+
+
Shares

प्रदेश २ मा मन्त्री बर्खास्त गर्ने सिफारिस प्रदेश प्रमुखद्वारा सदर

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते ६:००

२४ जेठ, जनकपुरधाम । प्रदेश २ का ४ मन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । आइतबार प्रदेश सरकारले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मुख्यमन्त्रीको सिफारिसमा पदमुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले जानकारी दिए । मन्त्री सोनलले जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी मुख्यमन्त्री लालबाबु राउतले आफू मातहत राखेका छन् ।

एक मन्त्री र तीन राज्यमन्त्री हटाइएसँगै प्रदेश प्रमुखले मुख्यमन्त्री, ५ मन्त्री र ३ राज्यमन्त्री कायम गरेका छन् । मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव कायम रहेका छन् ।

यस्तै, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री योगेन्द्र राय यादव र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा उषा यादवलाई कायम राखिएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पूर्व राजपाको भएपनि उनीहरु पछिल्लो समयमा उपेन्द्र यादव समूहतिर लाग्दा उनीहरुको पद जोगिएको हो ।

जसपाको उपेन्द्र पक्षले आइतबारै वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई नेता चयन गर्न उपेन्द्र खेमाका ३० जना र पूर्व राजपाका ६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राजेन्द्र महतो समूह संघीय सरकारमा गएपछि उपेन्द्र समूहले प्रदेश २ सरकारबाट उनी निकटका मन्त्रीलाई हटाएको हो । अब प्रदेशमा कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने राजपाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?