१० जेठ, काठमाडौं । सेयर ब्रोकर कम्पनीहरूले ल्याउने भनेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को काम अन्तिम चरणमा पुगेको छ । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले १ साउनमै लन्च गर्ने गरी काम भइरहेको बताएका छन् ।
‘हामीले पहिले नै साउन १ गते तयार गर्छौं भनेका थियौँ, काम धमाधम भइरहेको छ,’ अध्यक्ष मैनालीले भने, ‘निर्धारित समयमै तयार भइसक्नेछ ।’
अहिले लगानीकर्ताहरूले प्रयोग गर्दै आएको अनलाइन कारोबार प्रणाली नेपाल स्टक एक्सचेन्जले नै उपलब्ध गराएको हो ।
केहि वर्ष अघिसम्म अफलाइन कारोबारको नेपालमा विकल्प नै थिएन । नेप्सेले कारोबार प्रणाली नबनाएका कारण लगानीकर्ताहरू ब्रोकर कार्यालयमा नै पुगेर अथवा टेलिफोन गरेर सेयर कारोबार गर्दै आएका थिए । नेप्सेले टीएमएस भित्र्याएपछि अहिले ६ लाख लगानीकर्ताले अनलाइन कारोबार गर्दै आएका छन् ।
विद्यमान प्रणालीभन्दा अझ धेरै सुविधाहरू भएको कारोबार प्रणाली भित्र्याउन लागिएको एशोसिएसनका अध्यक्ष मैनाली बताउँछन् ।
भरत रानाभाट एशोसिएसनका अध्यक्ष भएका बेला नै ब्रोकर कम्पनीहरू मिलेर १० करोड चुक्ता पुँजी भएको कम्पनी दर्ता भएको थियो ।
त्यहाँ केहि बैंकहरू र आईटी कम्पनीसमेतको लगानी हुने भनिएको कम्पनीकै अग्रसरतामा यो काम हुन लागेको हो ।
ब्रोकर एसोसियनले ब्रोकरहरूको संयुक्त पहलमा सेयर कारोबारको लागि नयाँ टीएमएस ल्याउनेदेखि सेयर खरिदबिक्रीको रकम भुक्तानीको लागि नयाँ प्रणाली विकास गरिरहेको अध्यक्ष बताउँछन् ।
धितोपत्र कारोबारमा निहीत जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरहरूको संयुक्त पहलमा १० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने सम्झौता भएको जनाएको छ ।
‘नयाँ सुविधाहरू समेटिन्छन्’
ब्रोकर्स एसोसिएसनका अनुसार सबै पक्षको सहयोग भएमा सेयर लगानीकर्ताहरूले आगामी साउन १ गतेबाट नयाँ टीएमएसबाट कारोबार गर्न पाउनेछन् ।
अध्यक्ष मैनालीका अनुसार मल्टी एक्सचेञ्ज ट्रेडिङ प्लाटफर्मरहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । मोबाइल एपसहितको यो प्रणालीले लगानीकर्ताहरूलाई कारोबार गर्न सहज हुने एशोसिएसनको दावी छ ।
एशोसिएसनका अनुसार अर्थतन्त्र, बजार तथा सूचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरू राखिने छन् ।
लगानीकर्ताहरूले आफ्नो कारोबारको सम्पूर्ण हिसाबकिताब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था रहने बताइएको छ ।
एशोसिएसनका उपाध्यक्ष धर्मराज सापकोटा पनि यो टीएमएसले लगानीकर्ताहरूका लागि कारोबार सहज बनाउने बताउँछन् ।
‘यो राम्रो चलेको सिस्टिम नै हो, टेक्निसियनहरूले भित्रै बसेर काम गर्ने हो काम भइरहेको छ,’ उनले भने, ‘हामीले डेमो हेरेका छौं, धेरै फिचरहरू भएका कारण कारोबारलाई सहज बनाउने छ ।’ बाहिर देशहरूका स्टक मार्केटमा समेत चलेको सिस्टम भएका कारण यो राम्रो भएको उनी बताउँछन् ।
देला त नेप्सेले अनुमति ?
ब्रोकर कम्पनीहरूले टीएमएस ल्याउन अन्तिम तयारी गरिरहँदा पनि नेप्सेले अनुमति भने दिएको छैन । एशोसिएसनका अध्यक्ष मैनाली नेप्सेले भने अनुसार नै काम गर्ने बताउँछन् । यसकारण अनुमति नेप्सेले दिनै पर्ने उनको भनाइ छ ।
नेप्सका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद ब्रोकर कम्पनीहरूले संयुक्त रूपमा ल्याउने प्रणालीलाई अनुमति नदिने बताउँछन् ।
‘व्यक्तिगत रुपमा आउने भए सोच्न सकिन्छ, तर सामुहिक रूपमा आएर अनुमति दिन सकिदैन’ सीईओ साउदे भने ।
सबैले एउटै प्रणाली चलाउँदा वा संयुक्त रूपमा चलाउन अनुमति दिँदा ग्राहकको गोप्य सूचनाहरू समेत सार्वजनिक हुने खतरा हुनसक्ने उनले बताए । यता ब्रोकर कम्पनीहरू भने संयुक्त रूपमा नदिए छुट्टाछुट्टै भए पनि अनुमति लिने तयारीमा छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4