Comments Add Comment

इतिहास ओलीसँग रहेन

अहिले नेकपा एमालेमा वामपन्थ होइन, ‘रामपन्थ’ हावी हुने खतरा छ । त्यसैले जो–जो केपी ओलीलाई एकल नेता मान्न तयार हुन्छन्, उनीहरू मात्रै पार्टीमा रहन्छन् भन्ने सोच विकास भएको छ । जबकि एउटा कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्छ । त्यो भनेको केन्द्रीय कमिटीको सर्वोच्चता, सबै सदस्य केन्द्रीय कमिटीको मातहत, व्यक्ति संगठनको मातहत र एउटा महाधिवेशनको निर्णय अर्को महाधिवेशनले मात्रै परिवर्तन गर्न सक्छ ।

तर एमालेको हविगत एक रूसी कविले भनेजस्तै भएको छ– तिमी आफू गद्दार छौ भने अरूलाई गद्दारीको आरोप लगाइदेऊ । तिमी आफू गडबड छौ भने अरूलाई औंला ठड्याइदेऊ ।

नत्र, नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व र विधान कायमै हुनेथियो । कसैलाई पार्टी विभाजनको आरोप लगाइरहनुपर्ने अवस्था नै निम्तने थिएन । यो संकटको प्रमुख कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘सम्मानको लिप्सा’ हो । उहाँ जरा काटेर हरियो रूखको सपना देखिरहनुभएको छ ।

म बारामा १६ महीना हलो जोतेर बसें । साथीहरू भूमिगत बस्न नसक्ने अनि श्रम गर्ने जाँगर पनि नभएका । मोहनचन्द्र र केपी दिनभर भलिबल खेल्नु हुँदोरहेछ

झापा विद्रोह र अन्तरसंघर्ष 

आजको नेकपा एमालेको संगठन, विचार, नेतृत्व निर्माण २०२७ देखि २०४७ को अवधिमा निर्माण भएको हो । त्यसपछि त हामी चुनावदेखि चुनावमा छौं । तर जुन बेला हामीले एमाले धार निर्माणको राजनीतिक सक्रियता र पहलकदमी शुरू गरेका थियौं त्यसबेला कम्युनिष्ट पार्टीहरू विभाजित थिए– पुष्पलाल समूह, मसाल समूह, पूर्वकोशी मनमोहन समूह इत्यादि । पूर्व कोशी प्रान्तीय समूहबाट २०२८ साल भदौमा हामी फुट्यौं । फुट्ने विवाद एक वर्ष अगाडि नै शुरू भएको थियो । झापा जिल्ला कमिटी बन्यो ।

तर हामीबीच विवाद भयो– मान्छे मार्नेबारे । नक्सलपन्थीबाट प्रभावित भएकाले चारु मजुमदारलाई नेता मान्थ्यौं । चारु मजुमदार हाम्रो नेता हुन्न, हाम्रै देशका नेता हुन्छन् भन्ने विषय उठ्यो । मान्छे मारेर क्रान्ति हुँदैन, त्यो बाटो नै गलत छ भन्ने र त्यही गर्नुपर्छ भन्ने विवाद भयो ।

त्यसै बेला भारतका कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नौ बुँदे सुझाव गयो । सीपीसीले क्रान्तिको बाटो र नेताबारे पनि सुझाव पठाएको थियो । सीपीसीको भनाइ थियो– ‘तिमीहरूको क्रान्ति होइन, व्यक्ति हत्याले क्रान्ति हुँदैन र चीनको अध्यक्ष, हाम्रो पनि अध्यक्ष भन्ने नारा गलत छ । एउटा देशको अध्यक्ष, अर्को देशको अध्यक्ष हुँदैन ।’

यो विषय हामीले पनि उठायौं । रामनाथ दाहाल, मोहनचन्द्र अधिकारी, केपी ओली र म त्यो लाइनमा थियौं । तर आरके र सीपी मैनालीहरू सहमत हुनुभएन । सुरूमै दुई लाइन संघर्ष भयो । धर्मप्रसाद ढकाल मारिएपछि कोर्स अगाडि बढ्यो, पार्टीभित्र द्वन्द्व चर्कियो ।

मोरङका विद्यार्थीले भूमिगत बस्ने मान्छे खोज्न आएकाले २०२९ मा म मोरङको सचिव भएँ । जोगवनीमा माधव नेपालसँग भेट भयो । उता, झापामा सीपीहरूले मोहनचन्द्रलाई टिक्न दिएनन् । हत्याको बाटोले पार्टी बन्दैन भन्ने हाम्रो बुझाइ थियो ।

अनि मोहनचन्द्र र हामीहरूले सल्लाह गर्‍यौं– पार्टी बनाउन म नारायणी पुगें । मोहनचन्द्र, पुष्पलालसँग सल्लाह गर्छु भनेर हिंड्नुभयो । तर सम्पर्कमा उहाँ आउनुभएन । रामनाथ पक्राउ परेपछि केपी ओली हराउनुभयो । पछि मोहनचन्द्र र केपी ओली माधवकुमार नेपालको सम्पर्कमा आउनुभएछ । माधव नेपालले रौतहटका कृष्णप्रसाद भण्डारी (वरिष्ठ अधिवक्ता) को सहयोगमा रौतहटमा राख्नुभयो ।

म बारामा १६ महीना हलो जोतेर बसें । साथीहरू भूमिगत बस्न नसक्ने अनि श्रम गर्ने जाँगर पनि नभएका । मोहनचन्द्र र केपी दिनभर भलिबल खेल्नु हुँदोरहेछ ।

मोहनचन्द्रसँग वीरगञ्जमा मेरो भेट भएको एक सातापछि पक्राउ पर्नुभयो । मधेशको गाउँमा भलिबल खेल्न गएपछि पहिचान गर्न सजिलो हुनेथियो । वीरगञ्जको भेटमा मोहनचन्द्रसँग मेरो विवाद नै भयो । मोहनचन्द्र र केपी जेल बस्नुभयो, १४ वर्षपछि छुट्दा कम्युनिष्ट घटकहरू गोलबन्द भएर सशक्त र एकताबद्ध पार्टी निर्माण भइसकेको थियो ।

मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, ईश्वर पोखरेल लगायत जेल बाहिर रहेका नेताहरू (कहिले पक्राउ पर्ने र छुट्ने गर्दै) संगठन, विचार र नेतृत्व निर्माणमा क्रियाशील हुनुभयो ।

कोकेको एकता यात्रा

२०३२ सालमा फेरि हामी आठ जना जुटेर कोर्डिनेसन केन्द्र बनाऔंं– सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने, मणिलाल राई, गोविन्द न्यौपाने र एक जना भारतीय नागरिक थिए । गोविन्द न्यौपाने र मणिलाल राई राजनीतिबाट अलग हुनुहुन्छ । भारतीय नागरिक उतै गए ।

तर सीपी, गोविन्द न्यौपाने, माधव नेपाल, झलनाथ खनाल एकपछि अर्को गर्दै पक्राउ पर्नुभयो । बाँकी रहेका नेताहरूले साथीलाई छिपाउने र संगठन निर्माणमा जोड दिइरहे । कोके बनेको एक वर्षपछि मणिलाल राई, म र ईश्वर पोखरेल बाहिर थियौं । कार्यकर्ता जोगाउनुपर्ने दायित्व थियो । कसैलाई धनुषा र कसैलाई बारा पठाउने गरियो ।

२०३३ सालको अन्तिमतिर सीपीहरू जेल तोडेर निस्किनुभो । माधव नेपाल छुट्नुभयो । २०३४ सालमा मुक्ति मोर्चाका नेताहरू मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतमहरू आउनुभयो । उहाँहरू पुष्पलालबाट फुट्नुभएको थियो ।

२०३५ साउनको धनुषा बैठकले कोके र मुक्ति मोर्चा एकता गर्ने भन्ने भयो । त्यसैमा पूर्वको रातो झण्डा पनि आयो । २६ डिसेम्बर (माओत्सेतुङको जन्मदिन पारेर) २०३५ मा मदन भण्डारीको गाउँ मोरङको इटहरामा नेकपा माले गठन भयो । कार्यविभाजन भयो– मदन भण्डारी कोशी, जीवराज आश्रित लुम्बिनी, माधव नेपाल जनकपुर, ईश्वर पोखरेल सगरमाथा, झलनाथ खनाल मेची, अमृत बोहोरा वागमती लगायत ।

अन्तरसंघर्ष, एकता र सफलता

२०३६ सालको जनमतसंग्रहमा कांग्रेसले भाग लियो । वाम शक्तिहरूले बहिष्कारको नीति लियौं । त्यो बेला पार्टीभित्र अन्तरसंघर्ष देखियो । तर बहिष्कारकै नीति लिए पनि हामीलाई पार्टी निर्माणको ठूलो अवसर प्राप्त भयो । लुकेर हिंड्नुपर्ने बाध्यतालाई दिउँसै संगठन गर्ने बाटो खुल्यो ।

कांग्रेसले सभाहरू गर्थे । हामी त बहिष्कारको नीतिमा थियौं । तर सांस्कृतिक अभियान देशभर पुग्यो । संकल्प परिवार सांस्कृतिक कार्यक्रम लिएर देशभर निस्कियो । कुनै कुनै ठाउँमा पाँच हजारसम्मको समेत सहभागिता भयो । भित्ताहरूमा मालेको पोष्टर देखिन थाल्यो । जनसमर्थन र कार्यकर्ता पंक्तिको निर्माण तीव्र भयो ।

तर पार्टीभित्र अन्तरसंघर्ष चर्कियो । प्रधान अन्तरविरोध राजासँग नभनेर सीपी मैनाली दलाल पूँजीवाद यस्तै शब्द के–के भन्नुहुन्थ्यो । शान्ति क्षेत्रको राजाको प्रस्ताव समर्थन गर्नुपर्छ भन्ने सीपीको कुराले हामीमा शंका भयो– ‘कतै राजासँग मिल्न लागेको त होइन !’

२०३९ सालसम्म सीपीले चार पटक राजीनामा बुझाइसक्नुभएको थियो । जेलमा भएका आरके मैनाली सहितका नेताहरू पनि सीपीको विपक्षमा उभिनुभएको थियो । अतः २०३९ मा सिन्धुली र महोत्तरीको बीचमा पर्ने कालापानी बैठकबाट सीपीलाई हटाएर झलनाथ खनाललाई महासचिव बनायौं । मालेको वरीयतामा माधव नेपाल दोस्रो र झलनाथ खनाल तेस्रो वरीयतामा हुनुहुन्थ्यो ।

झलनाथ नेतृत्वमा आएपछि नीति बदलियो । खुला संघर्षलाई उपयोग गर्ने लेनिनको नीति अपनाइयो । त्यो नीतिले माले देशव्यापी संगठन भएको पार्टी बन्यो । मुख्यगरी २०४३ मा जनपक्षीय उम्मेद्वार खडा गरेपछि जनपक्षीय उम्मेद्वारहरूकै पार्टी माले बन्यो । प्रधानपञ्च र वडाध्यक्षहरू झण्डै एक हजार निर्वाचित भए । भूमिगत रहने नेताहरूको सेल्टर अब प्रधानपञ्चको घर बन्न पुग्यो । वैधानिक मञ्च उपयोग गरेर सुरक्षित ढंगले मालेको उपस्थिति र आकार बढाइयो ।

राष्ट्रिय राजनीतिमा हस्तक्षेप राख्ने पार्टी बन्यो– माले । कांग्रेससँग वार्ता चल्न थाल्यो । वाम मोर्चा निर्माणतिर पहल भयो । जनआन्दोलनको पृष्ठभूमि निर्माणमा माले निर्णायक शक्ति बनिसकेको थियो । जेलमा भएका केपी ओलीहरू त्यही समयमा बाहिर निस्किनुभएको हो ।

जनआन्दोलन सफल भयो । पार्टी नेतृत्वमा मदन भण्डारी आउनुभएको थियो । मार्क्सवादीसँग पार्टी एकता भयो । एमाले बन्यो । पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) पाँचौं महाधिवेशनबाट पारित भयो । जबज पारित हुने बेलासम्म पार्टीभित्र सघन वैचारिक बहस भयो । वैचारिक अन्तरविरोधले पार्टीलाई झनै सशक्त र बलियो बनाउने काम गरेको थियो । तर आज एमालेको यो इतिहास र इतिहास बनाएका नेता ओलीसँग रहेनन् ।

र, केपी ओली

जेलमा रहेका साथीहरूले पार्टी निर्माणको कठिन दिनहरूको अनुभव गर्न पाउनुभएन । जेल बसेका साथीहरूसँग जनताको बीचमा बसेर संगठन निर्माण गरेको अनुभव भएन । उत्पादन संघर्ष, सामाजिक संघर्ष र वैज्ञानिक प्रयोग ज्ञान निर्माणका आधारभूत कुरा हुन् । तर उहाँहरूमा सामाजिक आन्दोलनको गहिरो ज्ञान भएन । किनभने त्यसरी समाजमा बस्नै परेन । संगठन बनाउनु नै परेन । त्यसैले अहिले भटाभट गल्ती देखिन थालेको छ ।

(न्यौपानेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीमा आधारित ।)

यो पनि पढ्नुहोस कस्तो होला झलनाथ–माधव विनाको एमाले ?     यो पनि पढ्नुहोस जहाँ केपी ओली, त्यहीं मूल प्रवाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment