+
+
Shares

सतलालको काल बन्यो ६ किलोमिटर हुलाकी सडक

राष्ट्रिय गौरवको आयोजना भनिएको ‘हुलाकी सडक’को दुर्दशा सतलालका लागि काल बनेर उभिइदियो । सडकको खाल्डाखुल्डीका कारण उनी समयमै अस्पताल पुग्न पाएनन् । सडकको खाल्डाखुल्डीमै प्राण त्यागे ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन ६ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाका सतलाल हलुवाईको विराटनगरस्थित अस्पताल लैजाने क्रममा हुलाकी सडकको खाल्डाखुल्डीका कारण एम्बुलेन्सभित्रै अक्सिजन पाइप खुस्किएपछि मृत्यु भएको छ ।
  • छ किलोमिटर सडक पार गर्न २० देखि २२ मिनेट लागेको र सोही क्रममा एम्बुलेन्स उफ्रिँदा बिरामीको अक्सिजन पाइप पटक-पटक खुस्किएको एम्बुलेन्स चालकले बताएका छन् ।
  • रामचोक-हाटखोला खण्डको ठेक्कामा विवाद र ठगीको अनुसन्धान भइरहँदा सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै हुलाकी सडक योजना कार्यालयले नयाँ ठेक्का प्रक्रिया शुरू गरेको छ ।

६ साउन, विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीका सतलाल हलुवाईले रातभर जाग्राम बसेर सोमबार बिहानसम्म विश्वकप फुटबल हेरे । तर फुटबल हेरेपछि सतलालको जीवनको लय भने बिग्रियो ।

अनिँदोपन र अचानक स्वास्थ्यमा आएको समस्याले उनलाई दिउँसो निकै गाह्रो भयो । श्रीमती बबिता दासले हतार-हतार स्थानीय गौरीगञ्ज अस्पताल पुर्‍याइन् । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकले तत्काल विराटनगरस्थित नोबेल मेडिकल कलेज रेफर गरिदिए ।

गौरीगञ्ज पालिकाको एम्बुलेन्समा राखेर उनलाई सोमबार दिउँसो हुलाकी सडक हुँदै विराटनगरतर्फ दौडाइयो । तर राष्ट्रिय गौरवको आयोजना भनिएको ‘हुलाकी सडक’को दुर्दशा सतलालका लागि काल बनेर उभिइदियो । सडकको खाल्डाखुल्डीका कारण उनी समयमै अस्पताल पुग्न पाएनन् । हुलाकी सडकको खाल्डाखुल्डीमै प्राण त्यागे ।

सतलालका जेठान अंचल दासका अनुसार जुडी खोला पुलसम्म बिरामीको अवस्था स्थिर थियो । तर पुल नजिकैको ठूलो खाल्डोमा एम्बुलेन्स उफ्रिँदा बिरामीलाई दिइएको अक्सिजनको पाइप खुस्कियो ।

‘हामी जाँदा जुडी खोला पुलसम्म बिरामीको अवस्था ठिकै थियो । त्यो पुलनेर ठूलो खाल्डो छ, त्यहाँ एम्बुलेन्स उफ्रिँदा अक्सिजनको पाइप निस्कियो । हामीले फेरि हाल्ने प्रयास गर्‍यौं, तर खाल्डाखुल्डीका कारण एम्बुलेन्स हल्लिरह्यो, अक्सिजन निस्कि रह्यो, हामीले हालिरह्यौं,’ मृतकका जेठान दासले भने, ‘त्यसको १०-१५ मिनेटमै उहाँको शरीर चिसो भयो ।’

विराटनगरको हाटखोला नपुग्दै सतलालको सास रोकिइसकेको थियो । तैपनि, आशा नमरेका आफन्तले उनलाई नोबेल अस्पताल पुर्‍याए । ‘अस्पताल पुग्नेबित्तिकै डाक्टरले किन ढिलो गर्नुभयो भन्नुभयो,’ दासले भावुक हुँदै भने, ‘सडक राम्रो भएर १५–२० मिनेट मात्र अगाडि पुर्‍याउन सकेको भए मेरो ज्वाइँ बाँच्नु हुन्थ्यो ।’

उच्च सुगर र न्यून रक्तचाप (लो प्रेसर) का कारण बिरामी परेका हलुवाईको मृत्युको मुख्य कारण सडकको जीर्ण अवस्था भएको दाबी परिवारको छ । मंगलबार उनको दाहसंस्कार गरिएको छ, परिवार मृत्यु संस्कारमा बसेको छ ।

५ मिनेटको बाटो काट्न २२ मिनेट

हुलाकी सडकको रामचोक-हाटखोला खण्ड जीर्ण छ । हलुवाईलाई लिएर विराटनगर आएका एम्बुलेन्स चालक विश्व ताजपुरियाका अनुसार करिब ६ किलोमिटरको सो खण्ड पार गर्न मात्रै २० देखि २२ मिनेट लाग्यो ।

‘सामान्य अवस्थामा यो बाटो ५ देखि ७ मिनेटमा पार गर्न सकिन्छ,’ चालक ताजपुरियाले भने, ‘तर यति धेरै खाल्डाखुल्डी छन् कि बिरामी र गाडी जोगाउनै मुस्किल पर्छ । २०-२५ गतिमा पनि गाडी गुडाउन सकिँदैन ।’

अप्रेसन गरेका वा गम्भीर बिरामीलाई त यो ६ किलोमिटर पार गराउन आधा घण्टासम्म लाग्छ । ‘बाटो अफ्ठ्यारो भएपछि विस्तारै लैजानुको विकल्प छैन, तर बिरामीलाई गाह्रो हुन्छ,’ उनले भने, ‘उहाँलाई अलिक गाह्रो भएर फुल अक्सिजन खोलेर लगिएको थियो । खाल्डाखुल्डीमा पाइप निस्किँदा कुरुवाले लगाइदिनु भयो ।’

हुलाकी राजमार्गको मोरङ खण्ड ४४ किलोमिटर लामो छ । त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्मको ६ किलोमिटर खण्ड लामो समयदेखि अलपत्र छ । यो सडकमा एम्बुलेन्स २०-२५ किलोमिटर प्रतिघन्टाको गतिमा गुडाउन पनि मुस्किल पर्ने अर्का एम्बुलेन्स चालक गोविन्द यादवले बताए ।

२०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले रामचोक-हाटखोला खण्डको ठेक्का लिएको थियो । तर निर्माण व्यवसायी सुभाष श्रेष्ठले विराटनगरका विवादित पृष्ठभूमिका व्यक्ति अभिषेक गिरीलाई पेटी ठेक्का दिएका थिए ।

गिरीले सडकमा काम गर्नुको साटो निर्माण व्यवसायीलाई नै धम्क्याएको र सम्पत्ति हत्याएको आरोप छ । अहिले यो प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

ठेकेदार र पेटी ठेकेदारबीचको विवाद र ठगीको अनुसन्धान चलिरहँदा सर्वसाधारणले भने ज्यान गुमाउनु परेको छ ।

सफारी चलाएर परिवार पाल्दै आएका सतलाल हलुवाईका साना छोराछोरी र श्रीमती छन् । ‘बाटो ज्यानमारा भयो, जेठान अंचल दासले भने, ‘आज मेरो ज्वाइँले ज्यान गुमाउनु भयो, भोलि अरूले यस्तो भोग्नु नपरोस् ।’

हुलाकी सडक योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुरानो ठेक्का रद्द भई अहिले यो ६ किलोमिटर खण्डका लागि नयाँ ठेक्का आह्वान भइसकेको छ । ठेक्का नलाग्दासम्म सडकको खाल्डाखुल्डी आयोजनाले नै पुर्ने उनले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?