Comments Add Comment

प्रकाशमानको प्रश्न– चुनावमा जाऊ भन्न कुन मानवीयताले दिन्छ ?

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महामारीको बेलामा जनता बचाउन होइन, चुनावमा जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ भनेर प्रश्न गरेका छन् ।

संसद विघटन गरी चुनावमा जाने सरकारको निर्णयबारे प्रतिक्रिया सार्वजनिक गर्दै नेता सिंहले भनेका छन्, ‘जनताले पाँच वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउ भन्नु कुन मानवीयताले दिनसक्छ ? यो निकृष्ट कर्म हो ।’

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाबद्ध षडयन्त्रबाट संसद, संविधान र लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै नेता सिंहले उनीहरुलाई नेपाली जनताले क्षमा नदिने जिकीरसमेत गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहको प्रतिक्रिया छ, ‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।

संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको भन्दै उनले यो घटनाको जति भत्सर्ना गरेपनि कम हुने बताएका छन् । ‘देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment