Comments Add Comment

लक्ष्मी बर्देवा : सुटिङ हेर्दाहेर्दै अभिनयमा

त्यतिबेला लक्ष्मी बर्देवा जागिर गर्दै ‘प्लस टु’ तह पढिरहेकी थिइन् । निजी क्षेत्रको त्यो जागिरले खुशी थिएन उनको मन । एकपछि अर्को संस्थामा जागिर गरिन् तर कुनैमा पनि उनी लामो समय टिक्न सकिनन् ।

‘प्लस टु’को परीक्षा सकियो । राम्रो प्रतिशत लिएर उनी उत्तीर्ण भइन् । त्यतिञ्जेलसम्म काम छाडिसकेकी उनी भविष्यका बारे सोचेर बेचैन हुन्थिन् ।

पट्यारलाग्दो त्यही समयको बीचमा एकदिन उनले चलचित्र ‘माला’को सुटिङ सेटमा जाने अवसर पाइन् । पहिलो दिनको सुटिङले नै उनको मन तान्यो ।

‘सुटिङको माहोलले मलाई एकदमै आकर्षित गर्यो । जसले मलाई निकै खुशी बनायो’ सुटिङको पहिलो दिन सम्झँदै लक्ष्मी भन्छिन्, ‘जागिरमा मैले कहिल्यै त्यो खुशी पाएकी थिइनँ । सुटिङमा पुगेर अभिनय गरेपछि लाग्यो मेरो क्षेत्र यही हो ।’

त्यो दिन उनको रोल दिउँसै सकियो । तर त्यो माहोलबाट उनलाई  घर फर्किन् मन लागेन । राति अबेरसम्म बसेर अरूले गरेको अभिनय हेरिरहिन् ।

****

ललितपुरको निम्नमध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी बर्देवा काठमाडौंको गौरीघाटमा हुर्किइन् । तीन दिदीबहिनीमा जेठी उनी पढाइमा तेज थिइन् । पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल ।

अतिरिक्त क्रियाकलापअन्तर्गत नाटक, कविता, वक्तृत्वकला लक्ष्मीको रुचिको क्षेत्र थियो । कविता लेखनमा उनी अहिले पनि सक्रिय छिन् ।

यद्यपि विद्यालयमा कसैले ‘भविष्यमा के बन्ने ?’ भनेर सोध्दा त्यसबेला ठ्याक्कै जवाफ नभएको उनी सुनाउँछिन् ।

‘यो बन्छु भन्ने भएन तर डाक्टर देखे डाक्टर जस्तै, टिभी हेरे समाचारवाचिका जस्तै बन्न मन लाग्थ्यो’ लक्ष्मी सुनाउँछिन्, ‘तर कलाकार नै बन्छु भन्ने मैले कहिल्यै सोचेकी थिइनँ ।’

‘माला’ मा अभिनयका लागि लक्ष्मी शुरूआतमा राजी थिइनन् । विद्यालयस्तरमा नाटक खेलेको उनकी आमालाई मन पर्थ्यो । चलचित्रमा काम गर्न आमाले नै हौसला दिइन् र अभिनयका लागि राजी भइन् लक्ष्मी ।

‘माला’मा लक्ष्मीको भूमिका सानो थियो । तर, त्यसमा काम गरेपछि उनको मन रमायो । अभिनय आफ्नो क्षेत्र हो भन्ने लाग्यो । अभिनयमा एकाएक अभिलाषा बढ्यो । अन्य व्यक्तिले ‘राम्रो अभिनय गर्ने रहेछौ, अभिनय सिक्यौं भने अझ राम्रो हुन्छ’ भन्दा उनमा आत्मविश्वास पलायो ।

अभिनय त सिक्ने तर कहाँ ? लक्ष्मीले त्यहीबेला थिएटर घरबारे सोधीखोजी गरिन् ।

‘एक्टर्स स्टुडियो’का दुई जनाको नम्बर पत्ता लगाइन् । त्यसमध्ये एक थिए, कलाकार आशान्त शर्मा । उनैलाई फोन गरिन् ।

त्यहाँ बिहान ‘क्लास’ हुँदोरहेछ । लक्ष्मीको बिहानमै कलेज लाग्थ्यो । ‘एक्टर्स स्टुडियो’मा दिउँसोको सेसन शुरू हुन समय लाग्ने भयो । तर पनि लक्ष्मीले आशान्तलाई तारन्तार फोन गरिरहन्थिन् । ‘एकदमै रुचि छ भनेर निरन्तर फोन गरेर हैरान पारेकी थिएँ’ अभिनय सिक्ने अभिलाषाको त्यो क्षण सुनाउँदै उनी भन्छिन्, ‘पछि त उहाँले फोन नै उठाउन छोड्नुभयो ।’

प्रदर्शनमा आएका चलचित्रमध्ये उनले अधिकांशमा सहायक भूमिकामा काम गरिन् । तर सहायक भूमिकाबाटै उनले मुख्य भूमिकामा प्रस्तुत कलाकारले भन्दा बढी प्रशंसा पाउँदै गइन् । यसरी अभिनयको बलले, सहायक भूमिकाबाटै ‘चिनिन’ सक्थे सामर्थ्य राख्नु लक्ष्मीको विशेषता बन्यो

केही समयपछि आशान्तले नै लक्ष्मीलाई फोन गरे । त्यो फोन, अभिनय सिक्नका लागि नभई रिहर्सल हेर्नका लागि रहेछ ।

‘हेरेर पनि धेरै कुराहरू सिक्न सकिन्छ, समय मिलाएर आउनू’ भन्दै फोन गरेका थिए उनले ।

लक्ष्मी नाट्यशाला पुग्दा ‘उम्बुकल्यान्डको मूठभेड’ नाटकको रिहर्सल चलिरहेको थियो । पहिलो दिनको दृश्य उनले अझै बिर्सेकी छैनन् । लक्ष्मी सुनाउँछिन्, ‘रिहर्सल हेर्न पाउँदा निकै खुशी थिएँ । त्यसपछि निरन्तर नाटक रिहर्सलमा पुग्न थालें ।’

आशान्तलाई सहयोग गर्नु लक्ष्मीको अर्को जिम्मेवारी थियो । कलाकारहरूलाई खाजा ल्याइदिने, पानी राखिदिने । सरसफाइ गर्ने गर्थिन् । लक्ष्मी सुनाउँछिन्, ‘आफ्नो कामसँगै रिहर्सल नि ध्यान दिएर हेर्थें । त्यहाँबाट सिकेका कुरा आफूमा लागू गर्दै गएँ ।’

एउटा संयोग जुर्यो । रिहर्सलकै क्रममा एकजना अर्को क्यारेक्टर चाहियो । लक्ष्मीले नाटकको स्क्रिप्ट कैयौंपटक पढिसकेकी थिइन् । उनलाई हरेक संवाद कण्ठस्थ थिए ।

लक्ष्मीलाई नियालिरहेका आशान्तले आवश्यक क्यारेक्टरमा उनलाई नै आग्रह गरे । नाटक खेल्ने अवसर त मिल्यो तर, स्टेजमा नाटक गर्ने अनुभव पहिलो थियो, जसले गर्दा लक्ष्मीलाई निकै डर लाग्यो ।

आशान्तले नै लक्ष्मीलाई हौसला बढाइदिए । सो नाटकमा लक्ष्मीले खुशीसाथ अभिनय गरिन् । तर, नाटक सकिने दिन आएपछि उनको चिन्ता बढ्दै गयो, ‘यसपछि के गर्ने ?’

नाटकको माहोलबाट टाढिन नपरोस् भन्ने उद्देश्यले उनले मण्डला थिएटरमा स्वयंसेवक बन्न खोजेकी थिइन् तर, मिलेन ।

केही महीना लक्ष्मी फुर्सदिलो भएर घरमा बस्नुपर्यो । घरमा बस्दा उनलाई निकै तनाव हुन्थ्यो ।

यता मण्डला थिएटरमा अभिनय प्रशिक्षण शुरू हुँदै थियो । त्यहाँ पुगेर अडिसन दिइन्, छनोट भइन् । तर, अभिनय सिक्न धेरै पैसा लाग्ने भयो । त्यो जोहो कसरी गर्ने भन्ने चिन्ताले सतायो ।

अन्ततः मण्डलाले आधा रकम छात्रवृत्ति दिने भयो । अन्य पैसाको जोहो गरेर उनी अभिनय सिक्ने भइन् । सुनिल पोखरेलसँग उनी प्रशिक्षण लिन थालिन् ।

प्रशिक्षण चलिरहेकै समयमा ‘सुनकेशरी’ नाटकमा अभिनय गर्ने मौका पाइन् । त्यसपछि लक्ष्मीले नाटकमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

‘जार’, ‘माथा पञ्चर’, ‘कथा एक्सप्रेस’, ‘१२ दुर्वाशा’ नाटकले लक्ष्मी बर्देवालाई अब्बल कलाकारका रूपमा उभ्याइदियो ।

नाटकसँगै सिनेमा

लक्ष्मीले नाटकमा अभिनय गर्न लागेको चार वर्ष बितिसकेको थियो । यही समय उनलाई एउटा फोन आयो । त्यो फोन थियो, निर्देशक रामबाबु गुरुङको ।

चलचित्र ‘घामपानी’का लागि लक्ष्मीलाई अफर आयो । सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रको निर्माता थिए, रामबाबु ।

लक्ष्मीले सो चलचित्रमा अभिनय गरिन् । दर्शक, शुभचिन्तकबाट राम्रो प्रतिक्रिया पाइन् । त्यसपछि उनलाई एकपछि अर्को चलचित्रबाट अफर आउन थाल्यो ।

‘मिस्टर झोले’, ‘जालो’, ‘कागजपत्र’, ‘डम्बरूको डन्डिबियो’, ‘बुलबुल’, ‘सेल्फी किङ’मा लक्ष्मीले अभिनय गरिसकेकी छिन् । ‘बुलबुल’मा महिला टेम्पो चालकको भूमिकामा देखिएकी लक्ष्मीको औधी प्रशंसा भयो ।

उनी अभिनीत चलचित्र ‘प्रेम गीत–३’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । ‘नीरफूल’ लगायतका केही चलचित्र अझै प्रदर्शन हुन बाँकी छन् । त्यस्तै चलचित्र ‘अनन्त’को छायांकन निषेधाज्ञाका कारण रोकिएको छ । ‘विच्छेद’मा पनि काम गर्दैछिन् ।

प्रदर्शनमा आएका चलचित्रमध्ये उनले अधिकांशमा सहायक भूमिकामा काम गरिन् । तर सहायक भूमिकाबाटै उनले मुख्य भूमिकामा प्रस्तुत कलाकारले भन्दा बढी प्रशंसा पाउँदै गइन् । यसरी अभिनयको बलले, सहायक भूमिकाबाटै ‘चिनिन’ सक्थे सामर्थ्य राख्नु लक्ष्मीको विशेषता बन्यो ।

‘तपाईंको अभिनयको रहस्य के हो’ धेरैले लक्ष्मीसँग जिज्ञासा राख्छन् ।

‘म क्यारेक्टर, स्क्रिप्ट र टीम हेर्छु । अनि आफ्नो बलबुताले काम देखाउने पाटो कत्तिको छ त्यो हेर्छु’, अभिनयको छनोटबारे लक्ष्मी बताउँछिन् ।

यसो त लामो भूमिका भएको कमजोर क्यारेक्टरभन्दा बलियो भूमिका भएको छोटो क्यारेक्टरमा आफ्नो ध्यान जाने लक्ष्मी बताउँछिन् । ‘क्यारेक्टरलाई लिएर म कन्भिन्स हुनुपर्यो’ उनी भन्छिन्, ‘कलाकार त भर्सटायल हुन मन पराउँछ जस्तोसुकै भूमिका गर्न मन पराउँछ ।’

स्क्रिप्ट उनलाई एकपटक पढेर हुँदैन । दुई/तीनपटक पढ्नुपर्छ । स्क्रिप्ट पढिसकेपछि आफ्नो क्यारेक्टरलाई लिएर निर्देशकको ‘भ्यू’ बुझ्छिन् ।

नाटक र चलचित्र मात्र होइन् लक्ष्मीले थुप्रै छोटा चलचित्रमा पनि अभिनय गरेकी छिन् । पृथक् खालका म्युजिक भिडियो र सोही खालको अभिनयका कारण उनले एकपछि अर्को म्युजिक भिडियोमा समेत काम गरिन् ।

खासमा लक्ष्मीलाई म्युजिक भिडियोमा चिनाएको दयाहाङ राईसँगको अभिनयमा ‘परानै दिन्छु’ ले हो । त्यसपछि ‘जेल पनि सहुँला’ले उनलाई भिडियोमा पनि अब्बल कलाकार स्थापित गरिदियो ।

‘परानै दिन्छु’को भिडियो लक्ष्मीकै कन्सेप्टमा तयार भएको हो । ‘जेल पनि सहुँला’ लक्ष्मीकै निर्देशनमा ।

‘जेल पनि सहुँला’मा लक्ष्मीको अपोजिटमा देखिएका कलाकार जीवन भट्टराई उनका श्रीमान् हुन् ।

दुई वर्षअघि लक्ष्मी र जीवन वैवाहिक बन्धनमा बाँधिए । जीवन पनि नाटक र चलचित्रमा उत्तिकै रुचाइएका कलाकार हुन् । यो ‘रियल जोडी’ले थुप्रै म्युजिक भिडियोमा जोडीको भूमिकामा अभिनय गरेका छन् ।

****

आफ्नो अभिनय यात्राबाट सन्तुष्ट रहेको लक्ष्मी बताउँछिन् । ‘यो मैले आफूलाई खुशी पाएको क्षेत्र हो । सन्तुष्ट पनि छु’, उत्साही हुँदै उनी सुनाउँछिन् ।

आम्दानीको हिसाबले पनि हिजोभन्दा आज सहज हुँदै गएको उनी बताउँछिन् ।

भविष्यमा नाटक र चलचित्र पनि निर्देशन गर्ने सोच लिएकी लक्ष्मीले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् ।

अभिनय यात्राका क्रममा कलाकारिता मात्र नभई धैर्यको पाठ सिकेको लक्ष्मी सुनाउँछिन् । यसैले विषम परिस्थितिमा पनि धीर रहनु नै सफलताको रहस्य मान्ने लक्ष्मीको निचोड छ– ‘आजको भोलि सफलता खोजेर हुँदैन । आफू इमानदार भएर काम गर्ने हो भने एकदिन सफल भइन्छ ।’

(तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment