+
+
Shares

ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउने समय घर्किँदै

खोप आउने कि नआउने अन्योल

नुनुता राई नुनुता राई
२०७८ जेठ २ गते १५:०१

२९ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो डोज (मात्रा) खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज समयमै पाउनेमा आशंका बढेको छ ।

गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर ज्येष्ठ नागरिकका लागि खोप अभियान सुरु भएको थियो । यो अभियानमा हिमाली जिल्लाको ५५ वर्ष भन्दा माथिकालाई र बाँकी जिल्लाका ६५ वर्ष भन्दा माथिकालाई लगाइएको थियो ।

त्यसबेला पहिलो डोज लगाएकाहरुको दोस्रो डोज लगाउन समय घर्किन थालेको छ । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले १२ हप्ता भन्दा पछि लगाउँदा प्रभावकारिता कम नहुने भएपनि त्यस अवधिभित्र लगाउने प्रयास गरिएको बताए । तर २३ फागुनमा पहिलो डोज खोप लगाएको यो साता १२ हप्ता पनि पुगेको छ ।

ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो । तर उक्त खोप पहिलो डोज लगाएका सबै ज्येष्ठ नागरिकका लागि अपुग हुने भएकाले दोस्रो डोज लगाउने बेला हुँदासम्म सरकार चुपचाप बसेको छ ।

महाशाखाका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज अहिलेसम्म १८ लाख २३ हजार ६६३ जनाले लगाएका थिए । तर दोस्रो मात्रा भने तीन लाख ६९ हजार ४४९ जनाले लगाएका छन् ।

भारत सरकारले अनुदानमा दिएको १० लाख, नेपाल सरकारले किनेको २० लाखमध्ये १० लाख डोज र कोभ्याक्स कार्यक्रममार्फत प्राप्त ३ लाख डोज खोपको भरमा नेपालमा खोप अभियान चलाइएको थियो ।

कोभिशिल्ड खोप पहिले स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनर, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजामती कर्मचारी र ज्येष्ठ नागरिकले लगाएका थिए । यीमध्ये दोस्रो डोज लगाउन नपाउनेमा ज्येष्ठ नागरिक बढी छन् ।

‘हामीसँग पहिलो मात्रा लगाएकालाई पुग्ने दोस्रो मात्रा छैन । अब आउन बाँकी भएको खोप आएपछि मात्रै दोस्रो मात्रा लगाउन सकिने अवस्था छ’ खोप महाशाखा प्रमुख डा.गौतमले भने ‘सक्दो छिटो ल्याउने प्रयास गरिरहेका छौं ।’

नेपालले रकम भुक्तानी गरिसकेको तर ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड कहिले आउने भन्ने अझै निश्चित भएको छैन । बाँकी रहेको खोप पठाउनको लागि निरन्तर अनुरोध गरिरहेको स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन महाशाखा प्रमुख डा.भीमसिंह तिन्करीको भनाइ छ ।

उनले भने ‘खोपको माग अत्यधिक भएकोले हामीले पाउन सकेका छैनौं । हामीले पटक पटक फलोअप गरिरहेका छौं ।’

फलोअपको क्रममा कम्पनीले नेपाललाई प्राथमिकता दिने बताउँदै आएको उनले बताए । ‘हामीले हाम्रो तर्फबाट कोशिस गरिरहेका छौं । तर सबै हाम्रै लेभलबाट हुँदैन । परराष्ट्र मन्त्रालय, इन्डियन एम्बेसीबाट गर्नुपर्ने अवस्था देखिँदैछ’ उनले भने ।

चिनियाँ खोप लगाउनेले दोस्रो डोज पाउने

त्यस्तै चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसल खोपको पहिलो डोज दुई लाख ८८ हजार ३५६ जनालाई दिइएको छ । निषेधाज्ञाका कारण खोप अभियान बीचैमा स्थगित गरिएको थियो ।

जेठ २ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज पनि दिन थालिएको छ । भेरोसेल खोप भने पहिलो डोज लगाउने सबैलाई दोस्रो डोज पनि लगाउन पुग्नेछ ।

भेरोसेलको दोस्रो मात्राको खोप अभियान काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोक ६ जिल्लामा लगाउने तयारी रहेको छ ।

सम्बन्धित स्वास्थ्य कार्यालयले तोकेको खोप केन्द्र र समयतालिका अनुसार आफुलाई पायक पर्ने स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोप लगाउन जान सकिने खोप महाशाखा प्रमुख डा.गौतमले जानकारी दिए ।

कहिले आउला रुसी खोप ?

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खोपको माग पनि अत्यधिक बढिरहेको छ । नेपालमा रुसी खोप स्पुतनिक भी प्रयोगको अनुमति पाएपछि कसरी किन्ने भन्ने छलफल भइरहेको स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. तिंकरीले बताए ।

भारतीय खोप कोभिसिल्ड भन्दा दुई गुणा भन्दा बढी महंगो रहेको स्पुतनिक भी किन्नको लागि व्यवहारिक समस्याको कारण राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार खरिद गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार रुसी कम्पनीले रुस सरकारले गर्ने आर्थिक सहयोगमा खोप किन्दा लाग्ने रकम कटाउने गरी खोप उपलब्ध गराउने प्रस्ताव आएको छ । यसबारेमा मन्त्रालयस्तरीय निर्णय हुन सकेको छैन ।

उच्च स्तरीय तहबाट खोप किन्नका लागि पहल भइरहे पनि कहिले कहाँबाट र कति खोप आउँछ भन्न सकिने अवस्था नभएको परिवार कल्याण महाशाखाका प्रमुख डा.तारानाथ पोख्रेलले बताए ।

लेखक
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?