Comments Add Comment

मानव अधिकार आयोगले भन्यो : अस्पतालमा अक्सिजनसहितको शय्या थप गर

३१ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीमा बिरामीको उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी गम्भीर बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अक्सिजनसहितका थप शय्याको व्यवस्था गर्न, अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउन ध्यानाकर्षण गराएको हो ।

त्यस्तै कोरोना खोपको तत्काल व्यवस्था गर्न, भेन्टिलेटर, सघन उपचार कक्ष (आईसीयू) लगायत मेडिकल सामग्री, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुको सहज आपूर्ति गर्न पनि आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकालेर अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोबल उच्च राख्न, श्रमिक तथा ज्याला मजदुरी गर्ने वर्गको जीविकोपार्जन कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।

आयोगले अक्सिजनको अभावमा गत बुधबार मात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र विहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको सञ्चार अनुगमनबाट पाइएको बताएको छ ।

महामारी शुरु भएको एक वर्ष बितिसक्दा समेत अक्सिजन आपूर्ति बढाउन नेपाल सरकारबाट सार्थक पहल नहुँदा आम नागरिकले अक्सिजनको अभावमा जीवन गुमाउन बाध्य भएको आयोगले उल्लेख गरेको छ ।

त्यस्तै औषधि आपूर्तिको अभावमा कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा रोकिएको, भेन्टिलेटर, सघन उपचार कक्ष (आईसीयू), संक्रमितलाई आवश्यक पर्ने औषधि रेम्डिसिभर लगायत मेडिकल सामग्रीहरुको अभाव हुँदै गएको र महंगो मूल्य तिर्नुपरेको पनि आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment