Comments Add Comment

अस्पताल र उद्योगमा अक्सिजन सिलिन्डर खोसाखोस

३१ वैशाख, काठमाडौं । लोकतान्त्रिक मुलुकमा जनताको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने हो । महामारीमा त झन् जनताको अभिभावक बनेर सरकारले ज्यान जोगाउने उपाय अवलम्बन गर्नुपर्ने हो ।

तर नेपालमा महामारीको दोस्रो लहरको मारमा जनता छन् । राजनीतिक नेपथ्यमा सरकार ढलाउने र बनाउने खेल चलिरहेको छ ।

महामारीमा अक्सिजनको देशव्यापी अभाव भइरहेका बेला सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले तोकेको सिलिण्डरको कोटा झनै झमेला बनेको छ । जेनतेन ‘जुगाड’ले ज्यान जोगाइरहेका जनतालाई सीसीएमसीको ‘लेखापढी’ले अर्को समस्या थपिदिएको हो ।

अक्सिजन अपर्याप्त भएका कारण एकातिर अस्पतालमा बिरामीहरूबीच अक्सिजनको सिलिण्डर खोसाखोस हुन थालेको छ भने अक्सिजन उद्योगहरूमा अस्पताल–अस्पतालका प्रतिनिधिबीच सिलिण्डर हारालुछ हुन थालेको छ ।

तर सरकार ? ‘सरकार रमिते छ’ पीडितहरूको एउटै भनाइ छ ।

बिहीबार अपराह्न बालाजुमा रहेको शंकर अक्सिजनबाट आउनुपर्ने १०० सिलिण्डर अक्सिजन समयमा अस्पताल नआइपुगेपछि ट्रमा सेन्टरमा हाहाकार मच्चियो । अभाव पूरा गर्न ट्रमा सेन्टरमा नेपाल आर्मी अस्पताल छाउनीबाट ७० वटा अक्सिजनसहितको सिलिण्डर खरीद गरेको ट्रमा सेन्टरका अधिकारीहरूले बताए । साथै, १० वटा सिलिण्डर नेपाल आविष्कार केन्द्रबाट ल्याएर जोहो गरियो ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उद्योगमा सम्पर्क गर्दा प्रहरीका अधिकारीहरूले ट्रमा सेन्टरमा लैजान तयार पारेको अक्सिजन सिलिण्डर उठाएर लगेको भन्दै सामाजिक सञ्जालमा दुःखेसो पोखेपछि यो विषय गृहसचिव महेश्वर न्यौपानेसम्म पुग्यो ।

सचिव न्यौपानेले अनलाइनखबरसँग भने, ‘ट्रमा सेन्टरका निर्देशकको गुनासो सुनेपछि मैले त्यो घटनाबारे बुझेको थिएँ । व्यक्तिगत प्रयोजनको लागि नभई प्रहरी अस्पतालमा रहेका बिरामीको लागि अक्सिजन लगिएको रहेछ । यसमा इस्यु बनाउनुपर्ने ठूलो कारण छैन ।’

शंकर अक्सिजन, ट्रमा सेन्टर र नेपाल प्रहरी अस्पताल दुवैको सप्लायर्स हो । अहिले सीसीएमसीको निर्णय अनुसार दुवैले प्रतिदिन २०० सिलिण्डर पाउने गरी कोटा तोकिएको छ । तर यो संख्या पनि एकैपटक नआएर थोरै थोरै गरेर पटकपटक आउने भएकोले व्यवस्थापन गर्न समस्या भएको ट्रमा सेन्टरका निर्देशक पौडेल बताउँछन् ।

सचिव न्यौपाने भने अक्सिजन अभावका कारण जुन अस्पतालबाट अक्सिजन लिन पहिले उद्योगमा पुग्छन्, उसैले पहिले अक्सिजन पाउने अवस्था रहेकोले यो समस्या निम्तिएको बताउँछन् ।

अहिले शंकर अक्सिजनले मात्रै २१ वटा अस्पताललाई दैनिक १ हजार ४२० सिलिण्डर अक्सिजन सप्लाई गर्दै आएको छ । सबैजसो अस्पताललाई खपतको तुलनामा अत्यन्त कम अक्सिजन दिने गरेकोले उद्योगमा अस्पतालबीच नै खोसाखोस हुने गरेको ट्रमाका निर्देशक डा. पौडेल बताउँछन् ।

अस्पतालभित्र बिरामीका आफन्तको खोसाखोस

बुधबार राति ट्रमा सेन्टरको लागि ल्याइएको १०० थान अक्सिजन सिलिण्डरमध्ये १० थान सिलिण्डर बिरामीका कुरुवाले सीधै आईसीयू वार्डतिर लगे ।

सीसीएमसीले तोकेको २०० सिलिण्डरको कोटामध्ये १०० सिलिण्डर अक्सिजन बिहीबार बिहान २ बजे अस्पतालमा झार्ने तयारी भइरहेको थियो । अक्सिजन आउँदैछ भन्ने थाहा पाएका बिरामी कुरुवाहरू पहिले नै सिलिण्डर झार्ने ठाउँमा पुगेर बसिरहेका थिए । अक्सिजन बोकेको गाडी रोकिने बित्तिकै अस्पतालका कर्मचारीभन्दा पहिले पुगेर उनीहरूले एक–एक वटा सिलिण्डर बोकेर आईसीयू वार्डतिर लागेको अस्पतालका चिकित्सक भुवन केसी बताउँछन् ।

बुधबार साँझ नै अक्सिजनको अभाव रहेको कुरा अस्पताल प्रशासनले बिरामी कुरुवालाई भनिसकेको थियो । ‘अस्पतालले बिरामीलाई यो मानेमा भनेको थियो कि बिरामी छिटो निको हुन्छन् भन्ने भ्रमका कारण अनावश्यक मात्रामा हाइफ्लो अक्सिजन दिने गरेको पाइयो’ पौडेलले अनलाइनखबरसँग भने, ‘त्यसरी अनावश्यक औषधि नचलाउने हो भने मात्रै पनि अभाव रहेको ४० प्रतिशत अक्सिजन बचाउन सकिन्छ भनेर हामीले यसबारेमा सचेतना जगाउँदै हिंडेका हौं ।’

चिकित्सक केसी भन्छन्, ‘बल प्रयोग गरेर उहाँहरूसँग सिलिण्डर खोस्न सकिन्थ्यो । तर आफ्नो आफन्त बचाउनको लागि एक सिलिण्डर अक्सिजनको लागि गरिएको अनुनय हार्न सकिएन ।’ उनीहरूमध्ये १० जनाले अक्सिजन लगेर आईसीयूमा आफूसँग स्टक गरेर राखे ।

त्यही दिन अर्काे रोचक घटना पनि ट्रमा सेन्टरमा देखियो । बुधबार साँझ अस्पताल प्रशासनले अक्सिजनको अभावको सूचना दिएको भोलिपल्ट करीब आधा दर्जन बिरामी कुरुवाले आफ्नै पहलमा घरबाट अक्सिजनको सिलिण्डर लिएर आए ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेल भन्छन्, ‘अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेको बिरामीले त घरघरमा जगेडा अक्सिजन सिलिण्डर राख्ने गरेको पनि पाइयो ।’ उनी अक्सिजन सिलिण्डर घरमा स्टक राख्नुभन्दा अस्पताललाई दिएर अरूको ज्यान बचाउन सहयोग गर्न आग्रह गर्छन् ।

ट्रमा सेन्टरमा अहिले अक्सिजन सपोर्ट चाहिने १०५ जना बिरामीहरू छन् । तीमध्ये ९ जना आईसीयूमा छन् । अहिलेको अवस्थामा अस्पतालमा एक घण्टामा २० वटा सिलिण्डर खपत हुन्छ ।

सप्लायर्सले एक पटकमा २० वटाको दरमा मात्रै दिने गर्छ । एकपटकमा सप्लायर्सले दिएको अक्सिजन एक घण्टामै खपत हुने र फेरि अक्सिजन खोज्न भागदौड शुरु हुने गरेको अस्पतालका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment