+
+
Shares

विद्युतीय सामाग्रीको भाउ कति घट्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १७:२९
फाइल तस्वीर

१८ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले घरायसी विद्युतीय सामाग्रीको भन्सार दरमा छुटको घोषणा गर्‍यो ।

यसअघि बिलासिताको सामानको रुपमा अन्त: शुल्क र ३० प्रतिशतसम्म भन्सार महसुल लगाइएको यी वस्तुमा सरकारले अन्तशुल्क र पाँचदेखि १० प्रशितसम्म भन्सार महसुल घटाएको छ । विद्युतीय उपकरणको प्रयोग बढाएर विद्युत खपत बढाउन सरकारले यस्तो निर्णय लिएको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले दाबी गरेका छन् ।

भन्सार घटेका विद्युतीय सामग्री

सरकारले आर्थिक अध्यादेशमार्फत वासिङ मेसिन र भाँडा माझ्ने डिस वासर, फ्रिज, राइस कुकर, विद्युतीय केट्ली, पानी तताउने जग र किरा मार्ने ट्रयापको भन्सार दर र अन्तशुल्क घटाएको छ ।

यस्तै टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर घटेको छ ।

आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि घटेको छ भने इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर एक प्रतिशतमा झारिएको छ ।

कहिलेबाट लागू हुन्छ घटेको मूल्य

सरकारले भन्सार र अन्तशुल्क घटाएपछि वस्तुको सामान स्वतः पहिले भन्दा सस्तो हुने भन्सार विभागले जनाएको छ । शनिबार बजेट भाषण सकिनेवित्तिकै भन्सार यार्डबाट भन्सार पास नभएका सामानमा नयाँ भन्सार दर लागू हुने विभागका प्रवक्ता एवं निर्देशक शिशिर घिमिरेले बताए ।

अन्त शुल्क र भन्सार दर गरेर कम्तीमा पाँच देखि १५ प्रतिशतसम्म कर घटेका कारण उपभोक्ताले घरायासी विद्युतीय सामाग्रीमा राम्रै छुट पाउने उनको दावी छ ।

कुन वस्तुमा कति मूल्य घट्छ भन्ने यकिन विवरण भने अहिल्यै थाहा नहुने घिमिरेले बताए । ‘एउटै वस्तुको उत्पादन र गुणस्तर अनुसार मूल्य फरक पर्ने भएकाले करको दरका कारण ठ्याक्कै कति मूल्य घट्छ भन्न चाहिँ सकिन्न,’ घिमिरेले भने,‘ ब्यापारीले खरिद मूल्य, ढुवानी खर्च, सरकारलाई तिरेको कर र आफ्नो नाफा राखेर बजार मूल्य निर्धारण गर्ने हो ।’

कति घट्छ मूल्य ?

नेपालमा घरायसी विद्युतीय सामाग्रीको कारोबार गर्ने एक कम्पनीका उच्च अधिकारीका अनुसार विद्युतीय उपकरण ६ प्रतिशतसम्म सस्तो हुनेछ । नाम खुलाउन नचाहेका ती अधिकारीकाअनुसार सरकारले अन्त शुल्क र भन्सार दर १० प्रतिशत छुट गर्दा बजार मूल्य ६ प्रतिशत कम हुने उनको दावी छ ।

‘विगतमा भन्सार बढ्दा र घट्दा हामीले यस्तो हिसाब निकाल्थ्यौं त्यो सूत्र अहिले पनि लागू हुन्छ । सरदर अब घट्ने मूल्य त्यही नै हो,’ ती अधिकारीले भने ।

सरकारले भन्सार शुल्क घटाएका सामानको बजार मूल्य स्वाभाविक रुपमै घट्ने नेपालको ठूलो घरायसी विद्युतीय सामग्रीको वितरक सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । नयाँ भन्सार पास भएर आएका सामान सस्तो हुने चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले बताए ।

‘बजार खुलेपछि सरकारले घोषणा गरेका सामानमा छुट कार्यन्वयनमा आउँछ तर कुन वस्तुमा कति मूल्य छुट हुने भन्ने चाहिँ अध्ययन गरेर मात्रै भन्न सक्छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?