
२८ वैशाख, चितवन । चितवनका ठूला अस्पतालका आईसीयूहरु कोरोना संक्रमितले लगभग भरिने क्रममा पुगेका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको तथ्यांकअनुसार भरतपुर अस्पतालले कोरोना संक्रमितका लागि छुट्टाएको १० बेडको आईसीयू भरिएको छ भने चितवन मेडिकल कलेजले छुट्टाएको १६२ मध्ये १५८ बेड भरिएको छ ।
पुरानो मेडिकल कलेजमा ९० बेड कोभिड आईसीयूमध्ये ६२ बेड भरिएको छ । बाहिरका केही निजी अस्पतालका १० बेड आईसीयूमा कोभिडका बिरामी राखिएको छ । चितवनका विभिन्न अस्पतालमा गरेर ४३० जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् ।
कोभिड आईसीयूमा २४० जना छन् । कुल बिरामीको झण्डै ५६ प्रतिशत आईसीयूमा उपचाररत छन् । भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । उपचाररत संक्रमितमध्ये आधाभन्दा बढी चितवन जिल्ला बाहिरका छन् ।
यही अनुपातमा बिरामीको संख्या बढ्ने हो भने, एक–दुई दिनमा चितवनका ठूला अस्पतालमा कोभिडका बिरामीले आईसीयू नपाएर अकाल मृत्युवरण गर्नुपर्ने अवस्था देखिएको छ ।
अहिले भइरहेका आईसीयूहरुलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा लागिरहेको चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए । ‘१५८ बाट १८३ जना बिरामी केही दिनमा नै पुग्छन् त्यसपछि हामीले के गर्न सक्छौ र ? अस्पतालको आफ्नो क्षमताभन्दा बाहिरको कुरा हुन जान्छ,’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने, ‘त्यस्तो अवस्थामा आईसीयू खाली हुन वा पाउन कि त बिरामी निको भएर वार्डमा सार्नुपर्छ कि त बिरामी आईसीयूमै मर्नुपर्छ यो दुःखद अवस्था हाम्रो नजिकै देख्छु म ।’
उनले चितवन मेडिकल कलेजले आफ्नो अधिकतम क्षमतामा कोभिडको उपचार गरिरहेको बताए । अहिले यहाँ १७७ जना कोभिडका बिरामीको उपचार भइरहेको छ । भेन्टिलेटरमा ३६ जना राखिएका छन् । देवकोटाले काठमाडौं, दाङ, नेपालगञ्जलगायतका ठाउँबाट कोभिडका बिरामीलाई हेलिकप्टरमा राखेर चितवन उपचारका लागि ल्याउने गरिएको बताए ।
‘बिरामी ल्याउनुस् भन्न सक्ने अवस्था पनि छैन, गम्भीर बिरामी नभई त कसैले पनि हेलिकप्टरमा ल्याउँदैन,’ देवकोटाले भने, ‘तर हामीकहाँ अब आईसीयू अलमस्ट भरिएको छ, ल्याउनुस् भन्ने अवस्था पनि विस्तारै कम हुँदैछ ।’
यता, पुरानो मेडिकल कलेजमा १३ जनालाई भेन्टिलेटरमा राखिएको छ । उक्त अस्पतालले ९० बेड कोभिड आईसीयूका लागि छुट्टाएकोमा ६२ जना कोरोना उपचाररत छन् । बाँकी २८ जना रिपोर्ट नआएका तर संक्रमणको आशंका गरेर आईसीयूमा राख्नुपर्ने बिरामी राखिएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले बताए ।
‘अब एउटा पनि थप संक्रमित बिरामी अस्पतालले राख्न सक्ने अवस्था छैन, उनले भने, ‘आईसीयू थप गर्ने भन्ने कुरा छ तर सबै पूर्वाधार चाहिने हुँदा केही समय त लाग्छ, त्यतिन्जेल अहिले भएको आईसीयूमा जति अट्छ त्यति राख्ने हो ।’
जिल्लाकै ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालले कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि बेड र जनशक्ति थप गरेको छ । अस्पतालले बेड थप गर्दै १६५ पुर्याएको छ भने १३६ जना जनशक्ति थप गरेको हो ।
अस्पतालका कायम मुकायम मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले अहिले भएको १४५ कोभिड बेड थप गर्दै १६५ पुर्याएको जानकारी दिए । ‘अहिले हामीलाई चाहिएको कोभिड आईसीयू हो,’ उनले भने, ‘बेडभन्दा पनि आईसीयूको खाँचो छ, जनरल आईसीयूलाई कोभिड आईसीयू बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’ अस्पतालमा अहिले जम्मा १० बेड मात्रै कोभिड आईसीयू छ ।
अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा दरबन्दी सिर्जना गरी १३६ जना जनशक्ति थप गरेको छ । जसमध्ये १०८ जना नर्स, २४ जना मेडिकल अफिसर, तीन जना रेडियोग्राफर र एक जना बायोइञ्जिनियर छन् ।
२४ घण्टामा १० जना संक्रमितको मृत्यु
चितवनका अस्पतालहरुमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीका दुई, चितवनका ३, तनहुँ, नवलपरासी र कपिलवस्तुका एक÷एक जना छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ४४ जना डिस्चार्ज भएर घर गएका छन् ।
नगरपालिकाले बनाएका अक्सिजनसहितका आइसोलेसनमा छैनन् बिरामी
भरतपुर महानगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहले कोरोना संक्रमितका लागि भनेर अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएका छन् । ती सेन्टरमा नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई परिचालनसमेत गरिएको छ । आइसोलेसनमा संक्रमितहरु बसेको भने देखिएको छैन ।
रत्ननगर नगरपालिकाले अक्सिजनसहित २८ बेडको आइसोलेसन सेन्टर बनाएको छ । एक जना बिरामी मात्रै अहिले आइसोलेसनमा छन् । खैरहनी नगरपालिकाले ११ बेड अक्सिजनसहित १५ बेड, राप्ती नगरपालिकाले अक्सिजनसहित २० बेड, कालिका नगरपालिकाले अक्सिजनसहित १२ बेड, इच्छाकामना गाउँपालिकाले १० बेड अक्सिजनसहित २० बेड र माडी नगरपालिकाले ५ बेड अक्सिजनसहित १० बेडको आइसोलेसन सेन्टर बनाएका छन् । तर ती आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बसेका छैनन् ।
नगरपालिकाको आइसोलेसनमा भन्दा घरमा नै आइसोलेसनमा बस्ने संख्या अधिक छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा २ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित छन् । तीमध्ये २ हजार ७०९ जना होमआइसोलेसनमा छन् भने अस्पतालमा दुई सय जना उपचाररत छन् ।
प्रतिक्रिया 4