
१५ जेठ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
गुल्मीमा कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख १८ गते रातिदेखि लगाइएको निषेधाज्ञा शनिबार राति १२ बजे सकिंदैथियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुप जिल्लामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुलाउन पाइने भएको छ ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
जिल्लामा कोभिडको दोस्रो लहरबाट ६९६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण गुल्मीमा ७५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार २५८ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4