Comments Add Comment

खाद्यान्न ढुवानीमा प्रहरीले अवरोध गरेको व्यवसायीको गुनासो

२३ वैशाख, काठमाडौं । प्रहरीले खाद्यान्न ढुवानीमा समेत अवरोध गरेको व्यसायीहरुले गुनासो गरेका छन् ।

निषेधाज्ञा पालना नगरेको भन्दै प्रहरीले १० बजेपछि खाद्यान्न बोकेर गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डमा राखेको खाद्यान्न व्यवसायी सागर देव भट्टले गुनासो गरे ।

हिजोसम्म खाली गाडीहरु बिहान १० बजेपछि गुड्न दिइएको थिएन तर आज दाल, चामल र तरकारी बोकेकै गाडी सञ्चालनमा प्रहरीले अवरोध गरेको भट्टले बताए । ‘आज मेरै दुई वटा गाडी प्रहरीले कमल पोखरी र शंखमुलबाट नियन्त्रणमा लिएको छ,’ भट्टले भने, ‘आजबाट निषेधाज्ञामा कडाइ गरिएकाले गुड्न नदिने जवाफ प्रहरीले दिएका छन् ।’  आवश्यक कागज पत्र बोकेरै हिंडेपनि सवारी साधनलाई अवरोध गरिएको भट्टको गुनासो छ ।

आजबाट उपत्यकामा १० बजेपछि मालबाहक सवारी पनि गुड्न नदिइएको नेपाल किराना व्यवसायी संघले पनि जनाएको छ । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गर्नु परेको भन्दै प्रहरीले सवारी साधन रोकेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । ‘गत वर्ष यस्तो थिएन, यसवर्ष कोभिड कडा भएको भन्दै खाद्यान्न बोकेका सवारी साधन पनि रोकिएको छ, मन्त्रालयमा गुनासो पनि गरेको हो तर सुनुवाइ भएन,’ अध्यक्ष श्रेष्ठले भने । उपत्यकाका धेरै ठाउँमा खाद्यान्न बोकेको मालबाहक सवारी साधन रोकिएको गुनासो आएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने खाद्यान्न बोकेको सवारी साधन रोक्ने कुनै नीति नभएको दाबी गरेको छ । आवश्याक कागज पत्र नबोकी हिंडेका सवारी सधान रोकिएको भएपनि नियम संगत ढंगले चलेका सवारी साधनमा कुनै अवरोध नभएको मन्त्रालयका सहसचिव एवं कोभिडमा आपूर्ति व्यवस्था सहजीकरण कार्यदलका संयोजक प्रेम कुमार श्रेष्ठले दाबी गरे ।

‘ढुवानीको गाडि हो भन्ने यथेष्ट प्रमाण बोकेर हिंडे कतै रोकिएको छैन, प्रमाण नपुर्‍याई हिंड्नेलाई सूचना अभावमा अप्ठ्यरो परेको हुनसक्छ हामी सहजीकरण गरिरहेका छौं,’ सहसचिव श्रेष्ठले भने । खाद्यान्न बोकेका गाडीलाई जुनकुनै समयमा चल्न पाउने व्यवस्था यथावत रहेको र यसमा कतै अवरोध नहुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment