Comments Add Comment

भारतमा लगातार तीन दिनसम्म घट्यो नयाँ संक्रमितको संख्या

२१ वैशाख, काठमाडौं । भारतमा लगातार तीन दिनसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या घटेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो तीन दिनको तथ्यांकमा नयाँ संक्रमितको संख्या लगातार घटेको पाइएको छ ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमितको संख्या चार लाख एक हजार ९९३ थियो । यो संख्या त्यसयता भने निरन्तर घट्दो क्रममा छ । आइतबार तीन लाख ९२ हजार, सोमबार तीन लाख ६८ र मंगलबार तीन लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट बढी प्रभावित महाराष्ट्र, दिल्लीलगायत राज्यमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घटेको छ । शनिबार भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या उच्च विन्दुमा पुग्दा महाराष्ट्रमा ६३ हजार संक्रमित भेटिएका थिए । तर, यो संख्या मंगलबार ४८ हजारमा झरेको छ ।

त्यस्तै दिल्लीमा गत शनिबार २५ हजारभन्दा धेरै संक्रमित भेटिएकामा मंगलबार १८ हजार जना भेटिएका छन् । उत्तर प्रदेशमा भने कोरोना संक्रमणको अवस्था स्थिर देखिएको छ । शनिबार ३० हजार भेटिएकामा मंगलबार २९ हजार भेटिएका छन् ।

कर्नाटकमा भने कोरोना संक्रमण बढिरहेको छ । गत शनिबार ४० हजार नयाँ संक्रमित भेटिएकामा मंगलबार ४४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

मृतकको संख्यामा घटबढ

भारतमा संक्रमणको कारण मृत्यु हुनेको संख्या भने बढ्ने/घट्ने क्रम चलिरहेको छ । शनिबार तीन हजार ५२३ जनाको मृत्यु भएकामा आइतबार यो संख्या बढेर तीन हजार ६८९ पुगेको थियो । सोमबार तीन हजार ४१७ मा झरेका मंगलबार बढेर तीन हजार ४४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment