
कुरा २०३० साल आसपासको हो । बेलायतबाट सिनेमा अध्ययन सकेर आएका यादव खरेललाई ‘शाही नेपाली चलचित्र संस्थान’को जिम्मेवारी दिइएको थियो । युवावयका खरेलसामु नेपाली सिनेमाको जग बसाउने चुनौती थियो ।
खरेल नेपाली सिनेमामा काम गर्ने सृजनशील युवाहरूको खोजीमा थिए । ठीक त्यहीबेला संस्थानमा जागिरे भएर आइपुगे चेतन कार्की ।
लोकगीत संकलन, गायनसँगै साहित्य लेख्ने चेतन कार्की चलचित्र संस्थानमा प्रोडक्सन कन्ट्रोलर (निर्माण अधिकृत)को भूमिकामा रहे ।
पाँच दशकअघिको समय सम्झँदै खरेल भन्छन्, ‘नेपाली सिनेमाले आफ्नो आधार खडा गर्दै गरेको बेलादेखि चेतन कार्कीले चलचित्रमा योगदान पुर्याउनुभयो । जुन काम निकै ऐतिहासिक महत्वको छ ।’
चलचित्रकर्मी एवं साहित्यकार चेतन कार्कीको आइतबार बिहान ८४ वर्षको उमेरमा छाउनीस्थित सैनिक अस्पतालमा निधन भयो । ६ दशक लामो सृजनायात्रामा कार्की सफल लोकगीत संकलक, लेखक, चलचित्रकर्मी एवं खेलाडीका रूपमा देखा परे ।
यता चेतन कार्कीको निधनसँगै नेपाली कला क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउँछन् वरिष्ठ निर्देशक नीर शाह । शाहका अनुसार कार्कीमा प्रशस्त कलाचेत थियो ।
‘आफ्नो सृजनशील कलाचेतको आधारमा सिनेमा, लोकगीत र साहित्यमा कार्कीले बेग्लै परिचय बनाउनुभएको छ,’ शाह भन्छन्, ‘आफ्नो विशिष्ट गुणले गर्दा नै उहाँ नेपाली चलचित्रको लिभिङ लेजेन्ड हुनुहुन्थ्यो ।’
कवि एवं संस्कृतिविद् तुलसी दिवस पनि कार्कीलाई नेपाली लोक संस्कृतिका अन्वेषक मान्छन् । दिवस भन्छन्, ‘नेपाली लोकसंस्कृतिको खोजी गर्दै निरन्तर लोकगीत संकलन र लेखन गरेका चेतनको योगदान बिर्सन सकिंदैन ।’
०००
१९९५ साल कात्तिक २२ गते (सन् १९३८, नोभेम्बर ७) स्याङ्जाको आरुखर्क बहाँटारीमा जन्मिएका चेतन कार्की देहरादूनमा हुर्किए । बुबा जुद्धवीर कार्की भारतीय सैनिक सेवामा भएका कारण उनको किशोरकाल देहरादूनकै सेरोफेरोमा बित्यो ।
यही वैशाखमा पनि देहरादून पुगेर काठमाडौं आएका थिए उनी । काठमाडौं आएको केही सातामा मुटुमा समस्या देखिएपछि छाउनी अस्पताल पुगे । सुरुमा कोरोना आशंका गरिएपनि मुटुकै समस्याले कार्कीको निधन भएको सैनिक अस्पतालले बताएको छ ।
देहरादूनबाट स्नातक सकेपछि फुटबल खेल्ने मेसोमा कार्की नेपाल आइपुगे । केही समय ठमेल ११ क्लबबाट फुटबल खेलका उनी त्यसपछि नेपालमै बसेर जागिर सुरु गरेको बताउँछन् निर्देशक एवं साहित्यकार प्रकाश सायमी ।
कार्कीका निकटतम मानिने सायमीका अनुसार २०१८÷१९ सालतिर चेतनले रेडियो नेपालको ‘हिमाली सुसेली’ कार्यक्रममा गायक बनेर लोकगीत क्षेत्रमा प्रवेश गरे । त्यतिबेला लाइभमा गीत गाउने हुँदा कार्कीको स्वरमा गीत रेकर्ड हुन पाएन । पछि गायनभन्दा बढी गीत संकलन र लेखनतर्फ नै उनले आफूलाई केन्द्रित गरे ।
‘लोकगीत संकलन गर्ने, गाउने मात्र होइन, उहाँ २०५८ मा पोखरामा भएको ऐतिहासिक पञ्चेबाजा सम्मेलनको संयोजकसमेत हुनुभयो,’ सायमीले स्मरण गर्दै भने ।
आजीवन लोकगीत संकलन र लेखनमा होमिएका उनले लोकसंस्कृतिका क्षेत्रमा अनुसन्धानमूलक लेखन गरेको पाइन्छ ।
उनको ‘बैनीको माया छ भने’, ‘नजाऊ न मलाई छोडी’, ‘कान्छी हे कान्छी’ तथा ‘तीजको रहर आयो बरि लै’ बोलका गीत सर्वाधिक चर्चित रहे । नेपालमा रेकर्डिङ गर्न असहज परिस्थिति भएकाले चेतनका अधिकांश गीत भारतमा रेकर्ड भए । त्यसैले पनि भारतीय विख्यात संगीतकारहरूले चेतनका गीतमा संगीत दिएका छन् ।
सिनेमातर्फ ‘मनको बाँध’ देखि काम सुरु गरेका उनी २०४२ पछि मात्रै आफैंले सिनेमा बनाउन थाले । ‘विश्वास’ चलचित्रबाट निर्देशनमा डेब्यु गरेका चेतनले त्यसपछि ‘भुमरी’, ‘मनको आँखा’ र ‘पहिलो प्रेम’ निर्देशन गरे । यसबाहेक अन्य निर्देशकका लागि समेत थुप्रै सिनेमाका कथा–पटकथा लेखन गरे ।
आफूले निर्देशन गरेका चलचित्रहरूमा नयाँ कलाकारलाई अवसर दिने श्रेयसमेत कार्कीलाई जान्छ । अभिनेता श्रीकृण श्रेष्ठलाई उनले ‘भुमरी’ चलचित्रबाट अभिनेता बनाएका थिए भने धीरेन शाक्यलाई ‘पहिलो प्रेम’मा प्रवेश गराएका थिए ।
पछिल्ला दुई दशक चलचित्र क्षेत्रबाट टाढा रहेपनि निकटवर्तीहरूसँग सिनेमाकै कुरा गर्दा उनी आनन्द मान्थे ।
शान्त र सक्रिय स्रष्टा
ललितपुर पुल्चोक निवासी गायक मुकुन्द खड्का चेतन कार्कीलाई निकै सक्रिय स्रष्टा मान्छन् । छिमेकीसमेत रहेका खड्काका अनुसार सार्वजनिक कार्यक्रममा न्यून सहभागिता जनाएपनि लेख्ने–पढ्ने तथा निकटवर्तीसँग अन्तरक्रिया गर्न कार्कीले छाडेका थिएनन् ।
‘उहाँसँग जहिले भेटेपनि सिनेमा, गीत र साहित्यको कुरा हुन्थ्यो,’ खड्का स्मरण गर्छन्, ‘संगीत र सिनेमाको कुरा गरेर उहाँ कहिल्यै अघाउनु भएन ।’
रोचक कुरा त के भने ८२ वर्षको उमेरमा समेत चेतनले एकल कविता वाचन गरेका थिए । २०७६ कात्तिकमा काठमाडौंको ठमेलमा उनले एकल कविता वाचन गरेका थिए ।
यसबाहेक बेलाबेला हुने साहित्यिक कार्यक्रममा आतिथ्यता जनाउँदै साहित्यिक विमर्श गर्न उनी उत्साहित रहन्थे ।
पाँच दशकको लेखन यात्रामा उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमून’, ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’ उपन्यास तथा ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसंग्रह प्रकाशित छन् । यस्तै ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’ मुक्तक र ‘हो देश मेरो पनि’ गजलसंग्रह प्रकाशित छ ।
‘सृजना यात्रामा सधैं शान्त रहने उहाँको सक्रिया ८० वर्ष कट्दा पनि उत्तिकै जोशिलो देखिन्थ्यो,’ निर्देशक प्रकाश सायमी स्मरण गर्छन् ।
यद्यपि, चेतन कार्कीजस्तो बहुविधाका अब्बल स्रष्टासँग नेपाली समाजले लाभ लिन नसकेको निष्कर्ष सायमीको छ । कार्कीलाई कला–साहित्यका बहुविधाका विज्ञ मान्दै सायमी भन्छन्, ‘कुनै सरकारी नियुक्ति नलिएका चेतन कार्की नेपालका जीवित प्राज्ञ हुनुहुन्थ्यो ।’
प्रतिक्रिया 4