Comments Add Comment

किन घट्यो कोरोना परीक्षण ?

१६ जेठ, काठमाडौं । आइतबार देशभरमा जम्मा ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना महामारीको दोस्रो लहरकै सबैभन्दा धेरै ९४८३ संक्रमित वैशाख २८ गते एकै दिन थपिएको थियो भने जेठको दोस्रो साता औषतमा दैनिक ८ हजार संक्रमित भेटिएका थिए ।

तर तेस्रो साताको पहिलो दिन अर्थात १५ गते ४४८७ जनामा संक्रमण पुष्टि भयो भने १६ गते अर्थात आज अझ घटेर ४३६९ मा आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक हेर्दा एक महिनादेखि निषेधाज्ञा झलिसकेका आम नागरिकलाई कोभिड-१९ को संक्रमण नियन्त्रणउन्मुख लाग्नु स्वभाविक हो । तर दैनिक परीक्षणलाई हेर्ने हो भने पछिल्ला दुई दिनमा दैनिक पहिचान हुने संक्रमितको संख्या आएको गिरावट स्वभाविक देखिन्न ।

मन्त्रालयको तथ्यांकअनुुसार अघिल्लो सातासम्म २० हजार हाराहारी रहेको परीक्षण शनिबार घटेर १४ हजार ७५२ मा आइपुगेको छ । आइतबार त देशभरमा १२ हजार ७७० नमुना मात्र परीक्षण भएको पाइएको छ ।

गते परीक्षण संक्रमित
जेठ १ १८,५४८ ८,१६७
१९,८८३ ७,२६८
२२,०८७ ९,२४७
२०,९७९ ८,२०३
२१,८४७ ८,१७३
२२,०८७ ८,३०५
२३,२२६ ८,६०७
२०,१०५ ८,९८०
१९,९२६ ७,९१४
१० २०,४५३ ७,४२५
११ २२,९३६ ८,६३६
१२ १९,३५२ ६,७१४
१३ २०,९९२ ६,९३९
१४ २०,११० ६,९५१
१५ १४,७५२ ४,४८७
१६ १२,७७० ४,३६९

परीक्षण आधा नै घट्दा पनि संक्रमण दर भने उस्तै छ । जेठ १४ गते २० हजार ११० नमुना परीक्षण गर्दा ६ हजार ९५१ मा संक्रमण पुष्टि भयो । संक्रमण दर ३४.५६ प्रतिशत छ । १६ गते आइतबार कोरोना परीक्षण घटेर १२ हजार ७७० मा झरेको छ भने ४३६९ मा संक्रमण देखिएको छ । संक्रमण दर भने ३४.२३ प्रतिशत देखिएको छ ।

कहाँ घट्यो परीक्षण ?

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि जारी निषेधाज्ञालाई यही शुक्रबारबाट निकै कडा पारिएको छ । शनिबारबाट एकाएक परीक्षण घटेको छ ।

घट्दो परीक्षणको ठूलो हिस्सा बाग्मती प्रदेशकै छ । मन्त्रालयको तथ्यांकअनुसार जेठ १४ गते बाग्मती प्रदेशका सबै प्रयोगशालामा गरी ११ हजार ३३७ नमुनाको पीसीआर परीक्षण भएको थियो । १५ गते घटेर ७ हजार ९२ मा आइपुगेको छ भने १६ गते आइतबार ४७१५ नमुना मात्र परीक्षण भएको छ । संक्रमण दर भने ३५ प्रतिशत भन्दामाथि नै छ ।

गाउँगाउँमा एन्टिजेन पुगेका कारण प्रयोगशालासम्म आएर कोरोना परीक्षण गर्नेहरु कम भएको हुनसक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताउँछन् । ‘एन्टिजेन स्थानीय तहहरुमा पठाएका छौं । गाउँमै परीक्षण हुने भएपछि त्यसको पर्खाइमा बसेको हुन सक्छ’ उनले भने, ‘अन्य कारणहरु भए अध्ययनपछि मात्रै भन्न सकिन्छ ।’

तर जुन अनुपातमा पीसीआर टेष्ट घटेकोछ, त्यसअनुसार एन्टिजेन टेष्ट बढेको छैन । मन्त्रालयको तथ्यांकअनुसार १४ जेठमा ७९७ र १५ गते ७४६ जनाको एन्टिजेन परीक्षण भएको थियो । आइतबार १६ गते भने एन्टिजेन परीक्षण गराउनेको संख्या बढेर १७८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले भने एन्टिजेन परीक्षण केही दिनपछि अझ बढ्ने उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. लुना झा भने समुदायमा संक्रमण कम हुँदै गएका कारण परीक्षण कम हुन गएको हुनसक्ने बताउँछिन् । उनका अनुसार दोस्रो लहरमा संक्रमण उच्च हुँदा संक्रमण दर ४४.४९ प्रतिशत थियो । ‘संक्रमण दर उच्च हुँदा एकैपटक परीक्षण गर्ने संख्या ठूलो थियो,’ उनले भनिन्, ‘पछिल्लो समय संक्रमण दर घटेसँगै परीक्षण पनि १२ हजारको हाराहारीमा आएको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. अपुन बास्तोला पनि दुई साता अघिको तुलनामा सिकिस्त भएर आउने विरामीको संख्या केही कम भएको बताउँछन् । तर अझै पनि समुदायमा संक्रमण भएकाले परीक्षण गरेर संक्रमितको पहिचान गर्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment