Comments Add Comment

खरिपाटीको विद्युत तालिम केन्द्रमा ‘आइसोलेसन सेन्टर’ बनाउन प्रस्ताव

६६ कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिने

२३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड-१९बाट संक्रमितहरुको उपचारका लागि ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।

सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।
तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको वेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए ।

शाक्यकाअनुसार प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि प्राथमिकता दिंदै कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले तोकेको निकायलाई तालिम केद्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

‘तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिन्छ,गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, उनले थभने ।

तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरुमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छ ।
तालिम केन्द्रमा रहेको भवन नं १मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २मा २६ कोठा छन्, त्यहाँ ७८ वटा बेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन्, त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी क्वाटर भवनका ३ कोठामा ३ वटा बेड राख्न सकिन्छ ।

अक्सिजन उद्योगलाई निरन्तर बिजुली

नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । कार्यकारी निर्देशक शाक्यले वत्ति गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरुलाई खबर गरिएको बताए ।

‘विद्युत वितरण केन्द्रहरुलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौं, केन्द्रहरुले आफू मातहत रहेका अक्सिजन उद्योगहरुलाई सोही अनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment