Comments Add Comment

रेम्डिसिभिर र प्लाज्मा थेरापी : प्रयोग बढ्यो, प्रभावकारिता कति ?

८ जेठ, विराटनगर । विराटनगरका दीपेश धिमाललाई प्लाज्मा थेरापी उपचारका लागि रगतको लागि आग्रह गर्दै दैनिक १० वटासम्म फोन आउँछ ।

‘हामी युवा’ नामक संस्थाबाट संक्रमितको उपचारमा समन्वय गरिरहेका उनीसहितको टोलीले प्लाज्मा खोज्नेहरूलाई जसोतसो व्यवस्थापन गर्छन् । भर्खरै संक्रमणमुक्त भएकाहरूको मात्रै प्रयोग गर्न मिल्ने भएकाले दाता भेट्न मुस्किल पर्छ ।

प्लाज्मासँगै अक्सिजन र रेम्डिसिभिरका लागि पनि हामी युवाका सदस्य अभिषेक भट्टराई, अभिनाश थापा, सविन दाहाल लगायतलाई निरन्तर फोन आउँछ । उनीहरूले समन्वयको प्रयास गरिरहेका छन् ।

तर प्लाज्मा थेरापी र रेम्डिसिभिरको प्रभावकारिता कति छ ? चिकित्सकहरू भन्छन्, ‘यसले मृत्यु दरमा कुनै प्रभाव पार्दैन, चित्त बुझाउने आधार मात्रै हो ।’

विराटनगरका युवाहरूले कोरोना संक्रमितको सहयोगका लागि कोभिड–१९ र्‍यापिड रेस्पोन्स टिम बनाएका छन् । सो टिमलाई आउने फोनमध्ये सबैभन्दा बढी प्लाज्मा खोज्नेहरूको छ ।

प्लाज्मा थेरापी र रेम्डिसिभिरको प्रभावकारिता कति छ ? चिकित्सकहरू भन्छन्–यसले मृत्यु दरमा कुनै प्रभाव पार्दैन, चित्त बुझाउने आधार मात्रै हो ।

‘राति साढे १२ बजे पनि फोन आउँछ,’ धिमाल भन्छन्, ‘हामीले सकेको समन्वय गरिरहेका छौं ।’ उनका अनुसार प्लाज्मा र रेम्डिसिभिरको माग गर्दै धेरै फोन विराट मेडिकल कलेजमा भएका विरामीका आफन्तहरूले गर्ने गरेका छन् ।

मनको सन्तोष मात्रै

बिरामीका आफन्तले प्लाज्मा र रेम्डिसिभिर खोजेपनि चिकित्सकहरू भने प्रभावकारिता नभएको बताउँछन् ।

‘प्लाज्मा थेरापी र रेम्डिसिभिरले मृत्यु दरमा कुनै प्रभाव पार्दैन, यो विधि प्रभावकारी पनि देखिंदैन,’ कोशी अस्पतालका फिजिसियन डा. डेनप्रसाद आचार्य भन्छन्, ‘हामी प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गर्न सल्लाह दिंदैनौं ।’

प्लाज्मा थेरापीको प्रभावकारिता नभएपनि रेम्डिसिभिरले रिकभरी समयलाई भने छोट्याउने उनको तर्क छ ।

प्रदेश १ मा सबैभन्दा बढी विराट मेडिकल कलेजबाट प्लाज्मा र रेम्डिसिभिरको माग हुन्छ । कलेजका चिकित्सक डा. पुरु कोइराला प्लाज्मा र रेम्डिसिभिरले उपचारमा ठूलो प्रभाव नपारेपनि संक्रमितको मनोबल भने बढाउने बताउँछन् । उनी कोरोना संक्रमितको मुख्य उपचार भनेको अक्सिजन सपोर्ट भएको बताउँछन् । रेम्डिसिभिर र प्लाज्मा थेरापीले पनि केही हदसम्म काम गर्ने उनको तर्क छ ।

‘चिकित्सकले बिरामीको अवस्थाको विश्लेषण गरेर प्रयोग गर्दा प्लाज्माले पनि फाइदा भएको छ,’ उनले भने, ‘प्लाज्मामा एन्टिबडी हुन्छ, प्लाज्माबाट सुधार भएका केसहरू विराटमा छन् ।’ तर भरपर्दाे उपचार पद्धति भने नभएको उनले बताए ।

नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डा. राजेश नेपाल पनि रेम्डिसिभिर र प्लाज्माको प्रभावकारिता नदेखिएको बताउँछन् । तर प्रयोग भने भइरहेको उनले बताए ।

‘सुरुमा राम्रो हुन्छ भन्दै प्रचार भयो, तर यसको प्रभावकारिता देखिएको छैन,’ उनले भने, ‘बिरामीको माग हुन्छ, हामीले पनि उपलब्ध भएसँग प्रयोग गरिरहेका छौं ।’

कोरोना भाइरसको उपचारका लागि औषधि छैन । औषधि नहुँदा आपतकालीन अवस्थामा रेम्डिसिभिर र प्लाज्मा थेरापी विधि प्रयोग सुरु भएको हो । तर बजारमा रेम्डिसिभिरको कालोबजारी छ । सरकारले पाँच हजार एक सय तोकेको रेम्डिसिभिरको बिक्री बजारमा १० हजारदेखि ४० हजार रुपैयाँसम्म हुन्छ ।

भारतमा प्लाज्मा थेरापी रोकियो

कोरोना महामारीसँग जुधिरहेको भारतले प्लाज्मा थेरापी विधिमा रोक लगाएको छ । प्रभावकारिता नदेखिएपछि संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधिलाई रोक लगाएको हो ।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले प्रभावकारिता नदेखिएको उल्लेख गर्दै संक्रमितको उपचार गाइडलाइनबाट प्लाज्मा थेरापी हटाएको  भारतीय सञ्चार माध्ययमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment