+
+

विमानस्थलको नामकरण : अन्तर्राष्ट्रिय अभ्यास के छ ? नेपालमा के गरियो ?

प्रकाश शर्मा ढकाल प्रकाश शर्मा ढकाल
२०७८ जेठ २० गते १६:४१
तस्वीर : ताप्लेजुङको सुकेटार विमानस्थल

आ.व. २०७८-७९ को बजेट वक्तव्यको बुँदा नं. ३५६ मा ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल तथा तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामकरण गरिने उल्लेख छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वाचन गरेपछि ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनलाई लिएर बहस शुरू भएको छ ।

बजेट वक्तव्यलगत्तै ताप्लेजुङवासीले विरोध जनाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद एवं पूर्व नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि स्थानीयहरूसँग व्यापक छलफल नगरी निर्णय गरिएको भनेर असहमति जनाएका छन् ।

स्थानीय समुदाय एवं पूर्वमन्त्रीले स्व. रवीन्द्र अधिकारीप्रति सम्मान रहेको भए पनि उक्त विमानस्थलसँग उनको सम्बन्ध एवं नाम परिवर्तन गर्नुको स्पष्ट आधार नभएको भनी विरोध गरेका समाचारहरू बाहिर आएका छन् ।

कति छन् विमानस्थल ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा ५४ वटा विमानस्थल छन् । जसमध्ये ३५ वटा विमानस्थल संचालनमा छन् । विभिन्न १९ विमानस्थल अहिले संचालनमा छैनन् ।

५४ विमानस्थलमध्ये अन्तर्राष्ट्रिय विमानस्थल एक, हव विमानस्थल चार वटा छन् भने अन्य आन्तरिक विमानस्थलको रूपमा रहेका छन् । बाराको निजगढ, कास्कीको पोखरा तथा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माणको क्रममा छन् ।

विमानस्थलको नाम कसरी राखिएको छ ?

नेपालका आन्तरिक, हव तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूको नामकरण एकाध बाहेक स्थानविशेषको नामबाट राखिएको छ । पोखरा, नेपालगञ्ज, धनगढी र बलेवा विमानस्थल यसका उदाहरण हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्व.राजा त्रिभुवनको नामबाट नामकरण गरिएको देखिन्छ भने संचालनमा रहेका अन्य दुई विमानस्थलको नाम पनि व्यक्तिविशेषको नामबाट नामकरण भएको छ । सोलुखुम्वु जिल्लाको लुक्ला विमानस्थल प्रथम सगरमाथा आरोहीहरू तेन्जिङ र हिलारीको नामबाट नामकरण गरी तेन्जिङ–हिलारी विमानस्थल राखिएको छ ।

त्यसैगरी खोटाङको खानीडाँडास्थित विमानस्थललाई मनमाया राई विमानस्थल राखिएको देखिन्छ । रूपन्देहीस्थित विमानस्थलको नामकरण शान्तिका अग्रदूत भगवान गौतम बुद्धको नामबाट नामकरण गरिएको छ । अन्य विमानस्थलहरू भौगोलिक नामकै आधारमा नामकरण भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास

विमानस्थलको नाम राष्ट्रका लागि विशिष्ट योगदान दिने व्यक्ति, देशको स्वतन्त्रता वा अन्य आन्दोलनमा अहम् भूमिका निर्वाह गरेका व्यक्ति, धार्मिक व्यक्तित्व, संस्कृति विशेषसँग जोडिएका व्यक्ति, भौगोलिक स्थानविशेषका नामबाट नामकरण गर्ने प्रचलन विश्वभरि नै रहेको देखिन्छ ।

राष्ट्रिय जीवनमा अतुलनीय योगदान पुर्‍याएका व्यक्तिको हकमा देशको जुनसुकै विमानस्थलको नाम पनि नामकरण भएको देखिन्छ भने कुनै खास जाति, संस्कृति, क्षेत्रविशेषका लागि योगदान पुर्‍याएका व्यक्तिको नामबाट सोही स्थानविशेषमा अवस्थित विमानस्थलको नामकरण गरिएको देखिन्छ ।

विमानस्थल र अन्य संरचनाहरूको नामकरणको आधार, विधि र प्रक्रिया निर्धारण सम्बन्धमा अहिले कानूनी शून्यता छ, यसको अन्त्य गर्नुपर्ने खाँचो छ ।

प्रथम राष्ट्रपति, प्रथम प्रधानमन्त्री वा जनमुक्ति आन्दोलनका नेतृत्वकर्ताको सम्मानस्वरुप पनि नामकरण भएको छ । यसैगरी कतिपय देशहरूले वर्तमान शासकका नामबाट पनि नामकरण गरेको पाइन्छ ।

अमेरिकाका अब्राहम लिंकन क्यापिटल एअरपोर्ट, जर्ज बुस इन्टरकन्टिनेन्टल एअरपोर्ट, जोन एफ. केनेडी इन्टरनेशनल एअरपोर्ट; बन्दरनायके इन्टरनेशनल एअरपोर्ट, श्रीलंका; इन्दिरा गान्धी इन्टरनेशनल एअरपोर्ट, दिल्ली एवं नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यस्तै राष्ट्रिय व्यक्तित्वको नामबाट नामकरण गरिएका विमानस्थलहरू हुन् । मलेशियामा त्यहाँका सुल्तानहरूको नाममा पनि नामकरण गरिएको देखिन्छ ।

भारतीय अभ्यास

भारतमा स्वतन्त्रता संग्रामका अगुवाहरू, राष्ट्रिय एवं क्षेत्रीयस्तरका राजनीतिज्ञ, संविधान मस्यौदा समितिका अध्यक्ष एवं समाज सुधारक, हिन्दू धर्मसँग सम्बन्धी भगवानहरूको नामबाट विमानस्थलहरूको नामकरण भएको देखिन्छ ।

भारतमा २००८ देखि २०१८ सम्मको एक दशकमा ६ वटा विमानस्थलहरूको नाम परिवर्तन भएको देखिन्छ । यी सबै नाम व्यक्तिविशेषको नामबाट राखिएको थियो । करीब एक दर्जन विमानस्थलहरू नाम परिवर्तनको लागि प्रस्ताव गरिएको छ ।

भारतीय संचारमाध्यममा उल्लेख भए अनुसार नाम परिवर्तनका लागि राज्य विधान सभाबाट पारित भई मन्त्रिमण्डलबाट अनुमोदन भएपछि भारतीय राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ ।

के पुनः नाम परिवर्तन भएको छ ?

यसरी व्यक्ति–विशेषबाट राखिएका नामहरू पुनः परिवर्तनका घटनाहरू त्यति बाक्लो देखिंदैनन् । देशको स्वतन्त्रताको आन्दोलनले सफलता प्राप्त गरेको अवस्थामा वा विगतमा शासकहरूको नाममा राखिएका केही विमानस्थल खासगरी तानशाहहरूको नामबाट नामकरण भएका विमानस्थलहरूको नाम परिवर्तन भएको पाइन्छ ।

व्यक्तिको नामबाट राखिएका विमानस्थलहरूको नाम परिमार्जन वा परिवर्तन दक्षिण अफ्रिकामा अलि बाक्लो देखिन्छ । इराकका शासक सद्दाम हुसेनको नामबाट राखिएको सद्दाम अन्तर्राष्ट्रिय विमानस्थलको नाम हाल बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गरिएको छ ।

दक्षिण अफ्रिकाका पूर्व प्रधानमन्त्री डी.एफ.मलानको नामबाट नामकरण गरिएको तत्कालीन डी.एफ.मलान एअरपोर्टको नाम केपटाउन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको छ । माल्दिभ्सको इव्राहिम नासिर अन्तर्राष्ट्रिय विमानस्थलको नाम पनि हाल परिवर्तन गरी भेलाना अन्तर्राष्ट्रिय विमानस्थल राखिएको छ ।

व्यक्तिको नामबाट नामकरणले के गर्छ ?

राज्यले यसरी व्यक्तिविशेषका नामवाट विमानस्थलको नामकरण गर्नु उप्रतिको सम्मान हो । राज्यका विभिन्न क्षेत्रमा गरेको उल्लेखनीय योगदानका कारण उसको नामबाट नामकरण गरिनु वर्तमान तथा भावी पुस्ताका लागि राष्ट्रसेवामा लाग्न प्रेरित गर्ने विषय पनि हो ।

त्यस्ता व्यक्तिले लिएको विचार एवं मार्गमा लागेका अनुयायीहरू यस्तो निर्णयबाट गर्वको अनुभूति गर्दछन् । यस प्रकारका निर्णयहरूबाट राष्ट्रिय एकता र अखण्डता कायम गर्न, विभिन्न समुदाय, सम्प्रदायलाई भावनात्मक एकता कायम गर्न पनि मद्दत पुग्ने देखिन्छ ।

अर्कोतर्फ यसरी व्यक्तिविशेषका नामबाट विमानस्थल नामकरण गर्दा यात्रु तथा विदेशी पर्यटकहरू सो व्यक्तिसँग परिचित नहुने कारण अन्योल सिर्जना पनि हुनसक्दछ । व्यक्तिविशेष भन्दा स्थान बढी परिचित भइसकेको हुने कारण यात्रु तथा पर्यटकहरूको लागि सहज हुन्छ ।

त्यस्तै खण्डित समाज, राजनीतिक ध्रुवीकरण भएका देशहरूमा यसले विवाद सिर्जना गर्नुका साथै समाज, समुदायबीच वैमनस्य उत्पन्न हुन सक्दछ । त्यति मात्र होइन त्यस्तो व्यक्तिप्रति समुदायको नकारात्मक धारणा विकास हुन पनि सक्दछ ।

नेपाल कानून के भन्छ ?

नागरिक उड्डयन मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार विमानस्थलहरूको नामकरण, पुरानो नाममा संशोधन वा परिवर्तनका सम्बन्धमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था भएको पाइँदैन । न त यस सम्बन्धमा कुनै कार्यविधि, मापदण्ड नै बनाइएको छ ।

गैरसैनिक हवाई उडान ऐन, २०१५ को दफा ४ (क) मा विमानस्थलको क्षेत्र घोषणा गर्ने सम्बन्धमा व्यवस्था गरिएको छ । जस अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै क्षेत्र वा ठाउँलाई चार किल्ला खोली विमानस्थल क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ ।

विवाद किन हुन्छ ?

विमानस्थल वा राज्य नियन्त्रित कुनै संरचना जस्तै सडक, पार्क, ठूला महल, रंगशाला, हिमाल आदिको नामकरणका सम्बन्धमा स्पष्ट मापदण्ड, कार्यविधि एवं कानूनी व्यवस्था नहुँदा विवाद उत्पन्न हुने गर्दछ । यदि त्यस्तो व्यवस्था गरिएको छ र सोको पालना भएन भने विवाद आइनै हाल्छ ।

यी दुवै अवस्था नभएको र निर्णयमा पारदर्शिता नहुँदा पनि विवाद उत्पन्न हुने गर्दछ । यसका साथसाथै राजनीतिक रूपले आग्रह÷पूर्वाग्रह भयो भने पनि विवाद उत्पन्न हुन्छ ।

स्थानीय समुदायको धर्म, संस्कृति, परम्परा एवं भावनासँग जोडिएको विषयमा सरोकारवालाहरूसँग छलफल परामर्श हुन सकेन भने पनि विवाद उत्पन्न हुने गर्दछ । माथि उल्लेख गरिएका विषय आकर्षित भएका छन् भने विवाद नेपालमा मात्र होइन विश्वभर नै हुन्छ ।

गर्ने के त ?

विमानस्थलहरूको नामकरणको विषयलाई मात्र निरपेक्ष रूपमा लिनु भन्दा राष्ट्रिय जीवनमा योगदान गर्ने एवं गरेको व्यक्ति एवं अन्य अगुवाहरूलाई राष्ट्रले गर्ने सम्मानहरू के हुने ? यस्ता संरचनाहरूको नामकरणका आधार के लिने ? त्यसको विधि र प्रक्रिया कस्तो हुने भन्ने सम्बन्धमा कानूनी शून्यताको अन्त्य गर्नुपर्ने देखिन्छ ।

व्यक्तिको नामबाट साना, मझौला एवं ठूला संरचनाहरू, स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका संरचनाको नामकरण गर्न त्यस्तो व्यक्तिले पुर्‍याएको योगदान कस्तो हुने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

नामकरण गर्ने सम्बन्धमा स्थानीय समुदाय, स्थानीय तह, प्रदेश तथा संघको भूमिका के कस्तो हुने भन्ने सम्वन्धमा पनि स्पष्ट हुन आवश्यक देखिन्छ ।

बजेट वक्तव्यमा नामकरण गरिनेछ भन्ने व्यहोरा परेको हुँदा यसको औपचारिक निर्णय मन्त्रिपरिषदबाट हुने देखिन्छ । नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय हुने हुँदा अहिले देखिएको विवादलाई व्यापक छलफल र अन्तरक्रिया गरी निराकरण गर्न सकिन्छ ।

छलफलमा आइसकेको पोखरा विमानस्थललाई स्व.अधिकारीको नामबाट नामकरण गर्न सकिने विकल्प पनि सान्दर्भिक नै देखिन्छ । जहाँ जे नामकरण गरिए पनि स्थानीय सरोकारवालाहरूको चासो र भावनाको कदर हुनुपर्ने देखिन्छ । यो विवाद पहिलो र अन्तिम विवाद बन्ने गरी सरकारले आगामी निर्णय गर्नु वाञ्छनीय देखिन्छ ।

(लेखक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उपसचिव हुन् ।)

लेखकको बारेमा
प्रकाश शर्मा ढकाल

लेखक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उपसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?