+
+
राज्यमन्त्री गुरुङसँग अन्तरवार्ता :

‘९९ भोट मात्रै पाएपछि मैले सोचेकी थिएँ– असफलता नै सफलताको चाबी हो’

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ २४ गते १२:१४

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएकी रेणुका गुरुङ आइतबार सिंहदरबारमा भेटघाटमै व्यस्त थिइन् । नजिकका आफन्त, चिनजानका साथीहरूबाट अहिले उनलाई बधाईको ओइरो लागिरहेको छ । एक किसिमले भन्ने हो भने उनले नसोचेको सफलता हात पारेकी छिन् । आफू मन्त्री बन्दैछु भन्ने उनलाई नै थाहा थिएन ।

गुरुङ पेशाले पूर्व शिक्षिका हुन् । श्रीमान् भने नेपाली सेनामा जागिरे थिए । सुनसरीबाट काठमाडौं प्रवेश गरेपछि उनी सतुंगलमा रहेको जेसी स्कूलमा पढाउँथिन् । समयक्रमसँगै उनी समाजसेवामा सक्रिय भइन् । अहिले पनि उनले दुई वटा गैरसरकारी संस्थाको नेतृत्व गरिरहेकी छिन् ।

तत्कालीन संघीय समाजवादी फोरमले सदस्यता दिएको १५ दिनमै स्थानीय तहको निर्वाचन भयो । उनले उपमेयरमा उम्मेदवारी दिइन् । करीब ९ हजार भोटसहित एमाले उम्मेदवार विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वीको पनि ८ हजार भन्दा बढी मत आएको थियो । तर उनले जम्मा ९९ मत मात्रै प्राप्त गरिन् । त्यसबेला पार्टीको संगठन नै नभएको र छोटो समयमा चुनावमा उठेकाले आफूले धेरै अपेक्षा पनि नगरेको उनी बताउँछिन् ।

पहिलो पटकमा नै यस्तो नतिजा हात परे पनि उनले हिम्मत हारिनन् । त्यो असफलता नै सफलताको पहिलो खुड्किलो रहेछ भन्ने अहिले आएर पुष्टि भयो । उनी उपमेयर हारे पनि पार्टीले समानुपातिक सूचीमा राख्यो र अहिले राज्यमन्त्री छिन् । प्रस्तुत छ, राज्यमन्त्री गुरुङसँग अनलाइनखबरले गरेकाे कुराकानीकाे सम्पादित अंशः

राज्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको पहिलो दिन कस्तो रह्यो ?

समाजसेवा मेरो ‘प्यासन’ नै हो । म अहिले पनि नेपाल मानव कल्याण संगठन, दिगो विकास केन्द्रमा छु । समाजसेवा भनेको कहिल्यै नसकिने काम रहेछ । म सानैदेखि समाजसेवा गर्ने भए पनि कानूनी रूपमा भने मैले २०६४ सालदेखि थालेकी हुँ ।

मैले महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूकै भलाइ हेर्ने मन्त्रालयको जिम्मेवारी पाएकी छु । आज मन्त्रीज्यू र मलाई सचिवज्यूहरूले ब्रिफिङ गर्नुभएको छ । मन्त्रालयमा धेरैसँग चिनजान भयो । केही कुरा सुन्ने अवसर पाइयो ।

मन्त्रालयमा बसेर यी र यस्ता कामहरू गर्छु भन्ने योजना पनि बनाउनुभएको छ कि छैन ?

अहिले त कार्यक्रमहरू कस्तो कस्तो आउँछ भन्ने हो । निवर्तमान मन्त्री जुलीकुमारी महतोज्यूले गर्दै गर्नुभएका र पूरा गर्नुपर्ने अपुरा कामहरू पनि छन् । मेरो कुरा भनेको अधुरो जुन छ त्यसलाई पूरा गरौं त्यसपछि अरू काममा लागौं भन्ने छ ।

भइरहेको कामलाई थाती राखेर अर्कोमा हात हाल्ने कुरा हुँदैन । उहाँले पनि राम्रो कामहरू गरिरहनुभएको थियो । यसकारण कति अपुरा छन् ती कामहरू पूरा हुनेछन् । अब हामीले गर्ने भनेको बाल अधिकारको काम हो । महिला हिंसा घटाउने, वृद्धवृद्धाको कल्याणका लागि काम गर्ने हो ।

स्थानीय तहमा पराजय व्यहोर्नुभयो, यदि तपाईं जित्नुभएको भए नगरस्तरीय न्यायिक समितिको सभापति हुनुहन्थ्यो । अहिले राज्यमन्त्री हुन पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

मलाई लाग्छ, काम भनेको भाग्यले निर्धारण गर्छ । त्यतिबेला हाम्रो पार्टीको कोही थिएन, काठमाडौंमा । मलाई त्यसबेला टोखा नगर कमिटीको अध्यक्ष बनाइएको थियो । त्यतिबेला हाम्रो पार्टी संसफो (संघीय समाजवादी फोरम) थियो ।

मलाई वैशाख १६ गते पार्टीको अध्यक्ष बनाइयो, ३१ गते चुनाव भयो । अब मैले के गर्ने ? मैले सक्दिनँ कि भन्दा पनि सक्नुहुन्छ भन्नुभयो । हौसला दिनुभयो । त्यसपछि भोट माग्न हिंडियो । त्यतिबेला हाम्रो पार्टीको त्यस्तो स्टाटस पनि त थिएन ।

म एक्लै हिंड्नुपर्ने अवस्था थियो । मैले पहिले सँगै काम गरेका महिलाहरूसँग सहयोग मागें । भोट मागियो । अगाडि नै भनिएको भए मेरो मान्छेहरूको भोटर लिस्ट बनाउने थिएँ ।

अब त्यो १५ दिनमा मात्रै त मैले के गर्ने ? मैले कन्भिन्स गरेकै भरमा ९९ भोट त आयो । त्यो ठूलो उपलब्धि हो । म एमालेबाट उठेकी भए त जित्थें होला नि त ! हाम्रो त मधेश बेस पार्टी हो ।

जहाँ तपाईं चुनावमा उठ्नुभयो, त्यहाँ पार्टीका अरू थिएनन् भन्नुभयो । तपाई संघीय समाजवादी फोरममा चाहिं कसरी लाग्नुभएको थियो ?

म सोसियल वर्कर । मैले मधेशमा प्रौढ स्कूल खोलेको, तालिमहरू दिएको, गर्मीमा झुलहरू बाँडेको, जाडोमा ब्ल्यांकेट, रासन पानी लगायत पनि बाँडेकी थिएँ । अहिले पनि तराईको तल्लो जात भनिने कसैको मृत्यु भयो र लाश उठाउन समस्या भयो भने मलाई फोन आउँछ । मैले सहयोग गरेपछि बल्ल लाश उठ्छ ।

मेरो सुनसरीको बकलौरी गाउँ हो । हामी त्यहाँ पहाडे समेत सबै मिलेर बसेका छौं । त्यहाँ डुम, चमार, मियाँ, थारू लगायत छन् । मलाई राजनीति मन पर्दैनथ्यो । उहाँहरूले नै राजनीतिमा जाउँ भन्नुभएको हो । राजनीतिमा त जाने, अब कुन पार्टीमा जाने भन्ने थियो ।

म २०४५ सालमा काठमाडौं आएकी थिएँ । सतुंगलको जेसी स्कूलमा पढाउन थालें । मैले विराटनगर क्याम्पस पढेको । विराटनगरमा पनि पढाएको अनुभव थियो । २०४५ सालमै मेरो विवाह भएको हो ।

मेरो श्रीमान् सेनामा जागिरे हुनुहुन्थ्यो । खाली के बस्नु भनेर पनि मैले पढाएँ । मैले जुन स्कूलमा पढाउँथें त्यो स्कूलको प्रमुख रमेशचन्द्र प्रधान राजनीतिमा हुनुहुन्थ्यो । उहाँको श्रीमती मेरो बेस्ट फ्रेण्ड, अहिले पनि हाम्रो राम्रो सम्बन्ध छ ।

राजनीतिको कुरा उहाँसँगै भयो । उहाँ पहिले कांग्रेस हुनुहुन्थ्यो, पछि संसफोमा लाग्नुभयो । उहाँले नै संसफोमा आउनु न भन्नुभयो । २०७४ मा उहाँ पार्टीको काठमाडौं जिल्ला इञ्चार्ज हुनुहुन्थ्यो ।

एकदिन उहाँले हाम्रो सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मन्त्री पनि हुनुहुन्थ्यो उहाँलाई लिएर हाम्रो घरमा आउनुभयो । मलाई त त्यहीं अध्यक्ष बनाउनुभयो । म त्यसबेलासम्म पार्टी कार्यालय पनि पुगेकी थिइनँ । मैले अघि भने नि ! भाग्यले नै निर्धारण गर्ने रहेछ ।

पहिले मलाई भाग्यमानी छु जस्तो लाग्दैनथ्यो । त्यसरी म पार्टीमा लागें । स्थानीय चुनाव आइहाल्यो । चुनावमा म घरघरै पसेर, साइनो लगाएर भोट माग्थें । स्थानीय चुनावमा लडेका कारण पार्टीको संगठन विस्तार गर्न मलाई सजिलो भयो ।

उपमेयर भनेको न्यायिक समितिको प्रमुख हो । मेरो भनाइ सधैं, पार्टीको मान्छे भन्दैमा उपमेयरमा अशिक्षित राख्नुहुँदैन ।

चुनाव जितेर उपमेयर हुने तर काम श्रीमान्ले गरिदिनुपर्ने अवस्था हुनुहुँदैन । शिक्षित मान्छे नै हुनुपर्छ । छोरी मान्छे शिक्षित हुँदा परिवार नै शिक्षित हुन्छन् । महिलालाई शिक्षित बनाउनुपर्छ ।

तपाईंले पहिले राजनीतिमा लाग्छु भनेर सोच्नुभएको थियो ?

मैले कहिल्यै सोचिनँ । मान्छेले जसरी जहाँबाट हुन्छ देशको सेवा गर्नुपर्छ । देश भनेको नै जनता हो । जनताको सेवा गर्नुप¥यो । म सानोमा ममी–ड्याडीको धेरै कुटाइ खान्थें । मेरो काम के हुन्थ्यो भने गाउँगाउँमा जानें ।

कसको घरमा आगो बलेन ? कसको बच्चा रोइरहेको छ ? को भोकै बसेको छ ? त्यो हेर्थें अनि घरमा चामल, मकै, गहुँ जे छ त्यो बोकेर टाप कसिहाल्थें ।

म घरको डालो रित्तै बनाइदिन्थें । मलाई ममीले बद्मास भएँ भनेर पिट्नुहुन्थ्यो । घरमा फालाफाल थियो खानेकुरा अनि कसैको घरमा अलिकति पनि हँुदैनथ्यो । त्यो देख्न सक्दिनथें । म ७ कक्षासम्म गाउँमा पढें त्यसपछि मलाई धरान पठाउनुभयो ।

ममीले मलाई कति पिट्नुहुन्थ्यो, तँ छोरी मान्छे होस् बिहे गरेर गएपछि घरमा पनि यस्तै गर्न सक्दिनस् भन्नुहुन्थ्यो । मलाई वास्तै थिएन । जति कुटे पनि मलाई त्यो कुराले छुन्थेन । मेरो सोच भनेको नै बाँचौं र बाँच्न दिउँ भन्ने हो । अहिले पनि मेरो सोच यही हो ।

हिजो शनिबार म धेरै मन्दिर घुमें । ईश्वरप्रति विश्वास गर्नुपर्छ । हिजो भद्रकाली जाँदा खाना पर्खिरहेका १४ जना मानिस देखें । उनीहरूलाई चामल र तरकारी किन्न सहयोग गरें । अर्को ठाउँमा त्यस्तै देखें, गच्छे अनुसार सहयोग दिएँ ।

मैले सहयोग गरेको फेसबुकमा किन राखेको भनेर कतिपयले भन्नुहुन्छ । राम्रो कुरा त हेरेर सिके हुन्छ नि भन्छु । परेवादेखि पशुपतिका कुकुर, बाँदरसम्मलाई म खुवाउँछु । संसारमा मान्छे मात्रै होइन जीवजन्तु र बोटबिरुवा पनि बचाउनुपर्छ । अहिले यो जिम्मेवारी पाएँ ।

उपमेयरमा ९९ भोट मात्रै ल्याएपछि बेकार राजनीति गरें, अब गर्दिनँ भन्ने लागेन ?

अहँ, मलाई त्यस्तो कहिल्यै लागेन । किनकि असफलता भनेको सफलताको चाबी हो । कुनै पनि काम गर्दा सम्पन्न गर्छु । कि त्यो काम नै नछुने, छोएपछि पूरा गर्नुपर्छ । राजनीतिमा हाम फालिहालें ।

यसो सोचें, सोसियल वर्क गर्दा मेरो सानो दायरा थियो । अब त राज्यमन्त्री भएकी छु, अधिराज्यभरको काम गर्नुपर्छ ।

तपाईंले जुन मन्त्रालय पाउनुभएको छ यसमा खुशी हुनुहुन्छ कि अर्को भए राम्रो हुन्थ्यो भन्ने सोच्नुभएको थियो ?

म एकदमै खुशी छु । मैले जे काम गरिरहेकी थिएँ, त्योसँग सम्बन्धित नै मन्त्रालय भएकाले खुशी छु । मलाई जसरी हुन्छ काम गर्नुपर्छ भन्ने हो । मलाई यो मन्त्री भन्दा पनि काम गर्ने अवसर पाएँ यसबाट खुशी छु ।

स्थानीय चुनावमा हारेर म दुःखी नै भइनँ । कतै असफल भइयो भने चित्त नदुखाउनु रे, त्योभन्दा राम्रो पाउँछ रे !

नभन्दै म त राज्यमन्त्री भएँ । मलाई त थाहा नै थिएन सांसद बन्छु भन्ने । वैशाखमा चुनाव हारें, त्यही वर्षको फागुनमा त म सांसद भएँ । त्यो ठाउँ उता होइन यता भनिएको रहेछ । म जे कुरालाई पनि सकारात्मक रूपले हेर्छु । सकारात्मक सोचले नै मलाई यहाँ ल्याइपु¥याएको हो ।

जेजे आउँछ त्यो लिंदै गर्ने हो । अहिले मैले सोचेकी थिइनँ, म राज्यमन्त्री भएँ । चन्दा चौधरी मन्त्री हुनुहुन्छ । उहाँ पनि मिलनसार हुनुहुन्छ । पहिलेको मन्त्री जुली महतो पनि मेरो बेस्ट फ्रेण्ड हो ।

उहाँ जाँदा अलि नरमाइलो लाग्यो । तर हामी पनि सधैंका लागि यहाँ आएको होइन । छाड्नै पर्छ । अब मलाई निर्णय लिन सजिलो हुन्छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकको लागि मैले काम गर्नेछु ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?