+
+
Shares

निर्माण सम्पन्न नहुँदै हस्तान्तरण गरिएको हुलाकी सडकमा धाँजा फाट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १४:५१

१५ जेठ, वीरगञ्ज । निर्माण पूरा नहुँदै नेपाल सरकारलाई हस्तान्तरण गरिएको हुलाकी सडकखण्डमा धाँजा फाटेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण हुलाकी सडक खण्डमा धाँजा फाटेको हो । निर्माण कम्पनीले छिटो सम्पन्न गर्ने बहानामा हतारमा कमसल काम गरेको आरोप स्थानीयले लगाएका छन् ।

हुलाकी सडकअन्तर्गत पर्साको चमरीहोलदेखि–ठोरीखण्डमा पर्ने ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा बाटो चिरा परेको हो । पुल नजिकै एकातर्फको भाग चिरा परेर भासिन लागेको स्थानीय हीरा श्रेष्ठले जानकारी दिए । ‘हुलाकी निर्माण पूरा भयो भनेर हस्तान्तरण भएको दुई महिना बितेको छ, तर धाँजा फाट्न थालिसकेको छ,’ उनले भने, ‘माटो राम्रोसँग पेलेर माथि पिच गर्नुपर्ने त्यसो गरेको रहेनछ, पानी पर्ने बित्तिकै फाटिएको छ । बाटो नै अवरुद्ध हुने स्थिति छ ।’

झण्डै १५ मिटरसम्म धाँजा फाटोको उनको भनाइ छ ।  हुलाकी सडकको दोस्रो प्याकेज अन्तर्गत ३० किमि लामो खण्ड निर्माणको ठेक्का बानियाँ/कालिका जेभीले पाएको थियो । २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको काम २०७७ जेठ २ सम्म काम सक्नुपर्ने थियो । लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिना म्याद थपिएको थियो । त्यस अवधिमा पनि ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै सडक हस्तान्तरण गरिएपछि स्थानीयले विरोध गरेका थिए ।

मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिएको र स्थानीयको अवरोधका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउँदै आएको छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?