+
+

सरकार ! चुरे बालुवा गिट्टीको थुप्रो मात्र होइन

श्रवण शर्मा श्रवण शर्मा
२०७८ जेठ २३ गते २०:१३

ओली सरकारका अर्थमन्त्रीको गिट्टी, ढुंगा बिक्री गरी व्यापार घाटा पूर्ति गर्ने बजेट वक्तव्यले सचेत नागरिक, समुदाय र वातावरण संरक्षणमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था समेत तरंगित भएका छन् । देश, प्रकृति र जीवनलाई हेर्ने सरकारको गलत दृष्टिकोण राज्यको महत्वपूर्ण योजनामा पर्नुले तरंगित हुनु परेको हो ।

यस घोषणाले प्रकृति, इकोसिस्टम, विज्ञान र वैज्ञानिकताप्रति नेपाल सरकारको सदावहार उपेक्षालाई पुनर्पुष्टि गरेको छ । अर्को बजेट वा त्यसपूर्व कुनै दिन सरकारले किड्नी बेचेर रक्सी खान उत्प्रेरित गर्‍यो भने आश्चर्य नमाने हुन्छ ।

किनकि बढाइएको करका कारण रक्सीको खपतले सरकारको ढुकुटीमा पैसा थुपि्रन्छ । त्यो रकमले सरकारले नागरिकहरूका लागि ‘समृद्धि’ खरीद गर्नेछ । यो आलेख चुरे के हो ? चुरेको भौतिक अवस्थामा पारिने खललले समग्र पर्यावरणीय चक्रमा पार्न सक्ने प्रभावहरूमा केन्दि्रत छ ।

नेपालीले अध्ययन शुरू गर्नुअघि चुरेलाई शिवालिक भनिन्थ्यो । पुराना वैज्ञानिक अध्ययनहरूमा शिवालिक क्षेत्र भनिएको छ । भगवान शिवको बास भएकाले शिवालिक भनिएको तर्क गरेका छन् भारतीय वातावरण वा भूगर्भशास्त्रीहरूले ।

औपचारिक रूपमा भने जेपी क्यामबेलले सन् १८७९ मा शिवालिक नाम राखेका थिए । शिवालिक वा चुरे जे भनिए पनि यो एक भूखण्ड हो । यो भूखण्ड पश्चिममा इन्दुस नदी, पूर्वमा ब्रहृमपुत्रसम्म २४०० किलोमिटर लम्बाइमा फैलिएको छ ।

यो विशाल भूखण्डलाई भूगर्भशास्त्रीहरूले शिशु पहाड नामकरण गरेका छन् । वैज्ञानिकहरूले तल्लो, मध्य र माथिल्लो गरी चुरेलाई पहाडहरूको एक समूह भनेका छन् । हजारौं साना पहाडकोे समष्टि हो चुरे । नेपालमा सगरमाथा लगायत अन्य अग्लाअग्ला हिमशृंखला भएकाले हामी चुरेलाई साना पहाड भन्दछौं । तर स्विट्जरल्याण्डका अग्ला हिमाल र नेपालको चुरेका चुचुराहरूको उँचाइ उस्तै छ ।

दक्षिणएशियाको चुरे पर्वत शृंखलाको उत्पत्ति १ करोड ६० लाखदेखि ५२ लाख वर्ष पहिले भएको मानिन्छ । चुरे सगरमाथा अर्थात् उच्च हिमाली शृंखलाको पैताला हो । जसमा उच्च हिमाली शृंखला अडिएका छन् । नेपाल भूकम्पीय क्षेत्रमा रहेको छ र त्यसमाथि पनि चुरे विवर्तनिक अझै बढी क्रियाशील छ ।

चुरे संरक्षण हुन सकेन र सरकारी योजना अनुसार नै यहाँको गिट्टी, ढुंगा बेचिने हो भने आउने एक दशकमै नेपालको चुरे लोप हुनेछ र त्यसपछि चुरे उत्तरका पहाडहरू बग्ने क्रम रोक्ने सामथ्र्य संसारको कुनै अर्थतन्त्रसँग हुने छैन ।

शिशु भएको हुनाले ती पहाडहरू कमजोर छन् । सभ्यताको प्रसंगमा पनि चुरेको ठूलो महत्व छ । यहाँ रामापिथेकसको सन्तान शिवापिथेकसको फोसिल पाइएको छ । यसले चुरेका दुन र घाँटीहरूमा आदिम मानव बसोबास थियो भन्ने प्रमाणित गर्दछ ।

नेपालका ३६ जिल्लामा फैलिएको चुरेले नेपालको सम्पूर्ण क्षेत्रफलको १३ प्रतिशत भूभाग ओगट्छ । चुरेमा १४ लाख हेक्टरमा घना जंगल छ । समुद्री सतहबाट १२० देखि २००० मिटर उँचाइका छन् चुरेका पहाडहरू ।

आश्चर्य के छ भने चुरेको फेदमा सालको वन छ भने टुप्पामा गुराँसका बोटहरू । यसले चुरेले दिएको जैविक विविधता दर्शाएको छ । चुरे हिमालको पहिलो बेसमेन्ट भएकाले हिमाली शृंखलाहरू यसमा अडेका छन् भन्न सकिन्छ ।

सन् १९५० सम्म चुरेमा घना प्राकृतिक जंगल थियो । सन् १९५७ मा ल्याइएको वन ऐनले वनलाई राष्ट्रियकरण गर्‍यो । यही विन्दुबाट चुरे दोहन र वन विनाश शुरू भयो । सन् १९६०/७० देखि नेपालमा विकासका नाममा वातावरण विनाश शुरू गरियोे ।

अब चुरेको महत्वका सन्दर्भमा केही विवेचना गरौं । प्रकृति, प्राणी र वनस्पतिका लागि कार्बन महत्वपूर्ण अवयव हो । कार्बनले नै वनस्पतिका कोषिकाहरू बन्दछन् । वनस्पतीय कोषहरूले वनस्पतिको डाँठ बनाउँछन् । धेरै कार्बन लिने वनस्पतिको शरीर बलिष्ठ हुन्छ ।

चुरेको दक्षिणी समथर भूभाग र उत्तरतिरका पहाडी जिल्लाहरूमा विकासको रˆतार तीव्र छ । पूर्वाधार निर्माण, कलकारखानाहरूको संचालन, यातायातका साधनहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड चुरे क्षेत्रको जंगलले प्राप्त गरिरहेको छ । यदि चुरे मासिने हो भने यहाँ रहेको जंगल स्वतः मासिनेछ र ती स्थानहरूबाट उत्सर्जन भएको कार्बन लिने जंगल त्यहाँ वरिपरि रहने छैन ।

यसो भएको खण्डमा हावामा रहेको कार्बन सञ्चिति गर्ने वनस्पतिको अभावमा हावामा कार्बनको मात्रा ज्यादा हुन्छ, जसले गर्दा मानिसको रगतमा कार्बनको मात्रा बढी हुन जान्छ र अक्सिजनको कमि । यसबाट मानिस लगायत अन्य थलचर प्राणीहरूको स्वास्थ्यमा प्रतिकूल असर पुग्दछ ।

साज र साल जस्ता रूखहरूले धेरै कार्बन सञ्चिति गर्ने गरेको वैज्ञानिक अध्ययनले सिद्ध गरेको छ । रातु महिला सामुदायिक वनले सबैभन्दा बढी कार्बन सञ्चिति गरेको पाइएको छ । त्यसको कारण के हो भने त्यहाँ सालको बाक्लो जंगल हुनु हो ।

चुरे १३ वटा सिमसारहरूको सामूहिक निवास हो । यी सिमसारले चुरेको दक्षिण क्षेत्रमा पानीको स्रोत प्रदान गरेका र चुरेको जैविक विविधतालाई बचाइराखेका छन् । यस युगमा जैविक विविधता कुनै एक देशको मात्र सम्पत्ति नभएर समग्र विश्व पर्यावरणको एक अंश मानिएको छ । चुरेमा गरिने अप्राकृतिक उत्खननले सबैभन्दा पहिले यी सिमसारहरूलाई सर्वनाश गर्दछ ।

माथि पनि भनिएको छ, हिमालको बेसमेन्ट हो- चुरे । प्रकृतिमा आएको प्राकृतिक उथलपुथलको अपरिहार्य वास्तविकता हो, चुरे निर्माण । आध्यात्मिक दृष्टिकोणबाट भन्ने हो भने यो दैवी देन हो र भौतिकशास्त्रको दृष्टिकोणबाट भन्दा यो प्रकृतिको स्वाभाविक उथलपुथल । यसका पछाडि अलौकिक शक्तिले आ नो तार्किक सामथ्र्य प्रयोग गरेको छ । चुरे छ र नै पहाड, उच्च पहाड र हिमालहरू छन् । चुरेले भौगोलिक विविधता र भौगोलिक सुन्दरतामा आश्चर्यजनक योगदान गरेको छ ।

नेपालको तराईमा भूमिगत पानीको सतह घट्तै गएको छ । तराईबाट रैथाने वनस्पतिहरू लोप हुँदैछन् । प्राकृतिक जंगल जसमा जंगलको सम्पूर्ण विशेषता सन्निहित रहन्छ, मासिएका छन् । विशाल जंगल भएका समथर जमीनहरू मरुभूमिकरण भएका छन् । तराईमा यो क्रम तीव्र छ । चुरे पहाड छ र नै तराईको मरुभूमिकरणको रफ्तार नियन्त्रित छ ।

चुरेको दक्षिणतिर नेपालको आधा जनसंख्याको बसोबास छ । चुरेको जंगलबाट निःसृत हुने प्राणवायु ‘अक्सिजन’ सहितको हावाले तराईको हावापानी सन्तुलित राख्ने काम गरिरहेको छ । तराईको मानव क्रियाकलापले उत्सर्जन गरेको कार्बन चुरेको जंगलले सञ्चिति गर्दै अक्सिजन उत्सर्जन नगर्ने हो भने अक्सिजनका ग्याँस सिलिण्डर घरघरमा पुर्‍याउनुपर्ने दिन आउनेछ ।

कमला नदी बेसिनको अध्ययनले बताएको छ, चुरे दोहनका कारण नदीको पानी र जमीनमुनिको पानीको मात्रा घटेर गएको छ । उत्तरतिरबाट बगेर आउने ठूल्ठूला बाढीहरूलाई तराईको समथर जमीनमा प्रवेश पूर्व नै चुरेले नियन्त्रण गर्दछ ।

यदि चुरे नहुने हो भने पहाडबाट आउने नदीहरूले तराईको समथर जमीनमा कैयौं किलोमिटर फर्‍याक बगर बनाउँछन् । चुरे कतिपय नदीहरूको उद्गमस्थल हो । तिनाउ, वाणगंगा, रातु, कमला, रतुवा, सुनसरी, खाँडो जस्ता तराईमा बग्ने नदीहरूको उद्गम हो, चुरे पहाड ।

बजेटले तराईमा बग्ने खोलाहरूको नियन्त्रण गरी खोला बगर उकास गरी खेती गर्ने जमीन विकास गर्न रु.३ अर्ब ९१ करोड विनियोजन गरेको छ । तर चुरे संरक्षण हुन सकेन र यहाँको गिट्टी, ढुंगा सरकारी योजना अनुसार नै बेचिने हो भने आउने एक दशकमै नेपालको चुरे लोप हुनेछ र चुरे उत्तरका पहाडहरू बग्ने क्रम रोक्ने सामथ्र्य संसारको कुनै अर्थतन्त्रमा रहने छैन ।

चुरे उत्तरका अधिकांश पहाडहरू पहिरोमा परिणत हुनेछन् । चुरेका खोंच भएर दक्षिण बग्ने नदीहरूमा आउने बाढीका कारण नदी किनारमा खेती गर्ने सरकारी सपना हास्यास्पद ठहरिनेछ ।

सरकार प्रदूषणलाई खरदूषणको भाइ भन्ने हिन्दी व्यंग्य कहावतलाई नेपालमा व्यवहारमै सिद्ध गर्न खोजिरहेको प्रतीत हुन्छ । बजेटमा परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारण बढ्दै गएका रोगहरूको कुरा गरिएको छ तर वातावरणीय विनाशबाट रोग उत्पत्ति स्वीकार गरिए पनि वातावरणीय सन्तुलनका कार्यक्रम राखिएको छैन । बरु समग्र पर्यावरणमाथि निर्दयी प्रयोगको घातक रणनीति लिइएको छ । यसले देखाउँछ बजेट आफैंभित्र विवाद सिर्जना गरिरहेको छ र कागजमा छापिने नोटलाई नै जीवन ठानिरहेको छ ।

सरकारले चुरे दोहनको रणनीति फिर्ता लिनुपर्छ र गम्भीर त्रुटि हुन गएकोमा जनतासँग माफी माग्नुपर्छ । र, अब उप्रान्त यस्ता गल्ती दोहोरिने छैनन् भन्ने विश्वसनीयता प्रदर्शन गर्नुपर्दछ ।

सरकारले ल्याएको अर्को घातक रणनीति चुरेमा होटल, रिसोर्ट खोल्ने योजना पनि हो । चुरेमा गरिने निर्माणले त्यहाँको धर्तीलाई खलबल्याउँछ । चुरेको विशेषता नै कमजोर हुनु हो । चुरे डोजर, रोलर प्रयोग गरेर पूर्वाधार वा ठूला होटल सडक बनाउने ठाउँ होइन ।

संसारलाई देखाउन संरक्षणको एक नमूना केन्द्रको रूपमा लिइनुपर्दछ । यो धर्ती, सरकारको होइन । यो गुठी हो । सरकार गुठीको एक सदस्य मात्र हो । अरू सदस्य नागरिक समुदायहरू हुन्, अन्तर्राष्ट्रिय समुदाय हो । गुठियारलाई गुठी मास्ने अधिकार हुँदैन ।

बजेट देशको एक वर्षको तलब भत्ता र खर्च होइन । देशको दीर्घकालिक योजना हो । संरक्षण क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने कुरा ६०/७० वर्ष अघिको वैचारिकी हो, पुरातन सोच र हिंस्रक मान्यता होे । मैले प्रकृतिमाथिको हिंसालाई भनेको हो ।

संरक्षण क्षेत्रको महत्व पर्यावरणीय सन्तुलन कायम राख्नका लागि हो न कि पर्यटन प्रवर्द्धन गर्न । चिनियाँहरूले जैविक विविधता संरक्षण क्षेत्रमा मानव प्रवेशमा नियन्त्रण गर्दै जाने रणनीति अख्तियार गरेका छन् । कतिपय संकटापन्न वनस्पति, जनावर वा कीटपतंगलेे मानव संसर्ग अस्वीकार गरेको पाइएको छ ।

बजेटको बुँदा १०० मा खेती बाली लगाउने समय पूर्व नै मल आपूर्ति गर्ने कुरा गरेको छ । मलको हकमा यो कुरा ठीक छ तर सरकारले कृषिको समस्या मलमा मात्र देखे जस्तो देखिन्छ । खासमा जलवायु परिवर्तनका कारण पानी पर्ने समयमा आएको परिवर्तन, अनिश्चित वर्षा, छोटो समय मात्र वर्षात् रहने जस्ता कारणले कृषिको परम्परागत प्रणालीमा चुनौती आएको छ । यसका लागि कृषि अनुकूलन कार्यक्रम आवश्यक छन् ती कुरा बजेटमा छैनन् ।

जलवायु परिवर्तनले उत्पादन गरेको चुनौतीप्रति सरकारको ध्यान पुगेको देखिंदैन । बरु जलवायु परिवर्तनलाई प्रश्रय दिने राज्य नीतिहरू सार्वजनिक भएका छन् । बजेटमा चुरे दोहन यसैको प्रमाण हुन गएको छ ।

वर्तमान समयमा संसारका वैज्ञानिकहरू धर्तीको वातावरण मानव प्रतिकूल हुँदै गएको निष्कर्षमा पुगेका छन् । हिमाल पग्लिरहेका छन्, अन्टार्कटिका पग्लने क्रम बढिरहेको छ, नेपालका हिमनदीहरू लुप्त हुने चेतावनी दिइरहेका छन् वैज्ञानिकहरू ।

पर्यावरण जोगाउने सानोभन्दा सानो प्राकृतिक वस्तुलाई पनि उपेक्षा नगर्न सुझाइरहेका छन् वातावरणविद् र वैज्ञानिक । तर नेपालका शासकहरू सगरमाथाको ‘फुट हिल’ का रूपमा रहेको चुरे पर्वतलाई कागजको खोस्टामा साट्नका लागि नेपालबाट गिट्टी, ढुंगा निकासीका सरकारी योजना ल्याइरहेछन् ‘समृद्धि’ का लागि ।

प्रकृति जोगाउन संसारका धेरै देशका सांसद प्रकृतिको नैसर्गिक अधिकार सुनिश्चय गर्ने संवैधानिक प्रावधान अपनाउन लागिरहेका छन् । गएको मार्चमा स्विट्जरल्याण्डका सांसदहरूले स्विट्जरल्याण्डको धर्ती जोगाउन प्रकृतिको अधिकार सम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गरेका छन् । (www.centrefor environmentalright.org) अष्ट्रेलियाले प्रकृतिको अधिकार कानून लागू गरिसकेको छ ।

निष्कर्ष

कुनै पनि सरकारलाई प्रकृतिमाथि निर्दयी हस्तक्षेप गर्ने अधिकार छैन । चराचर जगत सरकारद्वारा पालिएका ठेकेदारहरूको सम्पत्ति कमाउने स्रोत होइन । यो धर्ती, यो वनस्पति, यो जैविक विविधता, यी जलचर र थलचर, यो भुवनोट, यो हावापानी सरकारले सिर्जना गरेका तत्व होइनन् । आफूले सिर्जना नगरेको तत्वहरूमाथि एकलौटी निर्णय लिने अधिकार सरकारलाई छैन ।

त्यसर्थ सरकारले चुरे दोहनको रणनीति फिर्ता लिनुपर्छ र गम्भीर त्रुटि हुन गएकोमा जनतासँग माफी माग्नुपर्छ । र, अब उप्रान्त यस्ता गल्ती दोहोरिने छैनन् भन्ने विश्वसनीयता प्रदर्शन गर्नुपर्दछ ।

(शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।)

 

 

गिट्टी-बालुवा निकासी
लेखकको बारेमा
श्रवण शर्मा

शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?