
११ जेठ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ ।
अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुने क्रम बढिरहेको अवस्थामा अष्ट्रेलियाले यस्तो निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाले अफगानिस्तानमा बढ्दो क्रममा रहेको सुरक्षा वातावरणको अन्योलको कारण दूतावास बन्द गर्ने निर्णयमा पुगेको बताएको छ ।
विज्ञप्तिमा अष्ट्रेलियाका कूटनीतिक अधिकारीले अन्य क्षेत्रबाट नियमित अफगानिस्तानको भ्रमण गर्ने उल्लेख गरिएको छ । अफगानिस्तानले भने यो निर्णय अस्थायी हुने र अष्ट्रेलियाले पुनः स्थायी रुपमा अफगानिस्तानमा उपस्थिति जनाउने विश्वास व्यक्त गरेको छ ।
अष्ट्रेलियाले आगामी दिनमा अफगानिस्तान हेर्ने अधिकारी कहाँ बस्नेछन् भन्नेबारे खुलाएको छैन । अष्ट्रेलियाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘अष्ट्रेलिया अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्धमा प्रतिबद्ध छ र अन्य मुलुकसँग मिलेर अफगानिस्तानको विकास र स्थायित्वको लागि सहयोग गर्ने काम जारी राख्नेछौँ ।’
अमेरिकाले आगामी सेप्टेम्बरबाट अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै अफगानिस्तानको सुरक्षाबारे आशंका बढेको छ । अहिले अफगानिस्तानमा २५ सयभन्दा धेरै अमेरिकी सैनिक छन् ।
पछिल्लो दुई वर्षमा अष्ट्रेलियाले पनि अफगानिस्तानमा आफ्ना सैनिकको संख्या १५ सयबाट घटाएर करिब ८० मा झारेको छ । अमेरिका र नेटोका अधिकारीहरुले पछिल्लो समय अफगानिस्तानमा तालिबानले हिंसा घटाउँदै लैजाने प्रतिबद्धता पूरा नगरेको बताउँदै आएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4