Comments Add Comment

सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ ।

सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको  बताएको हो ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ । त्यसैले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन ।’

अघि भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ ।’ सरकारको लोकप्रियता कति छ भनेर उसले जानेको होला भन्दै उनले नजानेको भए चुनाव भएको दिन थाहा हुने बताए ।

नेता रिजालले बजेट वक्तव्यमा भ्रमको खेती गरी जनमत प्रभावित गर्ने सरकारी दुरासय देखिने बताए । ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशको जुन तारा नै खसाल्छु भन्ने भ्रमको खेती गर्न अघिल्लो निर्वाचनमा झै गरी जनमत प्रभावित गर्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट छ ।’

उनले आगामी आर्थिक बर्ष र चालु आर्थिक बर्षका लागि संसोधन गरिएको राजश्व संकलन गर्ने योजना विफल हुने ठोकुवा गरे । नेता रिजालले सरकारले नागरिकको थाप्लोमा ऋणको बोझ बढाएर अनुत्तरदायी व्यवहार र आचरणको प्रदर्शन गरेको टिप्पणी गरे ।

‘भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन संभव छैन । नागरिकको थाप्लोमाथिको ऋण अझै बढ्ने छ । सरकारले अनुत्तरदायी व्यवहार र आचरणको पराकाष्ट नाघेको छ’ उनले भने ।

कोरोनाको पहिलो लहरले १२ लाख नेपालीलाई वेरोजगार बनाएको र दोस्रो लहरले थप वेरोजगारी बढाएको, खोपको सुनिश्चितता गर्न नसक्दा अपेक्षा गरिए अनुसार राजश्व संकलन, पुँजीगत खर्च लगायतका बजेटमा गरिएको आम्दानीका अन्य लक्ष्यहरु पुरा हुन नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment