जनशक्ति हुनुपर्छ । त्यसमध्ये एक जना चिकित्सक हुनुपर्छ । यो जनशक्तिको व्यवस्था भने अस्पतालले गर्छ । बिरामीलाई हेलिकोप्टरमा राख्नेदेखि अवतरण भएपछि झार्नेसम्मको काम यी जनशक्तिबाट हुन्छ ।

‘क्याविन क्रुले हेलिकोप्टर संचालनबाहेक अरु काम गर्दैन, सबै काम पारामेडिक्स जनशक्तिले गर्छन, यसले पाइलटको सुरक्षामा समेत जोखिम हुँदैन,’ उनले भने ।

बिरामीलाई काठमाडौं नैै ल्याउनु पर्ने बाध्यता

अहिले काठमाडौंमा निजी क्षेत्रका ह्याम्स र मेडिसिटी अस्पतालका लागि जनशक्तिसहित हेलिउद्धारबाट बढी बिरामी ल्याउने गरिएको छ । तर, मोफसलका अस्पतालमा पर्याप्त पारामेडिक्स जनशक्ति नहुँदा देशभरबाट बिरामीलाई काठमाडौं ल्याउनु पर्ने बाध्यता रहेको छ ।

न्यौपानेका अनुसार कोभिडको बिरामीलाई उद्धार गर्न आवश्यक जनशक्ति नहुँदा जुन अस्पतालमा यस्तो जनशक्ति छ, त्यही बढी चाप हुन्छ । धनगढीको बिरामीलाई चितवनमा राम्रो उपचार हुने सुविधासम्पन्न अस्पतालमा लैजान सकिने भएपनि पारामेडिक्स जनशक्ति नहँदा काठमाडौं मै ल्याउनु पर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

अर्कोतर्फ कुनै बिरामीले हेलिउद्धार गरि सरकारी अस्पताल टिचिङ वा वीरमा उपचार गर्छु भन्ने विकल्प पनि छैन । त्यसका लागि हेलिकोप्टरमा रहने पारामेडिक्स सम्बन्धित अस्पतालले नै व्यवस्था गर्नुपर्छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आन्तरिक उडान नियमित भएको अवस्थामा पनि कोभिडका गम्भीर बिरामी हेलिकोप्टरले नै बोक्ने भएकाले हवाई उडानसँग कोभिड बिरामीका लागि हुने उद्धार उडानबीच सम्बन्ध भने हुँदैन ।

‘कोभिड बिरामी बोक्न स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेको उपकरणसहित उड्नुपर्छ, उनले भने ‘त्यसकारण यो काम हेलिकोप्टरबाटै भएको छ ।’ त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल कार्यालयका अनुसार यो सिजन पर्वतारोहणको समेत हो ।

सोहीकारण कोरोनाका बिरामी र हिमालबाट आकस्मिक उद्धार गर्न बढी संख्यामा हेलिकोप्टरको माग हुने गरेको छ ।

सामान्य उडान भन्दा बढी मूल्य किन ?

सामान्य अवस्थामा हुने हेलिकोप्टर चार्टर्डको तुलनामा कोभिड बिरामीका लागि भने मूल्य बढी हुने गरेको छ । हेलिकोप्टर कम्पनीले संक्रमित बिरामी बोक्ने पाइलटका लागि अतिरिक्त भत्ताको व्यवस्था गरेका छन् ।

‘ज्यान जोखिम राखेर काम गर्नुपर्छ, हामीले अतिरिक्त भत्ता नदिए पाइलटले किन जोखिम उठाउनु ?’ न्यौपाने भन्छन् । कोरोना संक्रमित बोक्ने हेलिकोप्टरमा राखिने आइसोलेसन चेम्बर हेलिकोप्टर कम्पनीले नै राखेका हुन्छन् ।

अर्कोतर्फ हेलिकोप्टरमा बिरामी बोक्न, झार्न र समस्या पर्दा हेर्न खटिएका पारामेडिक्स जनशक्तिको शूल्क समेत अस्पतालले चार्ज गर्छ । कर्मचारी र चिकित्सकको बीमा शूल्कका कारण समेत भाडा सामान्य उडानको तुलनामा महंगो पर्न गएको हो ।

जहाजमा अक्सिजनसहित लाइफ सेभिङ मेडिसिन, पर्याप्त मात्रामा पीपीई, सेनिटाइनजर, डिसिन्फेक्टेन्टसजस्ता औषधी र औषधीजन्य सामग्री समेत अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment