Comments Add Comment

अक्टोबरअघि भारतले खोप निर्यात गर्न नसक्ने

४ जेठ, काठमाडौ । भारतले आगामी अक्टोबरसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायम रहन सक्ने सम्भावना देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले सरकारी स्रोतलाई उल्लेख गर्दै  यसअघि अपेक्षा गरिएभन्दा लामो समयसम्म भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउने तयारी भएको बताएको छ । यसले विश्वका सबै मुलुकमा खोपको पहुँच समानरुपमा पुर्‍याउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रमबाट हुने आपूर्तिमा थप असर पर्न सक्ने देखिएको छ भने भारतीय खोपको आशा गरिरहेका छिमेकी मुलुकहरु बंगलादेश, नेपाल र श्रीलंका जस्ता मुलुकले पनि खोप पाउने मिति धकेलिदै जाने भएको छ ।

कोरोनाको संक्रमण मुलुकभर बढेसँगै भारतले एक महिनाअघि कोरोना खोप निर्यातमा रोक लगाएको थियो । त्यतिबेलासम्म भारतले अनुदान वा बिक्रीमार्फत् ६ करोड ६० लाख डोज खोप निर्यात गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार भारत बाहिरका खोप उत्पादकहरुलाई आपूर्ति बढाउन आग्रह गरेको थियो ।

भारतमा कोरोना संक्रमण कुन दिशातर्फ जान्छ भन्ने कुरामा खोप निर्यातमा फुकुवाको निर्णय निर्भर रहेको सरकारी स्रोतले बताएको छ । यो निर्णयको विषयमा भारतको विदेशमन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।

हामीले सवै देशलाई औपचारिक रुपमा भनिरहनु पर्दैन’ एक सरकारी अधिकारीले द इकोनोमिक टाइम्ससँग भने– हामीले आन्तरिक रुपमा छलफल गरिसकेको छौं र केही देशहरुलाई खोपको प्रतिक्षा नगर्नु भनेर भनिपनि सकेका छौं ।’

अर्का एक अधिकारीका अनुसार भारत कति छिटो कोरोनाको दोस्रो वेभबाट मुक्ति पाउन सक्छ, त्यहीअनुसार कोरोना खोप निर्यातको मिति तय हुनसक्छ ।

भारतको सबैभन्दा ठूलो कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युटले अहिले कम्पनीको ध्यान खोप भारतमा नै आपूर्ति गर्नेतर्फ केन्द्रित रहेको बताएको छ । यसअघि कम्पनीले जुन महिनाबाट भारतले कोरोना खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने विश्वास लिएको थियो ।

सेरम इन्स्टिच्युटले मे को अन्तिमसम्ममा दिनुपर्नेमध्ये १४ करोड डोज खोप भारतमा अड्किएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment