Comments Add Comment

के भारतमा कोरोनाको दोस्रो लहर ओरालो लागेकै हो ?

१४ जेठ, काठमाडौं । भारतमा कोरोनाका संक्रमितको संख्या दुई करोड ७० लाख नाघिसकेको छ । संक्रमितको संख्याको आधारमा भारत अमेरिकापछि विश्वको सबैभन्दा बढी कोरोना प्रभावित प्रभावित मुलुक हो ।

अहिले भारत सबैभन्दा धेरै कोरोना (कोभिड–१९) फैलिएको मुलुकको रूपमा छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने अवस्था देखिएको थियो । यो क्रममा भारतका अस्पतालहरूमा महत्वपूर्ण औषधि र अक्सिजनको अभाव देखिएको थियो ।

यद्यपि पछिल्लो केही दिनयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी आएको देखिएको छ । सोमबार भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या अप्रिल १४ यता पहिलोपटक दुई लाखभन्दा कममा झरेको थियो । यद्यपि मंगलबारयता भने संक्रमितको आँकडाले दुई लाख नाघेको छ ।

विशेषज्ञहरू अहिले भारतमा कोरोनाको संक्रमण घटिरहेको बताउँछन् । साप्ताहिक औसतलाई हेर्ने हो भने दोस्रो लहरमा कोरोना संक्रमण उत्कर्षमा पुग्दा भारतमा तीन लाख ९२ हजार नयाँ संक्रमित देखिएका थिए । तर, पछिल्लो दुई सातामा भने यो संख्यामा निरन्तर कमी आइरहेको स्वास्थ्य अर्थशास्त्री डा. रिजो एम जोन बताउँछन् ।

स्वास्थ्य अर्थशास्त्री डा. रिजो एम जोन भन्छन्– साप्ताहिक औसतलाई हेर्ने हो भने दोस्रो लहरमा कोरोना संक्रमण उत्कर्षमा पुग्दा भारतमा तीन लाख ९२ हजार नयाँ संक्रमित देखिएका थिए । तर, पछिल्लो दुई सातामा भने यो संख्यामा निरन्तर कमी आइरहेको छ ।

यद्यपि अझै पनि भारतमा कोरोना संक्रमण घटिरहेको छ भनेर ढुक्क हुने अवस्था भने छैन । भारतको समग्र कोरोना संक्रमण घटिरहेको भए पनि सबै राज्यमा भने कोरोना संक्रमण घटिरहेको छैन ।

पछिल्लो समय महाराष्ट्र, दिल्ली र छत्तीसगढ लगायतका केही राज्यमा कोरोना संक्रमण घटिरहेको छ तर तामिलनाडू जस्ता केही राज्यमा संक्रमण बढिरहेको छ । आन्ध्रप्रदेश र पश्चिम बंगाल जस्ता राज्यको विषयमा भने अझै अवस्था कता जाँदैछ भनिहाल्ने अवस्था छैन ।

डा. जोनका अनुसार कोरोनाको लहर एकैनासको छैन र केही राज्यमा कोरोनाको संक्रमण अझै उत्कर्षमा पुगेको छैन । अहिले भारतमा अधिकांश शहरमा भने कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।

‘यद्यपि कमजोर नियमनले वास्तवित दृश्यलाई जटिल बनाएको छ’ लण्डनस्थित मिडलसेक्स युनिभर्सिटीका गणितशास्त्री डा. मुराद बनाजी भन्छन्, ‘अहिलेसम्म समग्रमा मुलुकभर कोरोना संक्रमण उत्कर्षमा नपुगेको पनि हुनसक्छ तर सबै संक्रमितको संख्या तथ्यांकमा देखिएको छैन । किनकि अहिले अधिकांश संक्रमण ग्रामीण क्षेत्रमा फैलिरहेको छ ।’

स्थानीयस्तरमा देखिएको यस किसिमको असमानताका कारण पछिल्ला दिनहरूमा भारतको नयाँ संक्रमितको संख्यामा देखिएको उल्लेख्य कमी दीर्घकालीन हो वा होइन भन्ने कुराको अनुमान गर्न गाह्रो भएको चेन्नईस्थित इन्ष्टिच्युट अफ म्याथमेटिकल साइन्सका वैज्ञानिक सिताभ्रा सिन्हाको भनाइ छ । उनको यो भनाइमा मिसिगन युनिभर्सिटीका भ्रमर मुखर्जी पनि सहमत छन् ।

‘कोरोना संक्रमणको उत्कर्ष सकिइसक्यो भन्ने सोचले सबै मानिसलाई सुरक्षित छु भन्ने गलत भ्रम विकास हुन्छ, जबकि उनीहरूको राज्य अहिले संकटतर्फ अघि बढिरहेको छ’ उनले भनिन्, ‘हामीले यो कुरामा स्पष्ट हुनु जरूरी छ कि अहिलेसम्म कुनै पनि राज्य सुरक्षित छैनन् ।’

कहिले होला दोस्रो लहरको अन्त्य ?

भारतमा पहिलो लहर सकिंदा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आउने दर कम थियो । भारतमा सक्रिय संक्रमितको संख्या सेप्टेम्बरको अन्तिमबाट मात्र घट्न थालेको थियो । यो क्रम फेब्रुअरीको मध्यमा दोस्रो लहर शुरु नहुँदासम्म कायम थियो ।

दोस्रो लहरमा भने निकै तीव्र गतिमा सक्रिय संक्रमितको संख्यामा कमी आइरहेको छ । अहिलेसम्म के कारणले संक्रमण घटेको हो भन्ने स्पष्ट भएको छैन । एउटा कारण भने भारतको जनसंख्याको ठूलो हिस्सामा कोरोना संक्रमण यसअघि नै फैलिसकेकाले संक्रमणमा कमी आएको हुनसक्ने विशेषज्ञहरूले बताएका छन् ।

यद्यपि भारतमा देखिएको नयाँ भेरियन्टले यसअघि संक्रमित भइसकेका मानिसलाई पनि पुनः संक्रमित गराउन सक्ने आशंका गरिएको छ । यो आशंकाले भने विशेषज्ञहरूको तर्कलाई सहयोग गर्दैन ।

लण्डनस्थित मिडलसेक्स युनिभर्सिटीका गणितशास्त्री डा. मुराद बनाजीको फरक विश्लेषण छ– ‘अहिलेसम्म समग्रमा मुलुकभर कोरोना संक्रमण उत्कर्षमा नपुगेको पनि हुनसक्छ तर सबै संक्रमितको संख्या तथ्यांकमा देखिएको छैन । किनकि अहिले अधिकांश संक्रमण ग्रामीण क्षेत्रमा फैलिरहेको छ ।’

डा. मुखर्जीका अनुसार उनको गणना अनुसार मेको अन्तिमसम्ममा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या एक लाख ५० हजारदेखि दुई लाखको बीचमा रहन्छ । यद्यपि त्यसपछि भारतीय राज्यहरूमा लगाइएको लकडाउन कसरी हटाइन्छ भन्नेमा कोरोना संक्रमणको आगामी बाटो निर्धारण हुने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार सुरक्षित रूपमा लकडाउन खोल्न कोरोना संक्रमण पुष्टि हुने दर पाँच प्रतिशत वा सोभन्दा कम हुनु जरूरी हुन्छ । यदि भारतले दैनिक १८ लाखको परीक्षण गर्दा पाँच प्रतिशतमा कोरोना संक्रमण पुष्टि भयो भने दैनिक नयाँ संक्रमितको संख्या ९० हजार हुने डा. जोनले बताए ।
‘त्यो नै कोरोना संक्रमण नियन्त्रणमा आयो भन्ने बलियो आधार हो’, उनले थपे ।

मृतक संख्या किन बढिरहेको छ ?

कोरोना संक्रमणको कारण तीन लाखभन्दा धेरै मानिसको मृत्यु हुनेमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो मुलुक हो । कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या आधिकारिक तथ्यांकभन्दा धेरै हुनसक्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

डा. बनाजीका अनुसार कोरोना संक्रमणको कारण दैनिक मृत्यु हुनेको संख्या भने अझै उच्च बिन्दुमा पुगेको छैन । किनकि कोरोनाका नयाँ संक्रमित र मृतक संख्या उच्च विन्दुमा पुग्नुमा केही समयको अन्तर आवश्यक हुन्छ । यद्यपि कोरोनाका संक्रमितका साथै मृतकको संख्यामा अनुसन्धानको क्रममा पाइएको र सरकारले सार्वजनिक गरेको तथ्यांकमा ठूलो अन्तर छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आउँदा ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कारण हुने गरेको मृत्युको विषयमा पनि सोच्नु आवश्यक हुने डा. बनाजी बताउँछन् । डा. मुखर्जीका अनुसार मेको मध्यदेखि जूनसम्मको अवधिमा धेरै मानिसको कोरोनाका कारण मृत्यु हुनसक्छ । उनको गणना अनुसार सो अवधिमा भारतमा करीब एक लाख मानिसको कोरोनाको कारण मृत्यु हुनसक्छ ।

अबको बाटो

भारतको लागि आगामी दिनमा दोस्रो लहरबाट पार पाउन थप महत्वपूर्ण र रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता छ । विशेषज्ञहरू बन्द कोठाभित्र हुने गतिविधिहरू खोल्ने कार्य तत्काल गर्न नहुने बताउँछन् । खुला स्थानमा पनि १० जनाभन्दा धेरै मानिसको भीड गर्न नपाइने नियम ल्याउनु जरूरी रहेको डा. मुखर्जी बताउँछिन् ।

‘कोरोनामाथि छिट्टै नै जितको घोषणा गर्दा यसबाट संकटपूर्ण अवस्थाको सामना हामीले गरिसकेका छौं । अब हामी यो अवस्था दोहोरियोस् भन्ने चाहँदैनौं ।’
– डा. सिन्हा

सबैभन्दा महत्वपूर्ण कुरा अहिले भारतले खोप कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनु जरूरी छ । त्यसका साथै भारतले अहिले मुलुकमा फैलिरहेको कोरोनाको विषयमा सिक्वेन्सिङ डेटा हेर्ने वास्तविकतामा कोरोना कसरी फैलिएको छ भन्ने अध्ययन गर्नु जरूरी छ । पूल टेस्टिङ र वेस्टवाटर टेस्टिङलाई बढावा दिनुपर्छ ।

अहिले नै भारतमा कोरोना संक्रमण घट्दै गएको छ भन्ने विश्वासमा पर्नु गलत हुने डा. बनाजी बताउँछन् । कोरोना संक्रमित भइसकेका र खोप लगाएका मानिसहरू पनि पुनः संक्रमित हुन सक्छन् । त्यसैले सबैले सतर्कता अपनाउनु जरूरी छ । अहिले भारतले केवल आफ्ना १० प्रतिशत मानिसलाई मात्र कोरोना खोप लगाएको छ ।

८० प्रतिशत मानिसलाई खोप नलगाउँदासम्म अवस्था सामान्य बन्न नसक्ने डा. जोन बताउँछन् । त्यतिबेलासम्म कोरोना नियन्त्रणको लागि आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै सबैभन्दा राम्रो विकल्प भएको उनको भनाइ छ ।

‘कोरोनामाथि छिट्टै नै जितको घोषणा गर्दा यसबाट संकटपूर्ण अवस्थाको सामना हामीले गरिसकेका छौं । अब हामी यो अवस्था दोहोरियोस् भन्ने चाहँदैनौं’, डा. सिन्हाले भने ।

 बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment