२६ वैशाख काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत अन्तिम लिग खेलमा आइतबार काठमाडौं रेजर्सले एफसी चितवनलाई २–१ गोलले पराजित गरेको छ ।
यसअघि नै प्लेअफ पुगिसकेको काठमाडौंले लिगमा चौथो जित हासिल गर्दै शीर्ष स्थानमा लिग सकाएको छ । लिगमा सर्वाधिक चार जित हात पार्ने एक्लो टिम बनेको काठमाडौंले ६ खेलबाट १३ अंक जोड्यो ।
काठमाडौंले अब फाइनल प्रवेशका लागि मंगलबार दोस्रो स्थानको धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ । लिगमा धनगढीले काठमाडौंलाई ३–० गोलले पराजित गरेको थियो ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन क्यामरुनी खेलाडी मेसोउके ओलोमोउ र संजोग राईले एक–एक गोल गरे । चितवनका राजीव लोप्चनले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा मेसोउके ओलोमोउले विश्वास उदासको पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । ३४ औं मिनेटमा संजोग राईले विश्वास श्रेष्ठको पासमा गोल गर्दै काठमाडौको अग्रता दोब्बर पारे ।
चितवनका लागि ४०औं मिनेटमा राजीव लोप्चनले गोल गरे । सुनिल श्रेष्ठको प्रहार एनएसएलमा पहिलो खेल खेलिरहेका काठमाडौंका गोलकिपर विनय श्रेष्ठले रोकेपनि रिबाउन्डमा राजीवले गोल गरेका हुन् । काठमाडौंले नियमित कप्तान विकेश कुथुलाई आराम दिंदै विनयलाई डेब्यु गराएको थियो ।
४४ औं मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले करिब २५ यार्डमा प्रहार गरेको फ्रिकिक पोस्ट बारमा लाग्दै बाहिरिएको थियो ।
८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले चितवनका गोलकिपरसँगको वान भर्सेस वानमा गोल गर्न चुके । उनको कडा प्रहार चितवनका रोमन रसाइलीको टाउकोमा लाग्दै बाहिरियो । यस्तै ८४ औं मिनेटमा प्रिजेनले पेनाल्टी एरियाबाट गरेको प्रहार चितवनका गोलकिपर रोमनले बचाए ।
काठमाडौंसँग हारपछि चितवन लिगमा जितविहीन हुने एक्लो टोली बन्यो । ६ मध्ये चार खेलमा पराजित चितवनले दुई बराबरीबाट जम्मा दुई अंक मात्र जोड्न सक्यो र अन्तिम स्थानमा रहेर लिग सकायो ।
प्रतिक्रिया 4