Comments Add Comment

अस्पतालहरुमा अक्सिजन सहज बन्दै

फाइल तस्वीर

१३ जेठ, काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता नेपालमा कोरोना संक्रमण दर ५.७ प्रतिशतले घट्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेको तथ्यांकमा संक्रमण दर थोरै घटेको देखिएको छ ।

काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अघिल्लो साताको तुलनामा संक्रमण दर घटेको हो । बागमतीमा १६.३१, लुम्बिनीमा १९.१ र गण्डकीमा १०.८७ प्रतिशतको दरले संक्रमण घटेको छ । तर प्रदेश २ मा १०५.१, कर्णालीमा २९.१, प्रदेश १ मा २६.८ र सुदूरपश्चिममा ९.६ प्रतिशतले संक्रमण बढेको छ ।

नेपालमा समग्रमा कोरोना संक्रमण दर क्रमशः घट्दै जाँदा काठमाडौं उपत्यका लगायतका अस्पतालहरुमा अक्सिजन उपलब्धता सहज बन्दै जान थालेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मेडिसिटी, बाँकेको भेरीलगायतका अस्पतालमा तुलनात्मक रुपमा अक्सिजन उपलब्धतामा सहजता आएको चिकित्सकहरुले बताएका छन् ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पछिल्लो समय अस्पतालमा अक्सिजन अभाव नरहेको बताए । ‘बिरामीको उपचारका लागि हामीमा अक्सिजन अभाव छैन,’ उनले भने, ‘अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएका कारण अहिले असहज अवस्था छैन ।’

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अक्सिजन उपलब्धता सहज रहेको बताए । अस्पतालमा अक्सिजन प्लान्ट जडानको पनि काम भइरहेकाले भविष्यमा अक्सिजन अभावको समस्या झेल्नु नपर्ने उनको विश्वास थियो ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले पछिल्लो समय अक्सिजन अभाव नरहेको बताए । ‘तीन दिन मात्रै भयो, १३ हजार लिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट जडान गरेका छौं,’ डा. पौडेलले भने, ‘यसले अझै केही दिन धान्छ ।’ संक्रमितको संख्या पनि घट्दै गएका कारण अहिले अक्सिजन उपलब्धतामा सहजता आएको उनको तर्क छ ।

मेडिसिटी अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले संक्रमितको उपचारमा अक्सिजन अभाव नरहेको बताइन् ।

लुम्बिनीमा पनि सहज

पछिल्लो एक सातायता भेरी अस्पतालमा पनि अक्सिजनको अभाव हटेको छ । एक साताअघि २ हजार लिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभाव हटेको अस्पतालका अध्यक्ष प्रमोद धितालले अनलाइनखबरलाई बताए ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मेडिसिटी, बाँकेको भेरीलगायतका अस्पतालमा तुलनात्मक रुपमा अक्सिजन उपलब्धतामा सहजता आएको चिकित्सकहरुले बताएका छन् ।

चरम अक्सिजन अभाव झेल्नु परेको रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि अक्सिजन आपूर्ति सहज बन्दै गएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले तीन दिनयता अक्सिजन उपलब्धतामा सहजता आएको बताए ।

रुपन्देहीका उद्योगले दैनिक रुपमा ३५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने गरेको र बाँकेबाट समेत एक सय थान सिलिण्डर अक्सिजन आपूर्ति हुने गरेका कारण सहज भएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय थान खाली सिलिण्डर उपलब्धता गराएका कारण पनि सहजता आएको उनको भनाइ छ ।

कर्णालीमा पनि सहज बन्दै

पछिल्लो समय कर्णाली प्रदेशमा पनि अक्सिजन सहज बन्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ । प्रदेशका अस्पतालहरुले अक्सिजन अभाव भयो भनेर कतैबाट पनि जानकारी नआएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले अनलाइनखबरलाई बताए ।

प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको उनले बताए । अपुग भएमा यी अस्पतालहरुले पनि बाहिरी जिल्लाबाट अक्सिजन सहजै आपूर्ति गरिरहेको उनको दाबी छ । यी दुई अस्पतालबाहेक अन्य जिल्लाका अस्पतालहरु अक्सिजन सिलिण्डरमै निर्भर रहेको र उनीहरुले पनि यसको व्यवस्थापन गरिरहेको उनले बताए ।

पछिल्लो समय प्रत्येक स्थानीय तहहरुले पनि अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिरहेका कारण उद्योगबाट अक्सिजन भरेर ल्याउँदा थप सहजता आएको चौधरीले बताए । ‘आपतकालीन अवस्थाका लागि १०० सिलिण्डर अक्सिजन अलर्ट अवस्थामा राखिएको छ,’ उनले भने, ‘कुनै पनि अस्पतालमा अक्सिजन अभाव भएको खबर पाउनासाथ उद्योगबाट अक्सिजन आपूर्ति गर्न सकिन्छ ।’

कालीकोट, रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा लिक्विड अक्सिजन प्लान्ट जडानका लागि मेसिन पुगिसकेको उनले बताए ।

अक्सिजन उद्योगहरु झण्डै ८० प्रतिशत क्षमतामा सञ्चालन

अक्सिजन ग्यास उत्पादक संघका महासचिव एवं ललितपुरस्थित सगरमाथा अक्सिजन प्रालिका सञ्चालक नारायणदत्त तिमिल्सिनाले केही ठाउँमा बाहेक अक्सिजन आपूर्तिमा सहजता हुन थालेको बताए । ‘कोभिड महामारी उच्चमा पुग्दा शतप्रतिशत क्षमतामा उद्योगहरु सञ्चालनमा आएका थिए,’ उनले भने, ‘तर केही दिनयता उद्योगहरु झण्डै ८० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन् ।’ संक्रमणको चाप उच्च हुँदा खाली सिलिण्डर बोकेर आउने सर्वसाधारण अहिले आउन छाडेको उनले बताए ।

अस्पतालहरुले माग गरे अनुसारको अक्सिजन उद्योगले आपूर्ति गर्दै आइरहेको उनले बताए । संक्रमण घट्दै जानु, अस्पतालमा हाईफ्लो अक्सिजन दिनुपर्ने बिरामीको चाप कम हुँदै जानु, अस्पतालहरुमा बाहिरी स्रोतको व्यवस्थापन, सर्वसाधारणले घरमा अनावश्यक रुपमा अक्सिजन सिलिण्डर भण्डारण नगरेका कारण पनि अक्सिजनको आपूर्तिमा सहजता आएको हुन सक्ने उनको तर्क छ ।

प्रदेश १ मा माग बढ्दो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो साता प्रदेश १ मा कोरोना संक्रमण दर २६.८ प्रतिशतले वृद्धि भएको छ ।

संक्रमित बढेसँगै प्रदेश १ मा अक्सिजनका माग ह्वात्तै बढेको उद्योगीहरुले बताएका छन् । अस्पतालको माग अनुसार अक्सिजन आपूर्ति गर्न समस्या परेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडाले बताए । ‘उद्योग २४ सै घण्टा सञ्चालनमा छन्, तर पनि माग धान्न हामीलाई गाह्रो भइरहेको छ,’ सारडाले भने, ‘अस्पतालमा हिजोको तुलनामा दोब्बर बढी माग छ ।’

बजारमा सिलिण्डरको अभाव नभए पनि उद्योगको क्षमता सीमित भएका कारण माग धान्न गाह्रो भइरहेको उनको भनाइ छ ।

विनायकले दैनिक साढे ८ सय सिलिण्डर रिफिल गरिरहेको छ । ‘सामान्य अवस्थामा हाम्रो एउटा प्लान्ट १२ घण्टा चल्थ्यो तर अहिले दुई वटा प्लान्ट २४ सै घण्टा चल्छ,’ उनले भने, ‘ मेसिनरी सामानमा समस्या आए अस्पतालहरुमा धेरै गाह्रो हुन्छ ।’

हिमाल अक्सिजन उद्योगका प्रोडक्सन म्यानेजर महमद नबिल माग अत्याधिक बढेका कारण आपूर्ति गर्न कठिन भएको बताउँछन् । ‘हाम्रो उत्पादन दैनिक साढे पाँच सय सिलिण्डर हो,’ उनले भने, ‘हाम्रो क्षमता सीमित छ । तर माग धेरै बढ्दा आपूर्ति गर्न गाह्रो भयो ।’

सुनसरी–मोरङमा रहेका पाँचवटै उद्योग २४ सै घण्टा सञ्चालनमा रहे पनि पछिल्लो समय अक्सिजनको माग धान्न गाह्रो भइरहेको उनले बताए ।

हिमाल अक्सिजन प्लान्टमा मंगलबार समस्या आउँदा प्रदेश १ का केही अस्पतालहरुमा अक्सिजन अभाव हुन पुगेको थियो । हिमालबाट अक्सिजन आपूर्ति हुन नसकेपछि नोबेल शिक्षण अस्पताल बुधबार एक दिन नयाँ बिरामी भर्ना नै स्थगित गरेको थियो ।

हिमाल उद्योगबाट अक्सिजन आपूर्ति हुन नसक्दा बुधबार एक दिन अस्पतालले नयाँ भर्ना रोकेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । ‘अस्पतालमा बिरामीको चाप धेरै छ । आईसीयू र भेन्टिलेटरमा ३९ जना संक्रमित छन् । उनीहरुलाई हाईफ्लोमा अक्सिजन दिनुपर्ने हुन्छ,’ उनले भने, ‘नयाँ बिरामी भर्ना गर्दा उपचाररत बिरामीलाई अक्सिजन अभावमा जोखिम हुने देखिएपछि भर्ना रोकेका थियौं । तर बिहीबारदेखि पुनः नयाँ भर्ना बिरामी गरेर उपचार गराइरहेका छौं ।’

३२ अक्सिजन प्लान्ट सञ्चालनमा

सरकारले अस्पतालमा हुने अक्सिजन अभाव टार्न देशभरका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने अभियानलाई तीव्रता दिएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देशभरका अस्पतालहरुमा ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेको र १९ वटा प्लान्ट थप गर्ने चरणमा रहेको बताएका थिए ।

अक्सिजन अभावमा धेरै संक्रमितहरुले ज्यान गुमाउनु परेपछि सरकारले वैशाखयता मात्रै ९०० अक्सिजन कन्सट्रेटर थप गरेको जनाएको छ । लिक्विड अक्सिजन ट्यांक संख्या तीन वटा रहेकोमा यसको संख्या २७ पुर्‍याउने प्रक्रिया अघि बढेको मन्त्री त्रिपाठीको भनाइ थियो ।

सरकारले खाली सिलिण्डर उपलब्ध गराउन सके अक्सिजन उत्पादन गर्ने उद्योगहरुले रिफिल गर्ने क्षमता आफूहरुसँग रहेको बताएका थिए । त्यसैलाई मध्यनजर राख्दै सरकारले पछिल्लो समयमा पाँच हजार थान अक्सिजन सिलिण्डर थप गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment