Comments Add Comment
महामारी–विश्लेषणः :

शहरी क्षेत्रमा जोखिम कायमै, ग्रामीण क्षेत्र ‘हटस्पट’ बन्‍न सक्छ

२१ जेठ, काठमाडौं । तीन साताअघि ४४.६७ प्रतिशत रहेको कोरोना संक्रमणदर ३४.१८ प्रतिशतमा झर्न दुई साता लाग्यो । तेस्रो सातामा ३१.३५ मा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो केही दिनयता संक्रमणदर ३० प्रतिशतको हाराहारीमा यथावत् छ ।

निषेधाज्ञा लगाएको ३७ दिन पुगिसक्दा संक्रमणदर सकारात्मक तरिकाले नघट्नुले महामारी समुदायमा भयावह तरिकाले फैलिएको बुझाउने महामारीविज्ञ डा.केदार बराल बताउँछन् । उनका अनुसार समुदायमा संक्रमण भित्रभित्रै फैलिएकाले संक्रमणदर हेरेर मात्र अझै केही भन्न सक्ने अवस्था छैन ।

‘सामान्यतया निषेधाज्ञा लगाएको दुई हप्तामा संक्रमणदर धेरै नै घट्नुपर्ने हो, तर हाम्रोमा एकदम ढिलो घटिरहेको छ । पछिल्लो केही दिन यताको ट्रेण्ड यथावत् रहनुले समुदायस्तरमा परीक्षण आवश्यक रहेको संकेत गरेको छ’, डा. बराल भन्छन् ।

समुदायमा १०० जनामा संक्रमण देखियो भने २ हजारदेखि २५०० जनामा संक्रमण छ भनेर बुझ्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा.जनक कोइराला बताउँछन् । समुदायस्तरमा परीक्षण नभएको हाम्रो जस्तो ठाउँमा त्यो संख्या बढी हुन्छ ।

गत डिसेम्बरमा विश्व स्वास्थ्य संगठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सेरोप्रिभलेन्स सर्वेक्षणको नजिताले कुल जनसंख्याको १३ प्रतिशत अर्थात् झण्डै ३९ लाख संक्रमित भएको देखाएको थियो । जबकि सरकारी आँकडामा कुल संक्रमणको तथ्यांक दुई लाख आसपास मात्र थियो ।

अहिले सरकारी आँकडामा नै कुल संक्रमितको सख्ंया ६ लाख नजिक पुगिसकेको छ । डा. कोइराला काठमाडौं उपत्यकामा ५० प्रतिशत भन्दा बढी र काठमाडौं बाहिर ४० प्रतिशत हाराहारीमा संक्रमण फैलिएको हुनसक्ने बताउँछन् ।

महामारीको फैलावट शहरको जनसंख्या र मानिसको चहलपहलमा निर्धारण हुने भएकाले ठूला शहरमा धेरै संक्रमण भेटिएको डा. बराल बताउँछन् । उनका अनुसार अझै धेरै संक्रमित समुदायमा परीक्षण नगरी बसेका छन्, जसले लकडाउन खुल्नासाथ संक्रमण विस्तार गर्न भूमिका खेल्ने डा. बरालको कथन छ । ‘तथ्यांकमा संक्रमणदर घटेको देखिए पनि जोखिम कायमै छ, ग्रामीण क्षेत्र हटस्पट बन्न सक्छ’ डा. बराल भन्छन् ।

त्यसमा सहमत संक्रामक रोग विशेषज्ञ डा. कोइरालाका अनुसार शहरी क्षेत्रमा संक्रमण छिटो फैलिन्छ भने ग्रामीण क्षेत्रमा पातलो बस्ती भएकाले संक्रमण फैलिन समय लाग्छ । समुदायस्तरमा परीक्षण नभएकाले अहिले प्राप्त तथ्यांकका आधारमा यसै भन्न नसकिने डा. बराल बताउँछन् । ‘अहिले अधिकांश कोरोनाका लक्षण देखिएका र बिरामी भएका मात्र परीक्षण गराउन ल्याब तथा अस्पताल पुगेका छन्, लक्षण देखिए पनि परीक्षण नगराउने मानिसहरूको बाहुल्य भएकाले अहिलेको तथ्यांकमा मात्र भर पर्न सकिन्न’ डा. बराल भन्छन् ।

अबको दुई सातामा देशभर समुदायस्तरमा व्यापक एन्टिजेन परीक्षण गर्न सके महामारीको वास्तविक दृश्य देखिने बरालको भनाइ छ । उनका अनुसार ग्रामीण क्षेत्रमा बुझाइको कमजोरी, परीक्षण गर्न ल्याबको अभाव र भौगोलिक विकटताको कारण वास्तविक तथ्यांक आएको छैन । त्यसैगरी शहरी क्षेत्रमा निषेधाज्ञा, संक्रमण पुष्टि भए पनि होम आइसोलेसनमा बस्नै पर्ने बाध्यता र लक्षणविहीनहरू परीक्षणको पहुँचमा नपुगेकाले सही तथ्यांक आएको छैन । ‘अब लकडाउन लम्ब्याएर मात्रै हुँदैन, लकडाउन सफल बनाउन देशभर समुदायस्तरमै व्यापक परीक्षण गर्नुको विकल्प छैन’, उनी भन्छन् ।

संक्रमणदर घट्दै जाँदा स्वाभाविक रूपमा मृत्युदर घट्दै जान्छ, तर जोखिम नघट्ने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । उनका अनुसार महामारी उत्कर्षबाट घट्दै गएको यथार्थ भए पनि अहिले आइरहेको तथ्यांक हेरेर मात्र भर पर्ने अवस्था छैन ।

देशभर परीक्षणको अवस्था र अनुपात, स्वास्थ्य संस्था, जनशक्तिको सीमितता र स्रोतको परिचालन हेर्दा जोखिम टरेको भन्न नमिल्ने उनी बताउँछन् । ‘ग्रामीण भेगको धेरै जोखिम क्षेत्र परीक्षणको दायरामा आउन सकेको छैन । यही नतिजाको आधारमा हामी रमाउन थाल्यौं भने फेरि ठूलो भूल हुन्छ’ उनले भने, ‘अबको १० दिनमा समुदायस्तरमै परीक्षणमा जोड दिनुपर्छ ।’

महामारीको विश्लेषण गर्न दुई साताको तथ्यांक विश्लेषण गर्नुपर्ने जीवाणु वैज्ञानिक डा. सुदीप खड्का बताउँछन् । उनका अनुसार संक्रमणदर घट्न थालेको दुई सातादेखि मृत्यु पनि घट्न थाल्छ । अहिले भइरहेको मृत्यु दुई साताअघि संक्रमण दरको परिणाम भएको बताउँदै उनी भन्छन्, ‘अब नेपालमा सुखद संकेत देखिन थालेको छ । तर संक्रमण समुदायमा अझै रहेकाले महामारी नियन्त्रणका गतिविधिलाई निरन्तरता दिनुपर्छ ।’

ग्रामीण क्षेत्र ‘हटस्पट’ बन्न सक्छ

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पहिलेको तुलनामा पछिल्लो साता देशको विभिन्न ग्रामीण भेगबाट कोरोना संक्रमणको उपचार गराउन टेकु अस्पताल आउने संक्रमित बढेको बताउँछन् ।

रामेछाप, सिन्धुली र दोलखा जस्ता जिल्लाका संक्रमित टेकु अस्पताल आउने क्रम बढेको बताउँदै उनले भने, ‘काठमाडौंमा निषेधाज्ञा लम्बिंदै गएपछि रातारात गाउँ जाने मान्छे बढेका छन् । उनीहरूले नै गाउँमा संक्रमण विस्तार गरेर संक्रमित भएका छन् ।’

काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पतालले ९ वटा जिल्लाको १८ वटा ग्रामीण क्षेत्रमा समुदायस्तरको ‘आउटरिच’ सेन्टर चलाएको छ । काभ्रे, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही लगायतका जिल्लामा चलाइएको आइसोलेसन सेन्टरमा संक्रमितको चाप बढेको धुलिखेल अस्पतालको डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एण्ड कम्युनिटीका सह–प्राध्यापक डा. रोशनकुमार महतो बताउँछन् ।

आउटरिच सेन्टरहरूमा पुगेर ग्रामीण क्षेत्रको संक्रमण नजिकबाट देखेका उनी त्यहाँ ३० देखि ५० प्रतिशतको हाराहारीमा संक्रमणदर देखिएको बताउँछन् । उनका अनुसार रामेछापको ग्रामीण क्षेत्रमा २४ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण भेटिएको छ । अझै दुई हप्ता गाउँगाउँमा डरलाग्दो गरी संक्रमण बढ्ने उनको निष्कर्ष छ । ‘स्थानीय तहले महामारी विरुद्ध कस्तो तयारी गरेको छ भन्ने कुराले क्षतिको निर्धारण गर्छ’ डा. महतो भन्छन् ।

हरेक दिन ग्रामीण क्षेत्रबाट ८/१० जना सिकिस्त संक्रमित धुलिखेल अस्पतालमा भर्ना हुन्छन् । सिकिस्त भएपछि मात्रै अस्पताल आउने भएकाले मृत्युदर बढेको छ । भौगोलिक विकटता, बुझाइको कमी र स्वास्थ्य संस्थाको सीमितताको कारण सामान्य संक्रमितलाई पनि बचाउन सकस परेको महतो सुनाउँछन् । ‘सबै स्थानीय तह र राज्यले समुदायस्तरमै एन्टिजेन परीक्षण गरेर संक्रमितलाई आइसोलेट गराउन जरूरी छ’, डा. महतो भन्छन् ।

अन्य ग्रामीण क्षेत्रमा संक्रमण भेटिने क्रम बढ्दैछ । स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा कर्णालीका १० वटा जिल्लामा २८० जनामा संक्रमण देखिएको छ, जसमध्ये एन्टिजेन परीक्षणमा १४५ र पीसीआर परीक्षणमा १३५ जनामा संक्रमण देखिएको थियो । रुकुम पश्चिममा ६७, सुर्खेतमा ८९, जाजरकोटमा २६ जनामा संक्रमण देखिएको छ ।

‘काठमाडौंमा निषेधाज्ञा लम्बिंदै गएपछि रातारात गाउँ जाने मान्छे बढेका छन् । उनीहरूले नै गाउँमा संक्रमण विस्तार गरेर संक्रमित भएका छन् ।’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन

जुम्लाको तातोपानी गाउँपालिका–६ रावतवाडा गाउँमा गत मंगलबार गाउँका २७ जनामा एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भयो । गाउँका अन्य मानिसलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताउँछन् ।

जाजरकोट छेडागाड नगरपालिकाको साल्मा स्वास्थ्य चौकीमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि जेठ १८ देखि २४ सम्म स्वास्थ्य चौकीबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने निर्णय भएको छ । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको ८, ५, ९ र ४ नम्बर वडाका ९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनाकै पोजेटिभ आएको पलाँता अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय, कालीकोटका सूचना अधिकृत गौरा घर्ती मगरका अनुसार एक साता अघिसम्म जिल्लाको संक्रमणदर ६० प्रतिशत पुगेको थियो । वैशाखको ७ गतेदेखि २१ जेठसम्म २ हजार ११० जनाको एन्टिजेन परीक्षण गर्दा ९०७ जनामा संक्रमण देखा परेको छ ।

पीसीआर गर्नको लागि जुम्ला या सुर्खेत पठाउनुपर्ने भएकाले पीसीआर नगरिएको घर्तीमगर बताउँछिन् । वैशाख यता तीन जनाको मृत्यु भएको छ । हाल जिल्लाभर २५९ जना सक्रिय संक्रमित छन् ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे शहरी क्षेत्रमा संक्रमण घटे पनि ग्रामीण क्षेत्रमा बढेको बताउँछन् । उनका अनुसार बर्दिया, कैलाली, दाङ, सुर्खेत लगायत जिल्लाका ग्रामीण भेगका सिकिस्त संक्रमित आउने क्रम बढेको छ । ‘शहरी क्षेत्रबाट संक्रमित आउन कम हुँदै गर्दा फेरि ग्रामीण क्षेत्रबाट सिकिस्त संक्रमित आउन थालेका छन्’, डा. पाण्डे भन्छन् ।

रुकुम, दैलेख, कालिकोट, हुम्ला, मुगु, डोल्पा जस्ता ठाउँमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि परीक्षण नभएको जुम्लाका जनस्वास्थ्यकर्मी माधव चौलागाई बताउँछन् ।

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको एन्टिजेन परीक्षण गर्न समेत मानिस हिच्किचाएका छन् । संक्रमण देखिए समाजमा अप्ठ्यारो पर्ने, उपचारको राम्रो व्यवस्था नभएका जस्ता कारणले मानिस परीक्षण गर्न तयार नभएको उनको भनाइ छ । ‘गाउँ–गाउँमा ज्वरोका बिरामी भेटिंदा समेत परीक्षण गराएका छैनन्’, जनस्वास्थ्यकर्मी चौलागाई भन्छन् ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशको नवलपरासी पूर्वमा ८५ जनामा संक्रमण भेटिएको छ भने स्याङ्जामा ९३ जनामा संक्रमण भेटिएको छ । लमजुङमा ८२ र गोरखामा ९८ जना संक्रमित भेटिएका छन् । त्यसैगरी मनाङ, म्याग्दी र पर्वतमा क्रमशः १५, ४७ र ४९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी तनहुँमा ७० र बाग्लुङमा ७३ जना संक्रमित भेटिएका छन् । कास्की जिल्लामा पछिल्लो २४ घण्टामा ३०३ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय प्रदेश–२ का अनुसार पछिल्लो २४ घण्टामा प्रदेश–२ का विभिन्न जिल्लामा ३२२ जना संक्रमित भेटिएका छन् । पूर्वी पहाडका जिल्लामा पनि संक्रमण बढिरहेकोले समग्रमा संक्रमण नियन्त्रण भएको मान्न नसकिने महामारीविज्ञ डा. बराल बताउँछन् ।

उनका अनुसार ग्रामीण क्षेत्रमा परीक्षणको पहुँच नै नभएकाले पर्याप्त तथ्यांक विना महामारी नियन्त्रणमा आएको भन्नु हतार हुन्छ । ‘अबको एक महीना समुदायस्तरमै एन्टिजेन टेस्ट नगरिकन केही भन्न सकिन्न’ उनले भने, ‘सम्भावित जोखिम हरेर ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्नुपर्छ ।’

‘खोपकै आशा’

कोरोना महामारीको दोस्रो लहर नसकिंदै जनस्वास्थ्यविज्ञहरूले तेस्रो लहरको चेतावनी दिइसकेका छन् । डा. कोइराला पनि भाइरसले रूप परिवर्तन गरिरहने भएकाले महामारी सकियो भनेर चूप बस्नु घातक हुने उनको भनाइ छ ।

यद्यपि खोप उपलब्ध गराउन सके दोस्रो लहरको भन्दा कम क्षति हुने उनी बताउँछन् । ‘दोस्रो लहरको भाइरस खतरनाक भएकाले ठूलो संख्यामा संक्रमित भएका छन्’ उनी भन्छन्, ‘तेस्रो लहर आउँदासम्म धेरै मानिसलाई खोप लगाउन सक्यौं र चेतना बढायौं भने अहिलेजस्तो क्षति हुन्न होला ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. पुनका अनुसार दोस्रो लहरमा अस्पतालको इमर्जेन्सी र ओपीडीमा आउनेहरूलाई खोपको विषयमा सोधपुछ गर्ने गरिएको छ । टेकु अस्पतालमा सिकिस्त भएर आएका ९० प्रतिशत संक्रमितले खोप पाएका छैनन् । ‘एक डोज मात्र खोप पाउनेहरू अस्पताल भर्ना भए पनि सिकिस्त छैनन्’ डा. पुन भन्छन्, ‘खोपले क्षति धेरै कम गर्ने देखिन्छ ।’

‘तेस्रो लहर आउँदासम्म धेरै मानिसलाई खोप लगाउन सक्यौं र चेतना बढायौं भने अहिलेजस्तो क्षति हुन्न होला ।’

महामारीको क्षति कम गर्न खोप अभियान सफल पार्न लाग्नुपर्ने डा. पुन बताउँछन् । उनका अनुसार अझै पनि ठूलो जनसंख्या संक्रमित नभएकाले तेस्रो लहरअघि उनीहरू जोखिममा हुन्छन् । ‘संक्रमण जिरोमा पुग्न समय लाग्ने भएकाले अहिलेसम्म संक्रमण नभएका र खोप नपाएकाहरू खतरामै छन्’ टेकु अस्पतालका डा. पुन भन्छन्, ‘अब खोप उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्छ ।’

खोप खरीदका लागि चीन, रूस र अमेरिकासँग पहल गरिरहेको बताए पनि अहिलेसम्म टुंगो लागेको छैन । चीनले हालै मात्र अनुदानमा दिएको १० लाख डोज खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय भइसकेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. कोइराला संक्रमण भइसकेका भन्दा संक्रमण नभएका, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई खोप वितरणको प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । अध्ययनहरूले एकपटक संक्रमित भएका र एक डोज मात्रै खोप लगाएकाहरूलाई संक्रमणको जोखिम कम हुने देखाएको छ । ‘हामीसँग पर्याप्त खोप नभएको खण्डमा संक्रमित नभएका र धेरैभन्दा धेरैलाई एक डोज मात्रै भए पनि खोप दिने नीति बनाउनुपर्छ’, डा. कोइराला भन्छन् ।

महामारी सकिन लामो समय लाग्ने र भ्याक्सिन नै महामारी रोक्ने महत्वपूर्ण औजार भएकाले राज्यले भ्याक्सिन खरीदमा जोड दिनुपर्ने डा. बराल बताउँछन् । भ्याक्सिन आउनुअघि जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुपर्ने उनले बताए । ‘स्थानीय तहले महामारी नियन्त्रणमा काम गर्ने हो भने डराउनुपर्ने अवस्था छैन, यो बेला परीक्षणमा जोड दिनै पर्छ’, उनी भन्छन् ।

जनस्वास्थ्यविद् डा. वन्त विगतका गल्तीलाई बिर्सेर राज्यले सम्पूर्ण शक्ति खोप खरीदमा लगाउनुपर्ने बताउँछन् । राज्यको विगतको गल्तीकै कारण यो अवस्था आएकाले अब फेरि गल्ती गर्दा झन् धेरै क्षति हुने उनको भनाइ छ । ‘समयमै खोप सुनिश्चित भयो भने हामी तेस्रो लहर सम्झेर डराउनै पर्दैन’, डा. वन्त भन्छन् ।

स्वास्थ्य मन्त्रालयको निष्कर्ष : जोखिम कायमै

स्वास्थ्य मन्त्रालयले पनि जनस्वास्थ्यविज्ञहरूले भने झैं अझै जोखिम नटरेको बताएको छ ।संक्रमणदर ३० प्रतिशतभन्दा माथि रहेको अवस्थालाई जोखिम कम भएको मान्न नसकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .कृष्ण पौडेल बताउँछन् । यसको एउटा कारण लकडाउन गर्दा पनि आवागमन नघट्नु भएको मन्त्रालयको निष्कर्ष छ । डा. पौडेलका अनुसार अझै पनि आवागमन ७० प्रतिशतको हाराहारीमा छ ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले संक्रमणदरको आधारमा रणनीति बनाउने गर्छ । त्यसैगरी अस्पतालका कोभिड वार्ड र आईसीयूमा सिकिस्त बिरामीको चाप ५० प्रतिशत भन्दा बढी घट्न थाल्यो भने नयाँ रणनीति बनाउँछ । ‘अहिलेको अवस्थामा संक्रमणदर र अस्पतालमा बिरामीको चाप दुवै बढी भएकाले महामारी नियन्त्रणमा नै स्वास्थ्य मन्त्रालय केन्द्रित छ’, डा. पौडेल भन्छन् ।

संक्रमणदर १० प्रतिशतमा झारेपछि मन्त्रालयले कसरी अघि बढ्ने भन्ने प्रस्ताव अघि बढाउँछ । ‘काठमाडौंमा संक्रमण दर घट्यो भने यहाँ खुकुलो बनाउने, तर धादिङमा संक्रमण बढ्यो भने त्यहाँ कडाइ गर्ने विषयमा छलफल भइरहेको छ’ उनले भने, तर अबको १० दिनको तथ्यांक विश्लेषण नगरी केही भन्न सकिन्न ।’

त्यसका लागि स्थानीय तहहरूमा भएको एन्टिजेन परीक्षणको नतिजा आउनुपर्छ । ‘अहिले ठूला शहरको तथ्यांक हेरेर मात्र नीति बनाउँदा जोखिम झन् बढ्न सक्छ । त्यसैले हामीले स्थानीय तहमा एन्टिजेन पठाएका छौं, त्यसको नतिजा आएपछि केही भन्न सकिन्छ’, प्रवक्ता पौडेल भन्छन् ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार पछिल्लो दुई सातामा सातै प्रदेशमा गरी १२ लाख ५० हजार एन्टिजेन किट पठाइएको छ । थप १ लाख ५० हजार किट फेरि पठाउने तयारी छ ।

मन्त्रालयले पठाएको किट प्रदेश मार्फत जिल्लाहुँदै ७५३ वटै स्थानीय तहमा पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment