२७ वैशाख, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट (एनएसइएम) ले पहिलो पटक आयोजना गरेको नेपाल सुपर लिग (एनएसएल)को लिग चरणमा २१ खेल सम्पन्न भइसकेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा भएको यो नेपालको पहिलो फ्रेन्जाइज फुटबल प्रतियोगिता हो र अक्सनमार्फत खेलाडीहरु छनोट भएको थियो ।
जसमा सात शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष चार टोली प्लेअफमा पुगेका छन् । बाँकी तीन टिम भने लिग चरणपछि बाहिरिएका छन् ।
काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्लेअफमा प्रवेश गर्दा पोखरा थण्डर्स,विराटनगर सिटी एफसी र एफसी चितवनको यात्रा भने लिगबाटै टुङ्गियो ।
पहिलो संस्करण भएकोले एनएसएलमा जे हुन्छ त्यो कीर्तिमान नै बन्छ । पहिलो खेल पहिलो गोलकर्ता पहिलो जितदेखि लिएर पहिलो ह्याट्रिक लगायत खेल पछिसम्म पनि सम्झना भइरहन्छ । त्यसैले यस्तो सफलता हात पार्न सबै टिम लागेका हुन् ।
तर सबै टिमले यो अवसर पाउँदैन । एक टिमले भने लिग चरणमा धेरै कीर्तिमान बनायो । गोलकिपर विकेश कुथु कप्तान तथा बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेको काठमाडौं रेजर्सले एनएसएलमा केही त्यस्ता कीर्तिमान बनाएका छन् जुन कहिल्यै तोडिने छैन र इतिहास बनेर बस्नेछ ।
पहिलो खेल खेल्ने, पहिलो गोल गर्ने, पहिलो जित हात पार्ने, पहिलो ह्याट्रिक गर्ने लगायत कीर्तिमान काठमाडौं रेजर्सले नै बनाएको छ ।
एनएसएलको लिग चरणमा काठमाडौंको कीर्तिमानहरु
पहिलो खेल जित्ने : काठमाडौ रेजर्स
पहिलो गोल गर्ने : काठमाडौं रेजर्स
पहिलो गोलकर्ता : मेसोउके ओलोमोउ (काठमाडौं रेजर्स)
पहिलो ह्याट्रिककर्ता : मेसोउके ओलोमोउ–विराटनगर विरुद्ध ३ गोल (काठमाडौं)
लिगमा सर्वाधिक गोलकर्ता : मेसोउके ओलोमोउ-५ गोल (काठमाडौं)
लिगमा सर्वाधिक खेल जित्ने : काठमाडौं रेजर्स (४ जित)
लिगमा सर्वाधिक अंक जोड्ने : काठमाडौं रेजर्स (१३ अंक)
अन्तिम खेल जित्ने : काठमाडौं रेजर्स
अन्तिम खेलमा पहिलो गोल : काठमाडौं रेजर्स
सर्वाधिक ९ गोल भएको खेल : काठमाडौं रेजर्स भर्सेस विराटनगर सिटी (५-४)
लिगको पहिलो गोलरहित बराबरी खेल : काठमाडौं रेजर्स भर्सेस पोखरा थण्डर्स
सर्वाधिक क्लिनसिट : (३) विकेश कुथु (काठमाडौं), किरण चेम्जोङ (धनगढी), अर्पण कार्की (ललितपुर) दिप कार्की (पोखरा)
प्रतिक्रिया 4