Comments Add Comment

कोरोनाबाट बच्ने अन्तिम उपाय र अवसर !

आज एक जना हितैषी मित्र योगराज कँडेलले सामाजिक सञ्जालमा निकै गम्भीर विषय पोस्ट गरेको देख्न पुगें ।

‘अहिलेको समय मानव जातिका लागि कठिन परीक्षाको घडी हो । अस्पतालहरूमा बेड भरिभराउ छन्, अक्सिजनको चर्को अभाव छ भ्याक्सिनको ठेगान छैन, एकै दिन मृत्यु संख्या १३९ बाट २२५ पुगेको छ । त्यसकारण साथीहरू यसपालि विनम्र अनुरोध हेल्चेक्र्याइँ नगरौं । रोकथाम नै उत्तम उपाय हो ।

जसलाई कोभिडले ग्रस्त गरेको छ उसलाई वा उसको परिवारलाई सोध्नुस् यसको वास्तविक पीडाका बारेमा, धन भएर समेत ज्यान जोगाउन गाह्रो परेको दर्दनाक अवस्था दैनिक रूपमा देखिरहेका र अनुभव गरिराखेका छौं । आज हेलिकप्टर, अस्पताल, अक्सिजन, रगत, अक्सिमिटर, दवाई, गाडी पास आदिको सहयोगका लागि अनुनय–विनय सहितका १३१ वटा फोन कल प्राप्त गरेको छु । परिस्थिति तपार्इं हामीले सोचेभन्दा धेरै गहिरो छ । तसर्थ भेटघाट बन्द गरौं, खानपिन, योगामा ध्यान दिऔं ।

सरकारले थप गरेको लकडाउनको समयमा लकडाउनको पूर्ण अनुशासनका साथ पालना गरौं । अवस्था यस्तो भइरहेको छ । साथीहरू चाहेर पनि सहयोग गर्न सकिएको छैन किनकि सबै आफ्ना हातमा छैन । साथीभाइलाई सहयोग माग्ने सिवाय तर उहाँहरू पनि विवश हुनुहुन्छ । कृपया अरूका लागि नभई आफ्नै लागि याचना सहित लकडाउनको पूर्ण पालना गर्नका लागि विनम्र अनुरोध गर्दछु ।’

स्वयं पंक्तिकार कोरोनासँग लडिरहेको अवस्थामा देश–विदेशबाट धेरै शुभचिन्तकले फोन गरेर ‘नयाँ जीवन प्राप्त गर्नुभएकोमा बधाई छ । तपाईं त बच्नुभयो हामी धेरै खुशी छौं । मेरो फलानो आफन्तलाई अस्पतालमा बेड मिलाइदिनुपर्‍यो, अक्सिजन मिलाइदिनुपर्‍यो, हेलिकप्टर चाहियो’ जस्ता सयौं फोन दिनहुँ आइरहेका छन् । आफैं थलिएर तंग्रिन नपाउँदै सहयोगको याचना सहितका फोनहरूले मन विक्षिप्त बनाएको छ ।

आफूले कोशिस गर्दा कसै कसैलाई त सहयोग पुग्यो होला तर सहयोगको अपेक्षा राख्ने जति सबैलाई सहयोग गर्न सकिने परिस्थिति नै छैन अहिले । अस्पतालहरूले अक्सिजनको अभावले नयाँ बिरामी भर्ना लिन नसकिने सूचनाहरू सार्वजनिक गर्न थालेका छन् । संक्रमित संख्या दिनानुदिन बढिरहेको अवस्था छ ।

यस्तो विषम परिस्थितिको सामना गर्न आम नागरिक बाध्य भएको अवस्था छ । कोभिड–१९ को संक्रमण नभएको कसैलाई पनि यो निकै सामान्य लाग्न सक्छ तर कोरोनाको वास्तविक पीडा त संक्रमितलाई मात्र अनुभूत हुने कुरा हो । स्वयं पंक्तिकार कोरोनासँग लडिरहेको आज २२ दिन भन्दा बढी भइसक्यो तर रिपोर्ट अझै पोजेटिभ नै छ । सहज तरिकाले हिंडडुल गर्न गाह्रो हुन्छ । श्वास बढ्छ । थकाइ लाग्छ । अक्सिजनको मात्रा कम हुन जान्छ । प्रत्येक संक्रमितलाई फरक फरक समस्या हुन सक्छन् ।

कोभिड संक्रमितमा आत्मविश्वास र धैर्य बलियो हुनुपर्छ । कोरोना लागेपछि मरिहालिन्छ कि भन्ने डर मनबाट निकाल्न जरूरी छ । यदि स्वयं पंक्तिकारले आफ्नो मनोबल कमजोर बनाएको भए कोरोनासँग विजय प्राप्त गर्न सम्भव नै थिएन । अझै पनि कोरोनाभाइरसबाट मुक्त हुन नसकेको भएतापनि अब कोरोनाले मेरो ज्यान लैजान सक्दैन भन्ने कुरामा म पूर्ण विश्वस्त भइसकेको छु । कोरोनाले आक्रमण गरिसकेको अवस्थामा अरू बेला भन्दा खानपानमा विशेष ध्यान पुर्‍याउनै पर्छ । सुत्केरी महिलाको खानपानका बारेमा अधिकांश नागरिकलाई राम्रो जानकारी छ । कोरोना लागिसकेपछि सुत्केरीले खाएसरी खाना खान आवश्यक छ । खानाले नै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हो ।

समयमा सजगता अपनाउन सकेदेखि कोरोनाले मानव शरीरमा प्रवेश नै गर्न पाउँदैन । आफ्नो शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उपाय आम नागरिकले अवलम्बन गर्न जरूरी छ । सन्तुलित आहारविहार नै रोग प्रतिरोधात्मक क्षमता वृद्धिको उपयुक्त विकल्प हो । हुन त हाम्रो जस्तो मुलुकमा हुनेखानेहरू भन्दा हँुदा खानेहरूको बाहुल्य छ । हँुदा खानेहरूको लागि सन्तुलित आहारविहारको कुरा गरिरहँदा सरकारप्रति आक्रोश पैदा हुन्छ । विपन्न जनताको जीवनस्तरसँग जोडिएको गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा जस्ता न्यूनतम आधारभूत आवश्यकताप्रति समेत संवेदनशील बन्न नसकेको सरकारले कोरोना महामारीमा जनतालाई मल्हमपट्टी लगाउला भनेर आशा गर्ने कुनै ठाउँ नै छैन ।

नागरिकलाई घरभित्र थुन्न सक्नु नै आफ्नो उपलब्धि ठान्छ यो सरकार । ज्याला मजदूरी गरेर जीविकोपार्जन गरिरहेका नागरिकहरू भोकभोकै मर्ने अवस्था सृजना हुन थालिसकेको छ । मृत्यु त मृत्यु नै हो नि ! कोरोनाको कारणले मृत्यु होस् वा भोकमरीको कारणले । लकडाउन कडा गर्ने नाममा पुलिस प्रशासनले पनि मानवीय संवेदनालाई ख्याल गरेको पाइँदैन । कोरोना नियन्त्रणका लागि भीडभाड नियन्त्रण गर्नु राम्रो पक्ष हो तर औषधि उपचारका लागि अस्पताल होस् वा क्लिनिकतर्फ गइरहेका नागरिकलाई समेत अनावश्यक दुःख दिने काम चेकिङको नाममा सडकमा बसेका पुलिसबाट भइरहेको छ ।

स्वयं पंक्तिकार डाक्टरको फलोअपका लागि पेप्सीकोलाबाट मेडिसिटी अस्पताल भैंसेपाटी जाने क्रममा एक घण्टासम्म अनावश्यक तरिकाले बालकुमारी पुलमाथि रोकिएर बस्नुपर्‍यो । डाक्टरले बोलाएको समयमा अस्पताल पुग्न नसक्दा फेरि भोलिपल्ट पुनः अस्पताल जान बाध्य हुनु परेको थियो । साथमा अस्पतालका कागजपत्रहरू छन्, स्वयं बिरामी गाडीभित्र हुँदा समेत जिल्ला प्रशासनले जारी गरेको पास नदेखाई जान नपाइने भनेर बिरामीलाई बाटोमा रोकिराख्नु कहाँसम्मको मानवीय व्यवहार हो ?

यो त स्वयं पंक्तिकारले भोगेको एउटा प्रतिनिधि घटना मात्र हो । लकडाउनको पूर्ण परिपालना गर्नु र गराउनु आम नागरिकको कर्तव्य र जिम्मेवारी पनि हो तर मानवीय संवेदनालाई पुलिस प्रशासनले पनि बुझ्न जरूरी छ । जरूरी कामविशेषले मास्क लगाएर एक्लै पैदल यात्रामा हिंडिरहेको यात्रुलाई किन रोक्नुपर्‍यो ? औषधि उपचारका लागि आफ्नो निजी सवारी साधन प्रयोग गरेर अस्पतालतर्फ गइरहेका यात्रुलाई बाटोमा रोकेर किन अलपत्र पार्ने ? के राज्यको कर्तव्य यही हो र ?

नागरिक स्वयं सचेत नहुँदासम्म मुलुकलाई जतिसुकै बन्दाबन्दीमा राखे पनि कोरोना नियन्त्रण हुन निकै कठिन छ । आफूलाई कोरोना संक्रमण भइसकेपछि अरूलाई नसरोस् भनेर संक्रमितले नै सजगता अपनाउन जरूरी छ । घरपरिवार र समाजको संक्रमितप्रति हेर्ने नकारात्मक दृष्टिकोणकै कारण अधिकांश संक्रमितहरूले आफू संक्रमित भएको कुरा लुकाउने गरेको देखिन्छ ।

यस्तो अवस्थामा अर्को व्यक्तिमा सजिलैसँग कोरोना सरिरहेको अवस्था छ । संक्रमित व्यक्ति किनमेलका लागि पसल जाने, अरूको बेवास्ता गर्ने, आफू संक्रमित भएको जानकारी नगराउने गरेकै कारण समाजमा कोरोना तीव्र रूपमा फैलिएको छ । कोरोनासँग खेलबाड नगरौं । एक पटक कोरोना लागिसकेपछि पुनः सर्दैन भन्ने भ्रममा कोही नपरौं ।

कोरोना फैलनबाट रोक्न गत वर्ष जस्तै अहिले पनि मुलुकलाई बन्दाबन्दीमा राखिएको छ । कोभिड–१९ संक्रमितको संख्या लेख्नु अब अर्थहीन भइसकेको छ । योे लेख लेख्दालेख्दै छिमेकी मुलुक भारतमा हजारौंको संख्यामा संक्रमित हुने र सयौंले ज्यान गुमाउने अवस्था पैदा भएको छ । नेपालमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दैछ ।

कोरोना संक्रमणको भयमै बसिरहनु पर्दा मानसिक रोगले ग्रसित हुनेहरूको संख्या दिनहुँ बढिरहेको सहजै अनुमान गर्न सकिन्छ । अधिकांशलाई एकातिर कोरोनाभाइरसको संक्रमणको भयले शिथिल बनाएको छ भने अर्कोतिर सबै आर्थिक गतिविधि ठप्प हुँदा जीविकोपार्जन लगायत भविष्यमा आउनसक्ने आर्थिक संकटले पिरेको छ ।

भोकमरीका कारण ज्यान गुमाउनुपर्ने अवस्था उत्पन्न हुने जोखिम उत्तिकै छ । त्यसैले जनसाधारणलाई आफ्नो सुरक्षा आफैंले गर्ने गरी सामान्य जनजीवनतर्फ फर्काउने सुरक्षित योजना तर्जुमा गर्न सरकारले ढिला गर्नुहुँदैन ।

कतिपय वित्तीय संस्थाले ई–बैंकिङ सेवालाई प्राथमिकतामा राखेर काम गर्दैछन् । यसै समयलाई सदुपयोग गर्दै हरेक नेपालीको बैंक खाता हुनुपर्ने र सबै कारोबार बैंकमार्फत गर्नुपर्ने नीति बनाएर स्थानीय तहको सहयोग र सहजीकरणमा कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ । यसतर्फ सरकारको ध्यान पुग्नु जरूरी छ । सबै नागरिकले बैंकमार्फत कारोबार गर्ने परिपाटी थालनी गर्न सके भ्रष्टाचार नियन्त्रणमा पनि मद्दत पुग्नेछ । कर छली निरुत्साहित हुनेछ भने राजस्व संकलनमा वृद्धि हुन सक्छ ।

कोरोनाभाइरस नियन्त्रण अन्योलमा रहँदै गर्दा यसको असर प्रत्यक्ष रूपमा विद्यार्थीमा परिसकेको छ । सबै विद्यार्थीको भविष्य अन्योलग्रस्त बनेको छ । यस अवस्थालाई अन्त्य गर्न सरकारले तत्काल परिणाममुखी कार्यक्रम कार्यान्वयन गर्न जरूरी छ ।

अब सरकारले प्रत्येक विद्यार्थीको हातमा एउटा कम्प्युटर र इन्टरनेट सुविधामा पहुँचको प्रबन्ध मिलाउन सक्नुपर्छ । हरेक शिक्षकलाई इन्टरनेट प्रयोगको प्राविधिक ज्ञान दिएर विद्यार्थीसम्म पुर्‍याउने योजना अगाडि बढाउनुपर्छ । यसो गर्न सके सहजरूपमा अनलाइन क्लास सञ्चालन गर्न सम्भव छ ।

अहिले अनलाइन किनमेलको प्रयोग पनि बढ्न थालेको छ । अनलाइन कारोबारलाई नीतिगत रूपमै नियमन गरेर सबै बजार र स्थानीय तहसम्म पुर्‍याउनुपर्छ । अब सधैं गाउँका बासिन्दा अशिक्षित छन्, जान्दैनन्, सक्दैनन् भनेर पन्छिन मिल्दैन । अनुभव र आवश्यकताले मानिसलाई पोख्त बनाउँछ । आजभोलि सामान्य साक्षरले पनि अत्याधुनिक मोबाइल एप्लिकेसनहरू प्रयोग गरेको देखिन्छ ।

बन्दाबन्दी खुलाइए पनि कोरोना संक्रमणको जोखिमप्रति सबै नागरिक सचेत हुनु जरूरी छ । भौतिक दूरी कायमै राख्नुपर्छ । राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका गतिविधि अनलाइन सञ्चालन गर्नुपर्छ । राजनीतिक दलका अधिवेशन लगायत विभिन्न चुनाव मोबाइल भोटिङ मार्फत सम्पन्न गर्न सकिने प्रविधिको विकास गरी सोही अनुसार कार्यान्वयन गर्न दलहरू लाग्नुपर्छ । टेलिभिजनमा प्रसारित हुने विभिन्न रियालिटी शोहरूमा मोबाइल तथा इन्टरनेट भोटिङ सम्भव भइरहेको छ भने अन्य मतदान किन नहुने ?

राष्ट्रिय/अन्तर्राष्ट्रिय हवाई यात्रा गर्न चाहने यात्रुहरूलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नीति बनाएर सुरक्षित तरिकाले नियमित उडानहरू संचालन गर्न ढिलाइ गर्नुहुँदैन । गत वर्ष जस्तै चौतर्फी मुलुकलाई बन्दाबन्दीमा राखियो भने मुलुकमा आर्थिक संकट आइलाग्नेछ ।

ठूला होटल तथा पर्यटन व्यवसायीलाई कृषि उद्योग तथा कृषि पर्यटन विकासतर्फ आकर्षित गराउने किसिमका कार्यक्रम अगाडि बढाउन जरूरी छ । कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ प्रेरित गर्दै उत्पादनको निःशुल्क बीमा र बजारको सुनिश्चितता राज्यले गर्न सक्नुपर्छ ।

व्यावसायिक कृषि उत्पादन र औषधिजन्य जडीबुटीको निर्यातमुखी योजना सरकारको पहिलो प्राथमिकतामा रहनुपर्छ । आफ्नो गाउँघरका जमीन बाँझो राखेर शहरबजारमा डेरा गरी साना किराना पसल लगायत अन्य मजदूरी गरेर जीविकोपार्जन गरिरहेको समुदायलाई गाउँ फर्किएर व्यावसायिक कृषि उत्पादनमा प्रेरित हुने नीतिगत सुविधाको व्यवस्था गर्न जरूरी छ ।

गाउँगाउँसम्म एफएम रेडियोको पहुँच पुगिसकेको छ । केही अपवाद छोडेर देशका अधिकांश ठाउँमा टेलिभिजन पनि हेर्न सकिने अवस्था छ । प्रत्येक विपन्न परिवारको रेडियो र टेलिभिजनको पहुँच स्थापित गर्न स्थानीय तहले सहयोग गर्नुपर्छ । रेडियो र टेलिभिजनबाट अधिकांश कृषि शिक्षा, कृषि उद्योग, घरेलु व्यवसाय लगायत आत्मनिर्भर तथा व्यवसायमुखी कार्यक्रमहरू प्रसारण गर्न सबै संचारमाध्यमलाई सरकारले नीतिगत रूपमै परिचालन र सहयोग गर्नुपर्छ ।

कृषि उत्पादनमा आधारित साना, मझौला तथा ठूला कृषि उद्योग सञ्चालनमा ल्याउन सरकारले नीतिगत योजना नै तर्जुमा गर्न जरूरी छ । कक्षा १ देखि नै कृषि विषयलाई अनिवार्य गर्नुपर्छ । व्यावसायिक शिक्षाले नै आर्थिक समृद्धि सम्भव छ ।

उपर्युक्त योजनाहरू कार्यान्वयन गर्न अब त सरकार गम्भीर हुनुपर्ने हो । आगामी वार्षिक नीति र कार्यक्रम सोही अनुसार आउन जरूरी देखिन्छ । कृषि, निजी क्षेत्र र गरिखाने वर्ग लक्षित कार्यक्रम अहिलेको आवश्यकता हो ।

कोरोना संक्रमणको भयलाई शक्तिमा बदल्दै जनजीवनलाई सहज बनाउने काम गर्न सरकारले ढिला गर्नुहुँदैन । मुलुकलाई बन्दाबन्दीमा सीमित राखेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नेतर्फ मात्र ध्यान दिनुभन्दा भयभित्र अवसरको खोजी गरी सोही अनुसार कार्यक्रम अगाडि बढाउनेतर्फ सरकारको ध्यान पुगोस् । सबै राजनीतिक दल लगायत नागरिक समाज यस अभियानमा सरकारका सहयात्री बन्नुपर्दछ ।

कोरोनाको दोस्रो लहरले आम नागरिकलाई त्रसित अवस्थामा बस्न बाध्य बनाएको यस परिवेशमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमा उपयोगी सामग्री पोस्ट गरेर आम नागरिकलाई सचेत बनाउने प्रयत्न गरेका छन् ।

‘आगामी तीन हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भए पनि यो तीन हप्ता घरभित्र नै बसौं ।

जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दूरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौं । यो तीन हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यस पटकको कोरोनाभाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबै जना कडा सेल्फ लकडाउनमा बसौं ।’

कोरोनाबाट बच्ने अन्तिम उपाय नै नागरिक सचेतता हो । कोरोनाको भयावहलाई अवसरमा बदल्ने गरी आफूमा आत्मविश्वास बलियो बनाऔं । कोरोनाबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment