Comments Add Comment

संक्रमित बेडको खोजीमा अस्पताल चहार्दै, ८० बेडको भवनमा सरकारको ताला

२६ वैशाख, विराटनगर । शनिबार राति इटहरी उपमहानगरपालिका–६ का एक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले एम्बुलेन्समा राखेर विराटनगर ल्याए । विराट मेडिकल कलेजमा बेड थिएन । नोबेल मेडिकल कलेजको अवस्था पनि उस्तै थियो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आउँदा बेड पाउने आशमा पाँच संक्रमति लाइनमा थिए । विराटनगरमा बेड नपाइएपछि उनलाई राति १ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । धरानमा बेड नभएपछि भुइँमा राखिएको छिमेकी मनोज भुजेलले जानकारी दिए ।

‘विराटनगरमा कतै बेड पाइएन, राति धरान लग्यौं,’ उनले भने, ‘त्यहाँ पनि बेड थिएन, बेड नभएपछि अक्सिजन सपोर्टमा भुइँमा राख्ने भन्दै पठायौं ।’

०००

साथीका कोरोना संक्रमित बुबालाई श्वासप्रश्वासमा समस्या भएपछि झापा दमकका सुदीप अधिकारी शुक्रबार राति साथीसँगै बिरामी लिएर विराटनगर आए । अक्सिजन सपोर्टमा राखिएका बुबालाई रातभर विराटनगरका अस्पताल घुमाए । बेड नपाएपछि दमक नै फर्काउनु पर्‍यो ।

दुई सय बेडको विराट मेडिकल कलेजमा बेड खाली थिएन, दुई सय नै बेड सञ्चालन गरिरहेको नोबेल मेडिकल कलेजले पनि बेड छैन भन्दै फर्कायो ।

कोशी अस्पताल हुँदै प्रदेश सरकारले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रमा पुगे । तर राति अस्पतालका कर्मचारी उठेनन् । कर्मचारी नउठेपछि बिहान ६ बजे दमक फर्काएर दमककै एडभान्स अस्पालमा भर्ना गरेर उपचार गर्नु परेको उनले बताए ।

अस्पतालका बेड भरिए

विराटनगरमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, नोबेल र विराट मेडिकल कलेज कोरोना संक्रमितको उपचार गर्ने अस्पताल हुन् । तर संक्रमण उच्च विन्दुमा पुगेका कारण अस्पतालका बेड भरिएका छन् । बेड खोज्दै आउने बिरामीलाई ती अस्पतालले फर्काउँछन् ।

बिरामीको चाप थेग्नै नसक्ने अवस्थामा रहेको नोबेल मेडिकल कलेजका डा. राजेश नेपाल बताउँछन् । ‘दुई सय बेड ६–७ दिनमा भरिए,’ नेपाल भन्छन्, ‘इमर्जेन्सीमा संक्रमित क्युमा बसेका छन् ।’

दुई सय बेडको कोभिड उपचार केन्द्र सञ्चालन गरिरहेको विराट मेडिकल कलेजका फोकल पर्सन सुनिल देव नयाँ संक्रमतिलाई भर्ना गर्ने ठाउँ नभएको बताउँछन् । आईसीयू खोज्ने बिरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ९६ बेड छन् । ती बेडमा ८४ जना संक्रमित छन् । आईसीयू र अक्सिजन चाहिने नयाँ बिरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको उपचार केन्द्रका संयोजक वैजनाथ साहले बताए ।

महामारीमा अस्पतालमा ताल्चा, बिरामीको बिचल्ली

शनिबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६ जना संक्रमित भर्ना पाउने आशमा बसेका थिए । तर २१ बेडको आईसीयू र ४७ बेडको एडीयू प्याक भएकाले भर्ना पाएनन् । ९६ बेडको अस्पतालसँगै रहेको ८० बेड क्षमताको भवन बन्द हुँदा उनीहरु रित्तो हात फर्किए ।

प्रदेश १ सरकारले गत वर्ष नै नेशनल ट्रेडिङको दुई तले भवनमा ६९ बेडको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र सञ्चालन गरेको थियो । सो भवनमा ८० वटा बेड राख्न मिल्छ ।

दोस्रो लहरको शुरुवाती अवस्थामा संक्रमितको उपचार सोही भवनमा भएको थियो । नेशनल ट्रेडिङको भवनसँगै रहेको गोदाममा ९६ बेडको अस्पताल बनेपछि प्रदेश सरकारले ६९ बेड क्षमताको भवन बन्द गरेको हो ।

वैशाख १७ गते गोदाममा बनेको ९६ बेडको अस्पताल शुरु भएकै दिन बन्द गरेको दुई तले भवनमा उपचार शुरु गर्ने सुरसार छैन । बन्द भवनमा रहेका ३१ वटा बेडमा अक्सिजन पाइपलाइन जोडिएको छ । बाँकी बेडमा पनि पाइपलाइन जोड्ने कार्य योजना अलपत्र परेको छ ।

 

९६ बेडको अस्पतालमा १२ जना डाक्टर, ३३ जना नर्स, ३ जना परामेडिक्स र १५ जना सहयोगी छन् । बन्द रहेको अस्पताल भवन सञ्चालन गर्न सोही मात्रामा जनशक्ति आवश्यक पर्ने प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

निजीलाई अनुमति दिन आनाकानी

५० बेडसम्मको कोरोना अस्पताल सञ्चालन अनुमति दिने अधिकार प्रदेश सरकारलाई छ ।  तर संक्रमितले बेड नपाउँदा पनि प्रदेश सरकारले निजी अस्पताललाई उपचारमा खटाउन सकेको छैन ।

दुई साता अघि प्रदेश सरकारसँगको सहकार्यमा न्यूरो अस्पतालमा ५० बेडको अस्पताल सञ्चालन गर्ने तयारी भएको थियो । तर सरकारले तिर्ने शुल्कको विषयमा कुरा नमिल्दा न्यूरोले अस्पताल सञ्चालन गरेको छैन ।

प्रदेश सरकारले आईसीयूमा एक बिरामी बराबर दैनिक १५ हजार शुल्क दिने प्रस्ताव गरेको थियो । तर न्यूरोले खर्च नउठ्ने भन्दै सो रकममा काम गर्न नमानेको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।

अस्पताल सञ्चालन गर्न नसक्ने भएपछि कोरोना संक्रमितको उपचार गर्न छुट्टै वार्ड सञ्चालन गर्ने तयारी भएको न्यूरो अस्पताल विराटनगरका निर्देशक रञ्जितराज बस्नेतले जानकारी दिए । प्रदेश सरकारले विराटनगरमा रहेका अन्य निजी अस्पताललाई पनि संक्रमितको उपचारमा खटाउन सकेको छैन ।

सचिव भन्छन्– काम हुँदैछ

प्रदेश १ को सामाजिक विकस मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले कोभिड अस्पतालभित्र रहेको भवनमा ८० बेडको अस्पताल चाँडै सञ्चालन गर्ने बताए । उनले काम अघि बढाइएको बताए । ‘काम हुँदैछ, जतिसक्दो चाँडो शुरु गर्ने योजनामा छौं,’ उनले भने ।

सचिवले काम भइरहेको बताएपनि बन्द भएयता उक्त भवनको ढोका खोलिएको छैन । काम अघि नबढेको अस्पताल स्रोतले बताएको छ ।

सचिव कार्कीले निजी अस्पतालहरुमा पनि कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
हरी अधिकारी

ट्रेन्डिङ

Advertisment