Comments Add Comment

‘कोरोना महामारीमा पनि वित्तीय सूचक सबल देखिए’

सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्र अगाडि

१४ जेठ, काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण निकै असहज अवस्था सिर्जना भए पनि वित्तीय सूचकहरु सबल देखिएका छन् । शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार अधिकांश वित्तीय सूचकहरु सबल देखिएका छन् ।

गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.४८ प्रतिशत, नगद तथा मौज्दातको अंश ८.२ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कुल कर्जाको अंश ७७.१ प्रतिशत देखिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः ११.६ प्रतिशत र १३.९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी १४३ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।

मोद्रिक तथा वित्तीय नीतिले मर्जरमा जाने संस्थाहरुलाई दिएको सुविधाका कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा कमी आएको उल्लेख गरिएको छ । यसैगरी ४० बिमा कम्पनी, १ पुनर्बिमा कम्पनी, २९ हजार ८ सय ८६ सहकारी संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष र हुलाक बचत बैंक समेत सञ्चालनमा रहेका छन् ।

नेपालको वित्तीय प्रणालीमा सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा ठूलो रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक ताथ वित्तीय संस्थाको हिस्सा ठूलो रहेको छ ।

प्रतिवेदन अनुसार कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८७ दप्रतिशत देखिएको छ । वित्तीय क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १८.८३ प्रतिशत र वाणिज्य बैंकको अंश ५९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment