Comments Add Comment
संक्रमित दम्पतीको कथा :

पैसा नहुँदा २१ दिने संक्रमित शिशुले मणिपालमा उपचार पाएन

२१ जेठ, पोखरा । शुक्रबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति तथा बच्चा वार्ड बाहिर केही मानिस मोबाइल हेरिरहेका थिए । उनीहरुको चर्चाको विषय थियो, काठमाडौंमा को–को मन्त्री, उपप्रधानमन्त्री भए ।

भित्र वार्डमा भने सन्नाटा थियो । एनसीयू वार्डको एउटा क्याबिनको ढोकाबाट भित्र चिहाइरहेका थिए, जानबहादुर बुढा । भित्र उनका दूधे बच्चा र श्रीमती रहेछन् । बच्चालाई दूध चुसाइरहेकी थिइन्, जानबहादुरकी श्रीमती कामना ।

अक्सिजनको मास्क निकालेर कामना दूध चुसाइरहँदा जानबहादुर भुइँमा थचक्क बस्छन् । ‘आज ठ्याक्कै २७ दिन भो बच्चा जन्मेको । जन्मिँदा ठीक थियो । पछि जन्डिस भयो, निमोनियाले समात्यो,’ सुस्केरा हाल्दै  जानबहादुरले भने, ‘कोरोना पनि देखियो । धन्न यहाँ बेड पाइयो र बच्चाको सास चलिरहेको छ ।’

जानबहादुर घरि भक्कानिन्छन्, घरि रिसले मुठी कस्छन् । भन्छन्, ‘यो मुलुक त हाम्रो हो जस्तै लाग्दैन । नत्र पैसा तिर्न नसक्दा कुनै अस्पतालले दूधे बच्चालाई निकाल्छ त ?’

जुन अस्पतालमा जानबहादुर दम्पतीको बच्चा जन्मियो, त्यही अस्पतालले बच्चाको उपचार गर्न नसक्ने बतायो । पैसा बुझाउन नसक्दा कोरोना संक्रमण देखिएपछि जन्डिस र निमोनियाले समेत ग्रस्त २१ दिने बच्चालाई पोखराको मणिपाल शिक्षण अस्पतालले उपचार गर्न नसक्ने बताएको उनीहरुको रोदन छ ।

‘गरिबले त खुसी हुन मात्रै होइन, सन्तान बचाउन पनि नसक्ने रहेछ नि,’ जानबहादुरको ज्यान काँप्छ, ‘जति पैसा थियो, त्यही अस्पतालमा सकियो । बच्चालाई कोरोना देखिएपछि धरौटी र दैनिक तिर्ने पैसा नहुँदा अस्पतालबाट निकालिनुपर्‍यो ।’

‘जब बच्चामा कोरोना देखियो । अस्पतालले यहाँ उपचार हुँदैन, भएपनि धेरै महँगो छ भन्यो,’ जानबहादुर भने, ‘९० हजार धरौटी र २५ हजारसम्म दैनिक खर्च लाग्न सक्ने अस्पतालले बतायो । त्यत्रो पैसा मैले कहाँबाट ल्याउने ?’

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सम्झौता गरेकै अस्पताल मणिपालबाट धरौटी र दैनिक तिर्नुपर्ने पैसा नहुँदा अवोध बालकले उपचार नपाएको हो ।

अस्पतालले ९० हजार रुपैयाँ धरौटी मागेको थियो । त्यसमा दैनिक २० देखि २५ हजार रुपैयाँ लाग्ने अस्पतालले बतायो । ‘मसँग भएको पैसा जति त्यही श्रीमती र बच्चाको दबाइ गर्न खर्च भइसकेको थियो । अब मैले त्यत्रो पैसा कताबाट तिर्न सक्नु । म त सक्दिन हजुर ! भनेको पैसा नभइ हुँदैन भने,’ जानबहादुरले भने ।

पैसा नभएकै कारण उपचार गर्न नसक्ने बताएपछि जन्डिस, निमोनिया र कोरोनाले संक्रमित बच्चा च्यापेर उनीहरु अस्पतालबाट बाहिरिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पाइन्छ भनेपछि ५ सय रुपैयाँ तिरेर ट्याक्सीमा आइपुगेको उनले सुनाए ।

जानबहादुर दम्पतीको दुःख सुन्न र बुझ्न झण्डै एक महिना अगाडि फर्किनुपर्छ । रोल्पा सुनछहरी गाँउपालिका–७ जेलबाङका जानबहादुर दम्पती पोखरामा मजदुरी गर्छन् । पोखरा महानगरपालिका–११, फूलबारी मणिपाल अस्पताल नजिकै मासिक २८ सय रुपैयाँ तिरेर भाडामा लिएको टिनको कोठामा उनीहरु बस्दै आएका छन् ।

जानबहादुरकी श्रीमती कामनाको सुत्केरी हुने दिन नजिकिंदै थियो, तर २२ गतेसम्म पनि उनीहरु सँगै घर बनाउने काममा मजदुरी गर्दै थिए । २३ गते कामनालाई ब्यथाले च्याप्यो र नजिकै भएकाले मणिपालमा उनीहरु हिंडेरै पुगे । त्यही दिन बच्चा जन्मियो । आमा र बच्चा दुवैको अवस्था स्वस्थकर छ भनेर कोठा फर्किएको एक हप्तापछि फेरि बच्चामा समस्या देखियो ।

उनीहरुले बच्चा जन्मिएकै अस्पतालमा पुर्‍याए । तीन दिन एनआईसीयूमा उपचार गराएपछि घर फर्किए । बच्चाको स्वास्थ्यमा समस्या देखिन छाडेन र फेरि १२ गते मणिपालमा भर्ना गरे । बच्चाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

‘जब बच्चामा कोरोना देखियो । अस्पतालले यहाँ उपचार हुँदैन, भएपनि धेरै महँगो छ भन्यो,’ जानबहादुर भने, ‘९० हजार धरौटी र २५ हजारसम्म दैनिक खर्च लाग्न सक्ने अस्पतालले बतायो । त्यत्रो पैसा मैले कहाँबाट ल्याउने ?’

मणिपालले नसक्ने बताएपछि जानबहादुर बाहिर निस्किएर भौंतारिए । तर, केही सीप लागेन । मणिपाल बाहिर अरु बिरामीका आफन्तसँग उनले दुःख पोखे । सरकारी अस्पतालमा खर्च नलाग्ने र त्यहाँ बेड पनि उपलब्ध हुने सुझाव पाए । ट्याक्सीमा उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगे । जुन दिन बच्चालाई उच्च ज्वरो थियो र सास फेर्न पनि गाह्रो भइरहेको जानबहादुर दम्पती बताउँछन् ।

अहिले बच्चाको एनआईसीयूमा राखेर उपचार भइरहेको छ । पश्चिमाञ्चल अस्पताल आएको चार दिनपछि जानबहादुर दम्पतीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

बच्चा वार्ड नजिकै उनीहरुलाई अस्पतालले बेड उपलब्ध गराएको छ, सेमिक्याभिन नं. ११८ । ‘हामीलाई कोरोना देखिए पनि खासै समस्या छैन । बच्चालाई अझै सास फर्ने गाह्रो भइरहेको छ । अक्सिजन लगाइराखेको छ,’ आमा कामना भन्छिन्, ‘बेला बेला दूध चुसाउन गइरहन्छु । बच्चालाई केही नभइदिए, हामी जस्तो दुःख पनि सहन तयार छौं ।’

जुन दिन मणिपालमा धरौटी र दैनिक खर्चको बिल जानबहादुरलाई बतायो, त्योभन्दा एक हप्ता अगाडि जेठ ५ गते नै अस्पतालसँग निःशुल्क उपचारका लागि सम्झौता भएको सरकारले सूचना सार्वजनिक गरेको थियो । पोखराको गण्डकी मेडिकल कलेजसँगै मणिपाल शिक्षण अस्पतालसँग सरकारले सम्झौता गरेको छ ।

जानबहादुरलाई योबारे जानकारी छैन । न सरकारबारे जानकारी छ, न त जनताका लागि कहाँ कस्तो सुविधा छ भन्ने नै थाहा छ । उनलाई यति थाहा छ, बच्चाको ज्यान बचाउनु छ र भोलि बाँच्न फेरि मजदुरी गर्न निस्कनु छ । ‘औषधिसहित गरेर २० हजार रुपैयाँ मणिपालमै खर्च गरेपछि अरु पैसा थिएन । कोरोना लाग्नेबित्तिकै धरौटी र अरु दिनको खर्च भनेर पैसा माग्न थालेपछि आत्तिएँ,’ जानबहादुरले भने, ‘यस्तो बेला केही सोच्न सकिंदो रहेनछ, हजुर ।’

जेलबाङको सामान्य परिवारमा हुर्केका उनले गाउँमा पढ्न पनि पाएनन् । कोरियन भाषा सिक्न पोखरा आएका जानबहादुरले नाम निकाल्न सकेनन् । रोल्पाकै ठेकेदारको सम्पर्कमा आएपछि उनले पोखरामै मजदुरी गर्न थालेका थिए ।

तीन वर्षअघि मजदुरीकै क्रममा भेटिएकी कामनासँग उनले विवाह गरेका थिए । ‘मजदुरी गरेर बाँचिरहेकै थियौं । बच्चा जन्मिएपछि झनै खुशी थियौं । तर, बच्चा एकदम बिरामी हुँदा अस्पतालले ठूलो पैसा माग्दा मुटु नै चुँडियो । डर लाग्यो,’ उनले ओठ कमाउँदै भने, ‘यो त सरकारी अस्पताल हो, पैसा लाउँदैन भन्छन् ।’

पैसा नभएकै कारण कोरोना संक्रमित २१ दिने बालकको उपचार नगरेको भन्दै पोखरामा आलोचना भइरहेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले घटनाबारे जानकारी नभएको बताए । ‘यो घटनाबारे जानकारी भएन । तर, कुनै पनि अस्पतालले धरौटी भनेर रकम लिन पाउँदैन । आईसीयूमा उपचार भइरहेको बिरामीको दैनिक १५ हजार रुपैयाँसम्म सरकारले बेहोर्ने सहमति भएको हो,’ सचिव कुँवरले भने, ‘पैसाकै अभावमा कुनै पनि बिरामीको उपचार गर्दिन भन्न पाइँदैन, समन्वय गर्ने हो ।’ घटनाबारे अध्ययन गर्ने उनले बताए ।

मणिपाल शिक्षण अस्पतालका निर्देशक डा. कृष्ण वाग्नेरले बाहिर सार्वजनिक भएजस्तो घटना अस्पतालमा नघटेको र आफूले यसबारे आइतबार मात्र बोल्ने बताए ।

अस्पतालले अमानीय व्यवहार गरेको घटनाको छानबिन गर्न माग भइरहेको छ । केही युवाले जानबहादुरलाई सहयोग पनि गरिरहेका छन् । आफूहरुको पहलमा ३० हजार रुपैयाँ शिशुको उपचारमा सहयोग गरिएको नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताए । जानबहादुरको परिवारलाई अस्पतालबाट घर फर्किएपछि पनि सहज जीवनयापनका लागि सहयोग पुग्ने ढकालको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment