Comments Add Comment
उपत्यकाभित्रै अक्सिजन पुर्‍याउन हम्मे :

‘अक्सिजन माग्दै सीसीएमसीदेखि मन्त्रालयसम्म हारगुहार गर्नुपर्‍यो’

मध्यपुरठिमीका मेयर भन्छन्– हिजो एक घण्टा ढिलो भएको भए २० जनाको ज्यान जान्थ्यो

२९ वैशाख, काठमाडौं । सरकारले अक्सिजनमा कोटा प्रणाली लागू गरेपछि आपूर्तिमा झन् कठिनाइ भइरहेको कतिपयको गुनासो छ । भक्तपुरका तीनवटा अस्पतालले हिजो मात्रै बिरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गरे । अक्सिजन आपूर्ति सहज नभएकै कारण भक्तपुरको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले नयाँ बिरामी भर्ना लिन नसक्ने घोषणा गर्यो ।

मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले हिजो अक्सिजन माग्दै सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालयसम्म हारगुहार गर्नुपरेको बताउँदै भने, ‘हिजो एक घण्टामात्रै ढिलो भएको भए २० जना बिरामीको ज्यान जान्थ्यो, सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लागू गरेपछि झन् गाह्रो भएको महसुस भइरहेको छ ।’

मेयर श्रेष्ठले अनलाइनखबरसँग अस्पतालको पछिल्लो अवस्था र आफ्नो दौडधुप यसरी बेलिबिस्तार लगाए ।

अहिले अस्पतालमा बिरामीको एकदमै चाप बढेको छ । हिजोसम्म बिरामी ४२ जना थिए । आज बिहान एक जना थपिएपछि ४३ पुगेको छ । भेन्टिलेटिरमा ७ जना छन् । उनीहरुलाई प्रतिमिनेट १० लिटरको दरले अक्सिजन दिनु परिरहेको छ ।

एचडीयूमा १४ जना बिरामी छन् । इमर्जेन्सी १० बेड छ तर १५ जना बिरामीलाई राखेर उपचार गरिरहेका छौं । कोभिडका शंकास्पद चार जनालाई होल्डिङ सेन्टरमा राखेका छौं ।

अस्पतालको लागि हामीले बनेपाको नवज्योती उद्योगबाट दैनिक ७० सिलिण्डर अक्सिजन ग्यास ल्याइरहेका थियौं । अहिले सरकारले जम्मा १५ सिलिण्डर कोटा तोकिदियो । बिरामी बढेको बेला झन् धेरै अक्सिजन चाहिएको बेला झन् थोरै कोटा तोकिदिएपछि आपत पर्यो । कोटा प्रणाली लागु भएपछि नै हो हामीलाई अक्सिजन अभाव सुरु भएको ।

एक घण्टाभित्र थप अक्सिजन सिलिण्डर जोहो नभए कम्तिमा २० जना बिरामीको ज्यान जान्छ भन्ने जानकारी पाउनासाथ म स्वास्थ्य मन्त्रालयमा पुगें । मन्त्रालयको सचिवज्यूसँग कुरा गरें । पहिलेको डिजी महेन्द्र श्रेष्ठसँग पनि समस्या सुनाएँ । उहाँहरुले कताकता फोन गरिदिनुभयो तर अक्सिजनको जोहो भएन । बिरामीको चिन्ताले म धेरै नै आत्तिइसकेको थिएँ ।

पछि उहाँहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेले अध्यक्ष भएको सीसीएमसीमा सम्पर्क गर्न भन्नुभयो । सीसीएमसी सचिवालयका सचिव खगराज बराललाई मन्त्रालयबाटै फोन गरें । पटक–पटक गर्दा पनि उहाँको फोन उठेन । सायद धेरै नै व्यस्त हुनुहुन्थ्यो होला ।

बराल सरसँग सम्पर्क हुन नसकेपछि आफ्नो प्रदेशको नेता आनन्द पोखरेललाई फोन गरें । उहाँले पनि खगराज बराललाई नै फोन गर्न भन्नुभयो । उहाँको फोन उठिरहेको छैन, कसरी कुरा गर्ने ? झन् तनाव भयो । पछि बराल जी दुई बजेको पत्रकार सम्मेलनमा भेटिनु हुन्छ भन्ने जानकारी पाएपछि म पनि त्यहीँ गएँ । उहाँलाई भेटेर अस्पतालको समस्या सुनाएँ ।

उहाँका पनि आफ्नै समस्या रहेछन् । मागअनुसारको अक्सिजन आपूर्ति हुन नसकेको कुरा डाटा नै देखाएर भन्दै हुनुहुन्थ्यो । पछि नेपाली सेनाको टोलीले १५ सिलिण्डर अक्सिजन अस्पताल पुर्याइदियो । अलिकति राहत मिल्यो । तर समस्या समाधान भएको थिएन । तनाव बाँकी नै थियो ।

मैले कोटा बढाइदिन बरालजीलाई आग्रह गरें । पछि सगरमाथा ग्यास उद्योगबाट ५० र एभरेष्ट ग्यास उद्योगबाट २० सिलिण्डर गरी जम्मा ७० सिलिण्डरकै कोटा तोकियो । हाम्रा सिलिण्डरहरु बनेपाको नवज्योतीमा छन् अब एभरेष्ट र सगरमाथामा ल्याउनुपर्ने झन्झट बाँकी छ । अक्सिजन आपूर्तिको स्थिति नाजुक रहेछ । माग र आपूर्तिको अन्तर दोब्बर देखिन्छ ।

बिरामीको चाप बढेपछि सेवा बिस्तार गर्ने भनेर २० बेड थपेका छौं तर अक्सिजन अभावकै कारण त्यसलाई सन्चालन गर्न सकेका छैनौं । हामीले अक्सिजन सिलिण्डर छिटो लोड अनलोड लगायतका अन्य काममा पनि नगरप्रहरी परिचालन गरेका छौं ।

सरकारले अक्सिजन आपूर्तिको व्यवस्थालाई छिटो, सरल र सहज बनाउनुपर्छ । अहिले पनि अक्सिजन भर्न जाने ग्यास उद्योगहरुमा पालो कुर्नुपर्ने बाध्यता छ । हामीले अक्सिजन ल्याउने कम्पनीले एक घण्टामा ३९ सिलिण्डरमात्र भर्दो रहेछ । मध्यपुरठिमी, पाटन र अरु–अरु अस्पतालका पनि अक्सिजन सिलिण्डर भर्न त्यहीँ आउँदा रहेछन् । केही कारणले अक्सिजन भर्न र ढुवानी गर्न ढिलो भयो समस्या नै आउने देखिन्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिने मेकानिजम बनाउनुपर्ने देखियो । तर पनि जसोतसो, हतारहतारमा भए पनि सरकारबाट सहयोग पाइनै राखेका छौं ।

सिलिण्डरमामात्र भर पर्न नसकिने ठानेर हामीले एयरबेस अक्सिजन प्लान्ट स्थापना गर्दैछौं । यस्तो प्लान्ट काठमाडौं उपत्यकामा भित्रिएको पहिलो पटक हो । चीनबाट सबै उपकरण आइसकेका छन् । त्यसलाई जडानको काम भइरहेको छ । सायद तीन दिनभित्र त्यो काम सकिएर प्रयोगमा आउँछ ।

अक्सिजन पाइपहरु जडान भएका ठाउँमा यसबाट अक्सिजन सप्लाइ गर्न सकिन्छ । जहाँ पाइप पुगेको छैन, त्यहाँ अक्सिजन सिलिण्डर राखेर बिरामीको उपचार गर्न सकिन्छ ।

(अनलाइनखबरकर्मी विनोद घिमिरेसँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस अक्सिजन खोज्दै मध्यरातमा सिडिओ कार्यालयमा हारगुहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment