Comments Add Comment

प्रधानमन्त्रीले बादललाई मत माग्नु आचारसंहिता विपरीत !

५ जेठ काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् ।

नेकपा एमालेकै मतदाताहरुको मत विभाजन हुने देखिएपछि उनले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् ।

निर्वाचन आयोगका अनुसार जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ, र यो अवधिमा मत माग्न पाइदैन । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गरी मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने उल्लेख गरेका छन् ।

त्यस्तै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट र सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगको विज्ञप्तिमा जनाइएको छ । मौन अवधिमा मत मागेमा निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग बताए ।

निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाहीको व्यवस्था छ । आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन सक्ने व्यवस्था ऐनमा छ ।

आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment