+
+

महामारीमा सुन्दरहरैंचालाई केन्द्रको सहयोग : एउटा अक्सिमिटर, १० वटा पीपीई !

हरि अधिकारी हरि अधिकारी
२०७८ जेठ ११ गते १७:२३

११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ ।

महामारीसँग जुधिरहेको नगरपालिकालाई सुरक्षा सामग्री जोहो गर्न मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको जानकारी पाएपछि नगर प्रमुख शिवप्रसाद ढकालले राहतको महसुस गरे । तर मंगलबार केन्द्र सरकारले पठाएको स्वास्थ्य सामग्री हेरेपछि उनी आफैं छक्क परे ।

‘करिब दुई लाख जनसंख्या भएको नगरलाई एक थान अक्सिमिटिर, दुई वटा थर्मलगन, १० वटा पीपीई, ५० वटा एन–९५ र पाँच सय सर्जिकल मास्क आएको छ,’ उनले भने, ‘यो आजसम्मकै उच्च सहयोग हो ।’

केन्द्रले सामान्य सहयोग पठाएपनि नजिकै रहेको प्रदेश सरकारबाट सहयोग नपाएको उनको गुनासो छ । ‘प्रदेश सरकारले त एक पटक सोधेको पनि छैन,’ उनले भने, ‘फोन गर्दा रेस्पोन्स गर्दैनन् ।’

कोरोना महामारीको पहिलो लहरमा भने संघीय सरकारबाट राम्रै सहयोग पाएको बताउँदै उनले दोस्रो लहर उच्च बिन्दुमा पुग्दा केन्द्रले नाम मात्रैको सहयोग गरेको बताए । ‘अघिल्लो पटक त यहींबाट जित्नु भएको मन्त्री भएकाले होला सहयोग पाइयो,’ उनले भने, ‘अहिले पोलिटिकल्ली पनि हेरेको होला ।’

ढकाल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । नेकपा एमालेको नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको उनको गुनासो छ । पालिकाले आफ्नै स्रोतबाट काम गरिरहेको उनले बताए ।

महामारीमा विराटनगर महानगरपालिकाले पनि प्रदेश र केन्द्रबाट अपेक्षा गरेअनुसार स्वास्थ्य सामग्री पाएको छैन । स्वास्थ्य शाखा संयोजक रमेश कार्कीका अनुसार गुनासो धेरै पटक गरेका कारण ६ हजार एन्टिजेन परीक्षण किट आएको छ ।

पीसीआर गर्न पाइएन’

केन्द्र र प्रदेश सरकार जिम्मेवार नहुँदा पीसीआर परीक्षण गर्नै नपाउने अवस्था आएको मेयर ढकालले बताए । उनले आफैंले पीसीआर गर्न खोजे पनि नपाएको बताए ।

‘मेरो आफ्नै पीसीआर गर्नुपर्ने थियो, तर प्रदेश ल्याब र कोशी अस्पतालले नल्याउनु भने, उनले भने, ‘खै कहाँ जाने हो पीसीआर गर्न ।’

प्रदेश १ मा एकसाता यता रिएजेन्ट अभावमा कोरोना संक्रमितको पीसीआर परीक्षण प्रभावित भइरहेको छ । रिएजेन्ट अभावका कारण झापाको मेची अस्पतालले पीसीआर मेसिन प्रयोग गरेको छैन । प्रदेश र कोशी अस्पतालको क्षमता पनि घटेको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार पीसीआरका लागि करिब आठ सय स्वाब परीक्षणका लागि आएको छ । ल्याबको क्षमता सीमित हुँदा बाहिरबाट कलेक्सन भएका स्याम्पलहरु परीक्षणमा पालो कुर्नुपर्ने उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?