Comments Add Comment

आईसीयू र भेन्टिलेटरमा कसरी मतपत्र पुर्‍याउँछौ सरकार ?

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै फेरि अधिकांश नेपालीको दैनिकी यतिबेला घरमै बस्ने, नियमित काम गर्ने र अनलाइनमा समाचार पढ्ने बनेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण पुनः गरिएको लकडाउन-निषेधाज्ञाको हामी तेस्रो हप्तामा छौं । मेरो दैनिकी पनि आम नेपालीको जस्तै हो– घरायसी काम गर्ने र सञ्चारमाध्यमका समाचार हेर्ने, पढ्ने ।

जेठ ७ गते राति ‘राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणा’ शीर्षकको समाचार पढेपछि भने मेरो मनमा केही कुरा खेलिरहेका छन् । अहिले नागरिक घरमै ढोका थुनेर बस्ने अवस्थामा छन् । दैनिक रूपमा दर्जनौं लासको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । मानिस एकमुट्ठी सास फेर्न अक्सिजन माग्दामाग्दै प्राण त्याग्न बाध्य छन् ।

यस्तो कहालीलाग्दो अवस्थामा सरकारले भने आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि आवधिक निर्वाचन घोषणा गरेको छ । जनस्वास्थ्यका विज्ञहरूले आगामी एक महीनासम्म दोस्रो लहरको संक्रमण बढ्ने बताएका छन् ।

सरकारको तर्क छ कोरोना फैलिरहेकै बेला भारत र अमेरिकामा समेत चुनाव सम्पन्न भयो । तर सरकारले नदेखेको वा देख्न नचाहेको पाटो के हो भने चुनावका कारण भारतमा कोरोना आगो झैं फैलियो, अमेरिकामा संक्रमण फैलन कति बल पुग्यो ?

भारतीय विश्लेषकहरूले नरेन्द्र मोदीले कोरोना फैलाएको जिम्मा लिनुपर्ने भनेर आलोचना गरिरहेका छन् । नेपाल र भारतको राजनीतिक संस्कारमा त्यत्रो के फरक छ ? र हामी भारतभन्दा राम्रो व्यवस्थापनमा चुनाव गर्न सक्छौं ? यसको जवाफ न सरकारसँग छ, न त दलका कार्यकर्तासँग नै ।

चुनावमा खर्च गर्न तयार पारिएको रकमले जनतालाई खोप दिनुहोस् । प्रत्येक जिल्ला अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था गरिदिनुहोस् । नागरिकलाई बचाउनुहोस् । नत्र प्रधानमन्त्रीज्यू तपाईंको नाममा कोरोना फैलाएको र चुनावको नाममा हजारौं नागरिक मारेको कलंकको टीका लाग्न सक्छ ।

अब कुरा गरौं हाम्रो मुलुकको, चुनाव भनेपछि यहाँका राजनीतिक दलले गर्ने अभ्यास सम्झिनुहोस्, टोल भेलादेखि बृहत् जनसभासम्म । घरदैलोदेखि कार्यकर्ता भेटघाटसम्म ।वर्तमान सरकारले गरेको संसद विघटन सर्वोच्चले सदर गरिदिएको भए वैशाख २७ गते चुनाव भइसक्थ्यो, कल्पना गर्नुस् त साँँच्चै वैशाख २७ गते चुनाव भएको भए कस्तो अवस्थामा चुनाव हुने रहेछ ।

मानौं कोरोनाको ग्राफ असोजसम्म घटेछ नै भने पनि चुनावी क्रियाकलापले फेरि उकालो लाग्दैन र ? कोरोनाको ग्राफ उकालो लाग्नु भनेको मानिसको मृत्युदर बढ्नु हैन र ? फेरि पनि अस्पतालमा हजारौं नागरिक भर्ना हुनु हैन र ? फेरि पनि अक्सिजनको अभावमा मानिसको प्राण जानु हैन र ? सरकारलाई नागरिक मार्ने यस्तो काममा मलजल गर्ने चुनाव गराउन किन हतारो ?

हाम्रो मुलुकमा आवधिक निर्वाचन पाँच–पाँच वर्षमा हुने भनेर संविधानमै तोकिएको छ । राजनीतिक दलको खिचातानीका कारण मुलुकले निकास नपाएकाले ताजा जनादेशमा जानुपर्ने तर्क प्रधानमन्त्रीले गरिरहनुभएको छ । अझै राजनीतिक दलले मुलुकलाई निकास दिने हो भने डेढ वर्षपछि मात्रै मुलुकमा चुनाव हुनेछ । एउटा चुनावमा झण्डै ४० अर्ब खर्च हुने र त्यो रकम खर्च गर्न सरकार तयार छ ।

म सरकारलाई सोध्न चाहन्छु, सरकार तिमीले भनेकै मितिमा चुनाव हुने हो भने त्योभन्दा अगाडिका कार्ययोजना के–के हुन् ? असारभरिमा कोरोना नियन्त्रणका लागि के गरिसक्छौ ? असोजसम्ममा नेपाललाई शून्य संक्रमित भएको मुलुक बनाउन सक्छौ कि सक्दैनौ ? यदि सक्दैनौ भने नागरिकलाई कोरोनाबाट कसरी जोगाएर मतदान स्थलसम्म पुर्‍याउँछौ ?

अस्पतालको आईसीयू र भेन्टिलेटरमा छट्पटाइरहेका नागरिकका लागि मतदानको के व्यवस्था हुनेछ ? जनताले सास फेर्न पाउनु भनेको सरकारको लामो आयु हुनु हैन र ? त्यसैले कोरोना नियन्त्रण गरेर जनता जोगाउन संवेदनशील नहुने सरकारले थप कोरोना फैलाएर जनता मार्ने कर्म पनि अपराध हुनेछ, हत्या हुनेछ ।

नेपाली जनताले पाँच वर्षका लागि आफ्नो अमूल्य मत दिएका हुन् । तपाईंहरू आफैं नमिलेको नसिहत जनतालाई किन ? नेताहरू नमिलेकै कारण किन नेपालीले छिटो भोट दिनुपर्ने ?

बरु चुनावमा खर्च गर्न तयार पारिएको रकमले जनतालाई खोप दिनुहोस् । प्रत्येक जिल्ला अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था गरिदिनुहोस् । आफ्ना देशका नागरिकलाई बचाउनुहोस् । नत्र प्रधानमन्त्रीज्यू तपाईंको नाममा कोरोना फैलाएको र चुनावको नाममा हजारौं नागरिक मारेको कलंकको टीका लाग्न सक्छ । त्यसैले अहिलेलाई जनता बचाउनुहोस्, त्यसपछि तपाईंले जनताको साथ र कुर्सी दुवै पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment