Comments Add Comment

कृषिबाट १० वर्षमा १३.५ प्रतिशत जनसंख्या पलायन

१७ जेठ, काठमाडौं । पछिल्लो १० वर्षमा कृषि पेशाबाट पलायन हुने जनसंख्याको आकार १३.५ प्रतिशत पुगेको छ । जसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको सरकारी अध्ययनबाट देखिएको छ ।

आर्थिक वर्ष २०६८/६९ देखि चालु आर्थिक वर्षको अन्त्यसम्म कृषि, वन र मत्स्यपालनबाट कृषकहरु पलायन हुने दर बढेको हो । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार २०६८/६९ मा ७३.९ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६०.४ प्रतिशतमा झरेको छ । कृषिमा आधारित जनसंख्या पलायनको असर मुलुकको कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पुर्‍याउने योगदानमा पनि देखिएको छ । १० वर्षको अविधिमा कृषिबाट जीडीपीमा हुने योगदान ६.९ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०६८/६९ मा जीडीपीमा कृषिको योगदान ३२.७ प्रतिशत रहेकोमा चालु आवको अन्तिमसम्म यो आकार २५.८ प्रतिशत मात्रै रहने सरकारी अनुमान छ । कृषिमा आश्रित सक्रिय जनसंख्या घट्नुको कारण कृषि विकासमा अवलम्बन गरिएको व्यवसायीकरण र आधुनिकीकरण प्रमुख भएको सरकारी दाबी छ ।

झट्ट हेर्दा कृषिबाट जनशक्ति पलायन हुनु नराम्रो जस्तो देखिए पनि कम जनसंख्याबाट ठूलो व्यावसायिक उत्पादनलाई जोड दिइएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. श्रीराम घिमिरे बताउँछन् । जीडीपीमा कृषिको योगदान घटाउने तर आकार बढाउने नीतिअनुसार कृषिको आधुनिकीकरण र व्यवसायिकतामा ध्यान दिइएको उनले बताए ।

कृषिबाट पलायन भएको जनसंख्या अर्थतन्त्रको अर्को क्षेत्रमा गएर योगदान गरिहेका छन्, हामी कम आश्रित कृषि जनसंख्याबाट प्रविधिको प्रयोगसँगै मास उत्पादनमा जान चाहन्छौ यसलाई नकारात्मक मान्न हुँदैन,’ सहसचिव डा. घिमिरेले भने । अमेरिकामा तीन प्रतिशत जनसंख्याले गरेको कृषि उत्पादनले मुलुकको मागलाई धानेको जस्तै नेपाल पनि सोही बाटोमा रहेको उनले प्रष्ट्याए ।

कृषिको कुल ग्राहस्थ उत्पादनमा योगदान र जनशक्ति घट्नु कृषि विकासको सूचक भएको उनले दाबी गरे । कृषिमा राम्रो अवसर नपाएर पेशा परिवर्तन भएको रुपमा यसलाई व्याख्या गर्न चाहिं कृषिमा रहेका जनशक्तिले राम्रो अवसर नपाएको हुनुपर्ने उनको भनाइ छ ।

औद्योगिक विकासको गतिले परम्परागत कृषि छोडेर मानिसहरु सेवा र उद्योग क्षेत्रमा प्रवेश गरेका कारण यो तथ्यांक देखिएको कृषि विज्ञ उत्तरकुमार भट्टराई बताउँछन् । कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान प्रतिशतमा नभई रुपैयाँमा गणना गर्नुपर्नेमा उनले जोड दिए । ‘कृषिका जनशक्ति उद्योग र सेवामा प्रवेश भएका छन्, नेपालको परम्परागत खेती प्रणालीमा आधारित आर्थिक जग अब पर्यटन, सेवा र उद्योगमा सर्दैछ,’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment