Comments Add Comment

मकैमा हाल्न रासायनिक मल अभाव, कृषि मन्त्रालय भन्छ– निषेधाज्ञाले रोकियो

२१, जेठ, काठमाडौं । धादिङको बेनीघाट रोराङका किसान बुद्धिराम थपलिया मकै र धानमा हाल्ने युरिया मल लिन बुधबार गाउँकै कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था पुगे । कोरोना महामारीको समयमा पनि सहकारीको कार्यालयमा किसानको ठेलमठेल थियो ।

अलि होलो भएपछि किन्छु भनेर कुरेका थपलिया मल सकिएपछि रित्तै घर फर्किए । ‘युरिया मल पाउन छाडेको एक महिना जति भयो’, उनले भने, ‘मल किन्न जहिल्यै भिड हुन्छ । कोरोना सर्ला भन्ने डरले ठेलमठेल नगर्दा आज पनि मैले मल पाइन ।’

बिहानै सहकारी कार्यालयको लाइनमा बसेकी सीता परियारले भने बल्लतल्ल २५ किलो युरिया पाइन् । ‘खेतको तरकारी र बारीको मकैमा मल हाल्न बितिसक्यो, तर भनेजति पाइँदैन, बेस्सरी दुःख पाइयो’, उनी भन्छिन् ।

धान र मकैमा मल हाल्ने मुख्य सिजनमा देशभरका किसान मल नपाएर पीडित छन् । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत मल होइन, वितरण प्रणाली नभएर देशभरका किसान पीडित बनेको बताउँछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीसंग आबद्ध रहेको धादिङ चरौंदीको कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थाले पछिल्लो डेढ महिनादेखि मल पाउनका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङलाई हार गुहार गरिरहेको सहकारीका कर्मचारी कुमार बस्नेतले बताए ।

सहकारीका सेयर सदस्य ११९० र गैरसदस्य नौ सय गरी दुई हजार बढी कृषकलाई मल वितरण गर्नुपर्ने सहकारीले एकदमै कम परिमाणमा मल पाउने गरेको बस्नेतले बताए ।

‘अस्ति सय बोरा युरिया आएको थियो, मुश्किलले दुई सय जनालाई २५ किलोका दरले बाँडे’, उनले भने ‘चाहे जति मल नपाएका कतिपय किसान झगडा नै गर्न तम्सन्छन् ।’

चाहिने जति मल देऊ भनेर पटक–पटक आग्रह गर्दा साल्ट ट्रेडिङले धादिङको कोटा सकिएको बताएको र कृषि सामग्रीले थोरै मात्र दिन सक्ने भनेको बस्नेतले बताए । यसअघिको सिजनमा सांसदको पावर लगाएर तीन ट्रक मल पाएको थियो, यसपालि अवस्था जटिल रहेको उनले बताए ।

ढुवानी अवरोधले देशभर मल अभाव

धान र मकैमा मल हाल्ने मुख्य सिजनमा देशभरका किसान मल नपाएर पीडित छन् । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत मल होइन, वितरण प्रणाली नभएर देशभरका किसान पीडित बनेको बताउँछन् ।

‘सरकारी अधिकारीहरुलाई सोध्दा मल छ भन्छन्’, उनले भने, ‘मल ढुवानीलाई सरकारले अत्यवश्यक वस्तुको रुपमा सूचीकरण नगर्दा ओसार पसारमा समस्या भएको बुझिन्छ ।’

पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले पछिल्लो समय केही ठाउँमा देखिएको मल अभाव आफ्नो कारणले नभएको, कम्पनीको वितरण प्रणालीमा प्रशस्त मल भएको दाबी गरेको छ ।

कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले लकडाउनका कारण वितरण प्रणलीमा असर परे पनि मल अभाव नभएको बताए । ‘हाम्रो गोदाम भरिएर निजी गोदामसमेत भाडामा लिएर मल राखेका छौं’, उनले भने, ‘मल नपाइने चिन्ता नगर्न आग्रह छ ।’

उनका अनुसार, २९ हजार मेट्रिकटन युरिया, ४० हजार मेट्रिकटन डीएपी र ४५ सय मेट्रिकटन पोटास मौज्दात छ । बंगलादेशसंग किनेको १९ हजार ५०० सहित थप ५० हजार मेट्रिक टन युरिया पनि छिट्टै नेपाल आइपुग्ने कार्कीले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनले भने ढुवानीमा भएको अवरोधले गर्दा मल वितरणमा समस्या भएको स्वीकार गरेको छ । डिपो तथा बिक्री केन्द्रमा मल मौज्दात रहेपनि किसानलाई वितरण गर्ने सहकारीसम्म ढुवानी गर्न निषेधाज्ञाका कारण रोकिएको कम्पनीका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।

कृषि मन्त्रालय र मातहतका निकायलाई मल ढुवानी सहज बनाउन पटक–पटक आग्रह गर्दा सुनुवाइ नभएको उनले बताए । हाल कम्पनीसंग २१ हजार मेट्रिक टन युरिया, १८ हजार मेट्रिक टन डीएपी र ४ मेट्रिक टन पोटास मौज्दात रहेको बताउँदै राजभण्डारीले भने, ‘डिलरहरुमा मल छ, तर निषेधाज्ञाका कारण अफिस खोल्न र ढुवानी गर्न सकिएन ।’

कषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता रहेका सहसचिव डा. श्रीराम घिमिरे पनि मल ढुवानी निषेधाज्ञाको मारमा पर्दा समस्या देखिएको बताउँछन् ।

‘७० हजार मेट्रिक टन मल छँदैछ, ७० हजार टन छिट्टै आउँदैछ, तर निषेधाज्ञाले अप्ठ्यारो बनायो,’ उनी भन्छन्, ‘गृह प्रशासनबाट ढुवानीमा सहजीकरण नहुँदा सहकारी र डिलरसम्म मल पुग्न पाएन । सहजीकरणको अनुरोध गर्दा मान्छे बचाउने कुरा ठूलो कि उत्पादन घट्ने चिन्ता ठूलो भन्ने जवाफ दिन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment