Comments Add Comment

नेपालले जोर्डनविरुद्ध जितकै लागि खेल्नेछ : अलमुताइरी

फाइल तस्वीर

२३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत जोर्डन विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भए पनि जितको लक्ष्यका साथ नै मैदान उत्रिने बताए । ‘जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । हामी एक मात्र लक्ष्यका साथ खेल्नेछौं र त्यो जित नै हो ।’

नेपालले एसिया कप छनोटअन्तर्गत समूह बी को सातौं खेलमा सोमबार जोर्डनसँग खेल्दैछ । यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो ।

अलमुताइरीले नतिजा ल्याउनका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्ने बताए । यस्तै उनले एसिया कपमा छनोट हुने लक्ष्य रहेकाले यस खेलमा जित आवश्यक रहेको पनि बताए ।

यसअघि चाइनिज ताइपेई विरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डन विरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए । ‘चाइनिज ताइपेईको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं,’ उनले भने ।

नेपाल र जोर्डनबीचको खेलको नतिजाले घरेलु टोली कुवेतको एसिया कप खेल्ने सम्भावना पनि जोडिएको छ । नेपालका प्रशिक्षक पनि कुवेतकै भएकोले जोर्डन विरुद्धको खेल पनि महत्वपूर्ण हुने बताए । उनले कुवेतले जोर्डनलाई पराजित गर्नुपर्ने समेत बताए । उनले सोमबारको खेलमा सबै खुशी हुने विश्वास समेत व्यक्त गरे ।

समूह बी मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ । अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment