Comments Add Comment

नोबेल अस्पतालमा अक्सिजन अभाव, कोरोनाका नयाँ बिरामी भर्ना नलिने

१२ जेठ, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको उनले बताए ।

‘हाम्रो मेसिन चल्दा १८० सिलिण्डर थप चाहिन्छ,’ उनले भने, ‘पाँच वटा उद्योगमा धाएर एक सय सिलिण्डर भेला पार्‍यौं, ८० सिलिण्डर म्यानेज हुँदा आजको रातलाई पुग्छ ।’

नोबेलमा भर्ना भएका संक्रमितलाई हाईफ्लो अक्सिजनमा राख्नुपर्छ । तर अक्सिजन सप्लाई गर्दै आएका उद्योगको उत्पादन रोकिएपछि बुधबारबाट अक्सिजन अभाव भएको हो ।

नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएको थियो । मंगलबार दुवै उद्योगको उत्पादनमा समस्या थियो । बुधबार हिमाल अक्सिजन अक्सिजनले मर्मत गरी उत्पादन सुरु गरेको छ भने पाथिभराको मेसिन मर्मत भइसकेको छैन ।

अक्सिजन अभाव भएपछि अक्सिजनको खोजीमा अस्पतालको टोली नै उद्योगहरुमा डुलेको उनले बताए । ‘अभाव भएपछि डाक्टर राजेश नेपाल, रामहरि कोइरालासहित हामी उद्योगहरुमा पुग्यौं,’ उनले भने, ‘उद्योगहरुमा पनि धेरै प्रेसर छ ।’ १९७ बेड सञ्चालन गरिरहेको नोबेलमा १७५ जना संक्रमितको उपचार भइरहेको नोबेलका कोभिड फोकल पर्सन दीपेश न्यौपानेले बताए ।

विराटमा पनि अभाव

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा १४८ जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमितका लागि दैनिक तीन सय सिलिण्डर अक्सिजन चाहिन्छ ।

‘अक्सिजनको त अभाव नै छ,’ अस्पतालका कोभिड फोकल पर्सन सुनिल देव भन्छन्, ‘हामीसँग चार घण्टालाई मात्रै पुग्ने स्टक हुन्छ, उत्पादन रोकिए समस्या भइहाल्छ ।’ अस्पतालले जसोतसो अक्सिजनको म्यानेज गरिरहेको उनले बताए ।

मोरङमा मारुती र हिमाल अक्सिजन उद्योग सञ्चालनमा छन् । सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । ती उद्योगले  प्रदेश १ का साथै अन्य प्रदेशमा पनि अक्सिजन आपूर्ति गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment