Comments Add Comment

सगरमाथामा आकाशिएको आनन्द (फोटो फिचर)

१२ जेठ, काठमाडौं । फुर्वा छिरिङ शेर्पा र केशवप्रसाद गौचन (सोवित) एक हजारभन्दा बढी पटक सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरिसकेका छन् । फुर्वा शेर्पा आफ्नो काम विशेषले प्रवेश गरेका हुन् भने गौचन हेलिकप्टर लिएर सगरमाथा क्षेत्रका कुना–कुना पुगेका हुन् । फुर्वा पेशाले स्वास्थ्य क्षेत्र र पर्यटनसँग जोडिएका छन् भने गौचन हेलिकप्टरका पाइलट हुन् ।

हेली एभरेष्टको अपरेसन तथा प्रमोसन निर्देशक एवं ऐरा इन्टरनेशनल अस्पतालको निर्देशक पनि हुन् शेर्पा । स्वास्थ्य क्षेत्रसहित हेलिकप्टर कम्पनीसँग जोडिएको नाताले उनी धेरैपटक सगरमाथा क्षेत्र पुगेको सुनाउँछन् ।

‘सगरमाथा क्षेत्रको बिभिन्न स्थानमा मैले धेरै पटक स्वास्थ्य शिविर सन्चालन समेत गरेको छु,’ उनले भने, ‘फुर्सदमा म पदयात्रा गरिहाल्छु ।’ पदयात्रा जाँदा उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने रहर लाग्थ्यो । तर यसपटक भने उनले आँट गरे । ‘यसअघि आँट गरेको थिएन । योपटक आँट गरेँ, सफल पनि भएँ,’ उनले सुनाए ।

त्यस्तै विगत एक दशकदेखि निरन्तर हेलिकप्टकर उडाउँदै आएका पाई्लट एवं हेली एभरेष्टको निर्देशक रहेका केशव प्रसाद गौचन (सोवित)को पनि यसपटकको सगरमाथा क्षेत्रको यात्रा अविस्मरणीय रह्यो । यसपटक उनले सगरमाथा क्षेत्रमा आरोहीलाई हेलिकप्टरमा बोक्ने काम मात्र गरेनन्, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण पनि गरे । ‘यो साहसिक पल जीवनमा भुल्ने छैन,’ उनले भने ।

विगतमा हेलिकप्टरमा बोक्दा सगरमाथा आरोहीको सफलता तथा असफलता सुनेका उनले यसपटक आफैं आरोहण गर्दा महसुस गरेको खुसीको सीमा छैन । ‘निकै कठिन छ भन्ने सुनेको थिएँ, योपटक आफैंले अनुभुति गर्ने मौका पाएँ, निकै गर्व लाग्यो,’ उनले भने ।

आरोहण अनुभव

सगरमाथा आधार शिविरबाट उकालो लागेपछि मन निकै बेचैन भयो । जति उकालो लाग्दै गयो उती डरको आकार बढ्दै गयो । हामीसँग गिनिजबुकमा नाम लेखाइसक्नु भएका हेली एभरेष्टका मार्केटिङ निर्देशक तथा आरोही टासी शेर्पा पनि  थिए ।

सगरमाथा चुचुरोमा आरोहीहरू

आरोहणको क्रममा क्याम्प १ देखि २ सम्म उकालो तथा कतै कतै सम्म पनि हिँड्न पाई्न्छ । क्याम्प ३ भन्दा माथि त सम्म भन्ने देख्न पनि पाइँदैन । अझ रातिको समयमा यात्रा गर्दा निकै उत्साह र डर मिसिएर आउँदो रहेछ ।

आरोहण गर्दा सबैभन्दा कठिन स्थान भनेको क्याम्प ३ देखि हो । जुन आरोहणमा भुल्नै नसक्ने हुँदो रहेछ । सगरमाथा आरोहण साउथ समिट नजिक पुग्दा निकै गाह्रो लागेको थियो हामीलाई । रातभर हिँडेको थकान त्यसमाथि सिधै उकालो भएर होला निकै सकस अनुभूति भयो ।

साउथ समिट नजिकै ८ हजार ५ सय मिटर नजिक पुग्दा उज्यालो भएको थियो । उज्यालोमा यताउता हेर्दा पो देखियो अरु हिमाल त आफूभन्दा निकै तल पो थिए । त्यो आनन्दको अनुभूति गर्न मात्रै सकिन्छ, शब्दमा भन्न गाह्रो हुन्छ । सगरमाथाको चुचुरोमा पुगेपछि खुसीको आकार पनि त्यस्तै गरि आकाशियो ।

अनि केही समय आरोहणमा गएका साथीहरु सबै तस्विर कैद गर्न मग्न भए । केही समय सगरमाथाको चुचुरोमा आनन्दको सागरमा तैरियौँ । त्यसपछि हाम्रो फिर्तियात्रा सुरु भयो । आरोहणभन्दा फर्कँदाको यात्रा कठिन भयो । कतिपय स्थानमा त आङ नै जिरिङ्ग भयो ।

जब चुचुरोमा पुग्यौं

गौचन र फुर्वा शेर्पा भन्छन्, ‘जब सगरमाथाको चुचुरोमा पुग्यौँ स्वर्ग भनेकै यहीहो जस्तै भयो । वरीपरी पनि हिमालै हिमाल, आफू त झनविश्वकै अग्लो सगरमाथाको चुचुरोमा । विश्वकै अन्य ८ हजार मिटर अग्ला हिमाललगायत दर्जनौं टाकुरा देख्दा लाग्यो धर्तीको सबैभन्दा शान्त र सुन्दर ठाउँ यही हो । हाम्रो जीवनकालमा यो पल कहिल्यै बिर्सने छैनौं ।

हेली एभरेष्ट प्रालीका प्रवन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पा सगरमाथा क्षेत्रमा बर्सेनि सयौं उडानहरु भइरहे पनि हेलिकप्टर पाइलटले सगरमाथा आरोहणमा हासिल गरेको सफलता गौरवको विषय भएको बताउँछन् । ‘हाम्रै कम्पनीका तीनजना निर्देशकहरुले सगरमाथाको सफल आरोहण गर्नु भयो । सम्भवत नेपालको इतिहासमा पहिलो पाइलटले सगरमाथा आरोहण गरेका होला, त्यो झन् हाम्रो कम्पनीको मात्र नभएर देशकै गौरवको कुरा हो, उनले भने ।

तस्विरहरू : फुर्वाछिरिङ शेर्पा र केशवप्रसाद गौचन (सोवित)

क्याम्प १ मा आरोहीहरू बस्नलाई बनाइएका टेण्टहरू ।

सगरमाथा आधार शिविर

क्याम्प २ मा आरोहीहरू बस्नका लागि बनाइएका टेण्टहरू ।

क्याम्प १ मा फोटो खिचाउँदै फुर्वाछिरिङ शेर्पा र पृष्ठभूमिमा देखिएको पुमरी हिमाल ।

सगरमाथा आधार शिविरमा फुर्वा छिरिङ शेर्पा र केशवप्रसाद गौचन (सोवित)
सगरमाथा आधार शिविरमा फुर्वा छिरिङ शेर्पा र विख्यात आरोही एवं गिनिज बुक अफ वल्र्ड रेकर्डधारी टासी शेर्पा ।

थकानपछि रमाउँदै आरोहीहरू ।

क्याम्प ३ जाँदै गर्दाको रमणीय बाटो ।

 

केशवप्रसाद गौचन (सोवित) हिउँको खोंच पार गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment