Comments Add Comment

फेसबुकका उपाध्यक्षले किन दिए राजीनामा ?

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी (एआर तथा भिआर) को क्षेत्रमा समेत आफ्नो उपस्थिति मजबुत बनाउँदैछ । यही वर्ष स्मार्ट चश्मा बजारमा ल्याउने गरी फेसबुकले काम गरिरहेको छ । तर स्मार्ट चश्मा सार्वजनिक हुनु अगावै फेसबुकको सोही विभाग हेर्ने उपाध्यक्षले राजीनामा दिएका छन् ।

फेसबुकको अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी इकाइ हेर्ने उपाध्यक्ष ह्युगो बार्राले फेसबुक कम्पनी छाड्न लागेको घोषणा गरेका हुन् ।

कुनै समय चिनिया स्मार्टफोन कम्पनी शाओमीको भारतस्थित शाखाको जिम्मेवारी सम्हालेका बार्राले गुगल कम्पनीको एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्ट इकाइमा उपाध्यक्षको रुपमा काम गरेका थिए । चार वर्ष अघि उनले शाओमी छाडेर फेसबुकमा जागिर सुरु गरेका थिए । आगामी दिनमा स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्नका लागि फेसबुक छाड्न लागेको उनले बताएका छन् ।

आफ्नो फेसबुक पेजमा बार्राले लेखेका छन्- जब ५ वर्ष अगाडि मार्क जुकरबर्गले म सँग भेट गरी फेसबुक कम्पनीमा आउन र त्यहाँको ओकुलस टिमको नेतृत्व गरी भर्चुअल रियालिटीको क्षेत्रमा काम गर्न आग्रह गरे त्यतिबेला मलाई थाहा थियो कि मैले एउटा महत्वाकांक्षी यात्रा सुरु गर्दैछु । यो टिमले यति छोटो समयमा यतिधेरै प्रगति गर्न सक्ला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।

ओकुलस गो, क्वेस्ट, क्वेस्ट टू आदिको उपलब्धीलाई दृष्टिगत गर्दा म गौरवान्वित छु । फेसबुकले आगामी दिनहरुमा ल्याउने नयाँ प्रडक्टहरुलाई लिएर पनि म उत्साहित छु । रेबन सँगको सहकार्यमा फेसबुकले यहीँ वर्ष स्मार्ट चस्मा ल्याउँदैछ । यसले अहिलेको भर्चुअल रियालिटी हेडसेट र भोलिको अग्मेन्टेड रियालिटी चस्मा बीचको विन्दुलाई जोड्नेछ ।

गत वर्ष बार्रा स्वयंले रे बनसँगको सहकार्यमा फेसबुकले स्मार्ट चस्मा ल्याउने घोषणा गरेका थिए । स्मार्ट चस्मा सन् २०२१ मा बजारमा आउने उनको भनाई थियो । यद्यपि यस विषयमा फेसबुकले चाहीँ कुनै आधिकारिक जानकारी दिएको छैन ।

फेसबुक छाडेपछि कहाँ जाने भन्ने बारेमा चाहिँ बार्राले केही खुलाएका छैनन् ।

उनी भन्छन्- विश्व नै महामारीबाट गुज्रिरहँदा गत वर्ष भएका घटनाक्रमहरुका बारेमा मैले धेरै सोँचविचार गरेँ । मलाई लाग्छ हाम्रो स्वास्थ्यको बारेमा बुझ्न तथा हाम्रो स्वास्थ्यमाथि नियन्त्रण कायम गर्नका लागि हामीलाई आवश्यक पर्ने साधनहरु पर्याप्त छैनन् ।

यो तथ्यबाट प्रेरित हुँदै प्रविधिको क्षेत्रमा २० वर्षसम्म काम गरेको अनुभव समेतका आधारमा मैले पूर्णरुपमा फरक कुरा प्रयास गर्ने निर्णय गरेको छु । मेरो लागि अज्ञात क्षेत्रमा हाम फाल्दै स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्न चाहन्छु ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment