Comments Add Comment

गोरखामा संक्रमितको उपचार गर्दैनन् निजी अस्पताल

३१ वैशाख, गोरखा । कोरोना भाइरसको दोस्रो लहरमा गोरखामा संक्रमितको संख्या अत्यधिक थपिए पनि उपचारमा समस्या देखिएको छ ।

जिल्ला सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय पुगेको छ र उनीहरु अधिकांश होम आइसोलेसनमा छन् । यदि संक्रमितमा गम्भीर समस्या देखिएर अस्पताल आउनुपरेमा धेरै अस्पताल उपचारका लागि तयार छैनन् ।

सदरमुकामको गोरखा अस्पताललगायतका एकाध अस्पतालले मात्र अक्सिजनसहित उपचार गर्न सक्ने अवस्थामा छन् । आधा दर्जन भन्दा बढी संख्यामा रहेका निजी अस्पताल कोरोना संक्रमित उपचार गर्न नसक्ने भनी बसेका छन् ।

जिल्लाका कुनै पनि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने आइसोलेसन वार्ड छैन । आइसोलेसन निर्माणमा उनीहरुले चासो पनि दिएका छैनन् । उनीहरुले अक्सिजन, पीपीई सेटलगायतका सामग्री नै आफूहरुसँग नभएको बताउँछन् ।

१५ बेड क्षमताको आमा बा अस्पतालमा संक्रमित उपचार गर्न नसक्ने सञ्चालक डा. सन्दीप गोर्खाली बताउँछन् । अस्पतालमा १४ वटा मात्र अक्सिजन सिलिन्डर रहेको भन्दै उनले संक्रमित उपचार गर्न आए अक्सिजनकै कारण नसकिने बताउँछन् ।

‘अहिलेको संक्रमित अक्सिजन लेभल घटेपछि मात्र अस्पताल आउने हो, हामीसँग पर्याप्त मात्रामा अक्सिजन पनि छैन, फेरि संक्रमितको उपचारका लागि पीपीई सेट चाहियो, एउटै सेटको पाँच देखि सात हजारसम्म पर्छ, संक्रमितले त्यो पैसा तिर्न पनि सक्दैनन्, अनि कसरी उपचार गर्ने,’ उनले भने । संक्रमित बिरामी आए अन्यत्र रिफर गर्ने डा. श्रेष्ठ बताउँछन् ।

सदरमुकामकै १५ बेड क्षमताको एपोलो हस्पिटलले पनि संक्रमितको उपचारको तयारी गरेको छैन । यसका सञ्चालक डा. सन्तोष मास्के पनि संक्रमित बिरामी आएमा रिफर गर्ने बताउँछन् ।

सातवटा अक्सिजन सिलिण्डर रहेको भन्दै उनले भने, ‘आईसीयू पनि छैन, फेरि अक्सिजन पनि पर्याप्त छैन, त्यसैले संक्रमितलाई उपचार गराउन गाह्रो छ ।’ स्रोत, साधन र जनशक्तिका कारण अरु बिरामी र कोरोना संक्रमितलाई एकै पटक उपचार दिन नसक्ने मास्केले बताए ।

गोरखा नगरपालिका छेपेटारस्थित २५ शय्याको पृथ्वी नारायण सामुदायिक अस्पतालले पनि कोरोना संक्रमितको उपचार नगर्ने बताएको छ । आइसोलेसन निर्माण नभएको र संक्रमित बिरामी आए रिफर गर्ने अस्पताल सञ्चालकमध्येका एक प्रदीप कुँवरले बताए ।

भीमसेन थापा गाउँपालिका घ्याम्पेशालमा रहेको १५ बेडको मनासलु अस्पताल र गोरखा नगरपालिका छेवेटारमा रहेको १५ बेडको गोरखा मेमोरियल अस्पतालमा अक्सिजन ग्यासको सिलिण्डर समेत छैन । यी अस्पताल सञ्चालक पनि ज्वरोका बिरामी आए रिफर गर्ने बताउँछन् ।

गोरखामा कोरोना संक्रमितको उपचारका लागि सदरमुकामको गोरखा अस्पतालमा १४ वेडको आइसोलेसन छ । विभिन्न स्थानीय तहमा गरी ५७ बेड आइसोलेसन तयार रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । तर स्थानीय तहका स्वास्थ्य संस्था अक्सिजन आवश्यक पर्ने बिरामी उपचार गर्न नसक्ने अवस्थामा छन् ।

नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी महामारीका बेलामा अस्पतालहरुले सेवा भाव देखाउनुपर्ने बताउँछन् । ‘यो महामारीको बेला शुद्ध व्यवसायिक हिसाबले मात्र नसोची निजी अस्पताल सञ्चालकमा सेवा भाव पनि देखिनुपथ्र्याे, तर त्यो देखिएन’ उनले भने ।

नेपाल बार एसोसिएसन गोरखाका अध्यक्ष यादव शर्मा संक्रमितको उपचारका लागि सरकारी र निजी दुबै स्वास्थ्य संस्था गम्भीर नभएको बताउँछन् । उपलब्ध स्रोत साधन र जनशक्ति प्रयोग गरेर संक्रमितको उपचार गर्न अघि सर्नुपर्नेमा निजी अस्पतालले बेवास्ता गरेको उनले बताए ।

‘सजिलो भएको बेला कमाउन तत्पर हुने, जब क्रिटिकल अवस्था आउँछ अनि कमाउने अवस्था भएन भनेर उपचार छैन, गर्न सक्दैनौ भनेर निजी अस्पताल भाग्ने गरिरहेका छन्, यो जनताको बाँच्न पाउने अधिकारप्रति गरिएको लापरवाही हो’ उनले भने ।

यो पनि पढ्नुहोस गोरखामा तीव्र गतिमा फैलिँदै कोरोना, छैन उपचार गर्ने ठाउँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment